विदुर आचार्य
सिन्धुपाल्चोक । बालविवाहले पारेको नकारात्मक असर बुझेकी सरिता पराजुलीले आफ्ना साथीहरूलाई बालविवाह नगर्न अनि नगराउन अनुरोध गर्दै जिल्ला बालसञ्जाललाई चिठी पठाएकी छिन् । भदौ २५ गते लेखिएको चिठी आईतवार सदरमुकाम आईपुगेको छ । सरिता जस्तै जिल्लाभरबाट २ सय बढी बालबालिकाले बालविवाह नगर्न अनुरोध सहितको चिठी पठाएका छन् ।
जिल्लामा बालविवाह रोक्न साथीलाई साथीको चिठी अभियान सञ्चालन भएसँगै बालबालिकाले बालविवाह नगर्न र नगराउन भनेर लेखेका सन्देशमुलक चिठी प्राप्त हुन थालेको छ । जिल्लामै पहिलो पटक प्रत्येक बालक्लवका सदस्यलई सन्देशमुलक चिठी भदौ पहिलो साता पठाईएको थियो ।
जिल्लाका सबै गाँउविकास समिति र नगरपालिकामा चिठीको नमुना फ्लेक्स सहित ४ सय ५० चिठी पठाईएको जिल्ला बालसञ्जालकी निवर्तमान अध्यक्ष सफलता भण्डारीले जानकारी दिईन् । ‘प्रत्येक वडामा ५० जना बढी साथीलाई चिठी पठाईएको थियो ।’
भण्डारीक अनुसार ‘चिठी पढिसकेपछि बालविवाह र यसको असरबारे बालबालिका आफै सचेत हुन र बालविवाहबारे आफूले देखे भोगेको अनुभव चिठी मार्फत फर्काउन अनुरोध गरिएको थियो ।’ बालविवाह गर्दा हुने अनेकन समस्या र कानुनमा भएको व्यवस्थाबारे जानकारी चिठीमा उल्लेख गरिएको थियो । चिठीको प्रत्युत्तरमा सबैजसो बालबालिकाले बालविवाह नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाएका छन् । सामाजिक कुरीतिविरुद्ध सदैव लागिपर्ने चिठीमा उल्लेख छ ।
परम्परा, धर्म, जातजातीका कारण पनि बालविवाह कायम रहेको घुम्थाङकी एलिसा थापाको चिठीमा उल्लेख गरिएको छ । ‘गरिबी र अशिक्षाले हाम्रो समाज पछाडी परेको हो ।’ थापाले लेखेकी छन्, ‘सभ्य र विकसित समाज निर्माणमा बालविवाहले पनि असर गरेको छ । जबसम्म हामी सबै बालबालिकाले पुर्ण अधिकारको प्रत्याभूत गर्न सक्दैनौं, समाजले गति लिन सक्दैन ।’ त्यस्तै बालविवाहले शारिरीक, मासिकलगायतका थुप्रै असर गरेको आफूले प्रत्यक्ष देखेको बिवरण भोटेचौरकी सुनिता दुलालले चिठीमा लेखेकी छिन् । ‘बाल विवाह गर्ने कसैको पनि भविष्य राम्रो भएको मैले देखेकी छैन ।’
दुलालले आफ्नो चिठीमा उल्लेख गरेकी छिन्, ‘हाम्रो गाँउमा बालविवाहविरुद्धको कार्यक्रम र चेतनाको जरुरी छ साथै बालविवाह गर्ने गराउनेलाई कानुनी दायरामा ल्याउन सके पनि यो समस्या समाधान हुन सजिलो हुन्छ ।’ उनले चिठीमा बालबालिकाले स्वेच्छिक विवाह गर्दा झनै समस्या बढेकोमा चिन्ता गर्दै स्वेच्छिक बालविवाह गर्दाको नकारात्मक असरबारे चिठीमा आफ्नो गाँउका केही दर्दनाक उदाहरण समेत साथीलाई भनेकी छिन् ।
बालविवाह रोक्न सुरु गरिएको चिठी अभियान आगामी मंसिर ५ गते सम्म चलाईने जिल्ला बाल कल्याण समितिका सूचना अधिकृत रेवतीरमण नेपालले जानकारी दिए । ‘जिल्ला बाल सञ्जालले जिल्लाभर पठाएको चिठीको प्रत्युत्तर आउने क्रम जारी छ ।’ अधिकृत नेपालले भने, ‘मंसिर ५ सम्म जिल्लाका बालबालिकाले चिठी फर्काउन सक्नेछन् ।’
यसरी जिल्लाको सबै ठाँउबाट चिठी आँउदा गाँउको यथार्थ अवस्था प्रष्ट हुने र प्राप्त भएका चिठीहरू मध्ये उत्कृष्ट चिठी पठाउनेलाई पुरस्कृत गरिने नेपालले जानकारी दिएका छन् ।
Comment Here!