रुपा कार्की दुलाल
नेपाली समाजमा महिला माथि हुने भेदभाव र हिंसा धेरै देख्न र सुन्नपाइन्छ । आमाको गर्भमा रहँदादेखि मरेपछि पनि महिला भेदभावको सिकार भइरहेका छन् ।
अहिले दशैंको आगमनसँगै पितृलाई मोक्ष प्रदान उनीहरूको स्मृतिमा सोहश्राद्धमा श्राद्ध गरिन्छ । श्राद्धमा समेत महिलामाथि भेदभाव भएको छ । कसरी ? सोह्रश्राद्धमा हजुर बुवाको वा बुवाकोमात्रै तिथि हेरेर श्राद्ध गरिन्छ र उनीहरुकै श्राद्धमा हजुरआमा वा आमालाई सम्झिने र पिण्ड दिने गरिन्छ । म सानो छँदा जब घरमा श्राद्ध हुन्थ्यो हजुरबुवाको मात्र । मैले मनमनै साच्थें किन स्रोह श्राद्धमा हजुरबुवाको मात्र श्राद्ध हुन्छ ? हजुरआमाको हुँदैन् ? यसवारेमा मैले मेरो वुवा, ठुलोवुवा, काका, आमासँग सोधें । उहाँहरू भन्नुहुन्थ्यो ‘हजुरबुवाको श्राद्ध गरेपछि हजुरआमाले पनि पाउनुहुन्छ, तर त्यहि कुरा हजुर आमाको श्राद्धगर्दा हजुर बुवाले किन नपाउने ? मैले श्राद्ध गर्ने पुरोहितलाई पनि यो जिज्ञाशा राखें । उहाँले पुरुष ठुला मान्छे हुन्, महिला साना, स्रोहश्राद्धमा ठुलो मान्छेको श्राद्ध गरिन्छ र त्यही श्राद्धबाट सानाले पनि पाउने कुरा बताउनुभयो । मलाइ लाग्यो धर्मले पनि महिलालाई सानो र पुरुषलाई ठुलो मानेको रहेछ ।
यो पनि मरेपछि हुने महिलामाथिको भेदभाव हो । गर्भमा रहँदा आमाबावुले छोराछोरी बीचमा भेदभाव गरेजस्तै यो पनि छोरा छोरीले आफ्नो आमामाथि मृत्यु पश्चात् गरेको भेदभाव हो ।
हर क्षेत्रमा महिलालाई समान व्यवहारको परिपाटी मिलाउन हामीले महिलामाथि यस्ता खालका सांस्कृतिक र धार्मिक भेदभावको अन्त्य गर्नुपर्छ ।
हिन्दु धर्मले स्थापित गरेका कतिपय व्रतले नेपाली महिलामाथि भेदभाव गरेको छ । भर्खरै तीज पनि सकिएको छ । महिला तीजको व्रत बसे अविवाहित महिलाले तीजको व्रत बस्दा महादेव जस्तो पति पाउँछन् रे, तर अविवाहित पुरुषले पार्वती जस्तो श्रीमती पाउँ भनेर व्रत बसेको हामीले कहिल्यै सुनेका छैनौं । धर्म शास्त्र अनुसार महादेव भन्दा असल त पार्वती पो देखिन्छिन् ।
परिवार र पतिको राम्रो कामना गर्दै र लामो आयूका लागि जो महिला पानी पनि नखाइ तिजमा मात्रै होइन अघिपछि पनि ब्रत बस्छन्, तर तिनै महिला नजन्मदै र मरेपछि समेत भेदभावको शिकार भइरहनु पर्ने या कस्तो विडम्वना हो ?
धार्मिक, सांस्कृतिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलालाई समान व्यवहार गर्नु पर्छ भनिरहन्छौं, तर यस्ता भेदभावको बेवास्ता गरिरहन्छौं । हाम्रा सांस्कृतिक, धार्मिक चलनले महिलालाई भेदभाव गरिरहेका छन् । यस्ता कुरीति र मान्यताले समाजमा महिलालाई जहिले पनि दासको रुपमा स्थापित गरिरहेका छन् । यस्तो प्रचलन र रितलाई अन्त्य गर्न हामी महिलाले एक भएर लाग्नु जरुरी देखिन्छ ।
Comment Here!