सर्मिला बुढाथोकी
दोलखा। आर्थिक वर्ष ०७२/ ०७३ मा हिंसा पीडित महिलाका लागि ५२ हजार रुपैयाँ खर्च भएको महिला तथा बालबालिका कार्यालय दोलखाले जनाएको छ ।
बिभिन्न कारणले हिंसामा परेका महिलाहरुको लागि तत्कालीन राहत स्वरुप सरकारले स्थापना गरेको लैंगिक हिंसा निवारण कोषबाट ७ जना हिंसा पीडित महिला र एउटा महिला अधिकारवादी संस्थालाई रकम उपलब्ध गराईएको महिला तथा बालबालिका कार्यालय दोलखाको प्रमुख लक्ष्मी ढकालले बताइन् ।

आवाज नेपालमा रहेका हिंसा पीडित महिला
त्यसरी आर्थिक सहयोग पाउनेहरूमा दोलखा भीमेश्वर नगरपालिकाकी रामकुमारी श्रेष्ठ ४ हजार ५ सय, मालु गाविस वडा नम्बर १ की रेश्मा नेपाली १ हजार, पवटी गाविस वडा नम्बर २ की लिला सार्की ५ हजार, भीमेश्वर नगरपालिका वडा नम्बर १० की प्रमिला विक २ हजार ५ सय, सुन्द्रावती गाविस वडा नम्बर ३ की पार्वती ओली २ हजार, लादुक गाविस वडा नम्बर ७ की पार्वती खड्का २ हजार, सुष्पाक्षमावती गाविसकी बुधमाया थामी ५ हजार र आवाज नेपाल नामक संस्था मार्फत बिभिन्न हिंसा पीडित महिलाका लागि ३० हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७२/०७३ मा ७० हजार रुपैयाँ बजेट रहेकोमा १८ हजार रुपैयाँ भने बैठक भत्तामा खर्च भएको कार्यालयले जनाएको छ ।
हिंसा पीडित महिलाको लागि आएको बजेट किन बैठक भत्ताामा खर्च गरिएको भन्ने प्रश्नमा निर्देशिकाले बैठक भत्ताा अर्थ मन्त्रालयको नियमानुसार कर कटाएर ८ सय ५० रुपैयाँ दिने प्राधान रहेको र त्यसको लागि छुट्टै बजेट नआउने भएकोले कार्यक्रमको लागि आएको बजेटबाटै उक्त भत्ता दिईएको महिला तथा बालबालिका कार्यालयकी सुर्जा दाहालले दावी गरिन् ।
निर्देशिका अनुसार प्राप्त बजेटबाटै बैठक खर्च दिईने भएपनि हिंसा पीडित महिलालाई माग भएअनुसारको सहयोग रकम नियमानुसार उपलब्ध गराईएको महिला विकास अधिकृत ढकालले बताइन् ।
हिंसा पीडित महिलाले आर्थिक सहयोगका लागि आवेदन दिएपछि आवश्यकता हेरेर उपचार खर्च, कानुनी परामर्श खर्च, यातायात खर्च लगाएतमा सहयोग गर्न सकिने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
त्यसरी सहयोग उपलब्ध गराउनु पर्ने महिलाको छनौटको लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, स्थानिय विकास अधिकारी, जिल्ला न्यायधिवक्ता र महिला तथा बालबालिका कार्यालयको प्रमुख रहने समिति हुने र त्यसले प्राप्त निवेदनको छानविन गरी बढीमा ५ हजार रुपैयाँसम्म उपलब्ध गराउन सिफारिस गर्ने जनाईएको छ । कार्यालयले अहिलेसम्म हिंसा पीडित महिलाहरूको सहयोगमा १ लाख ६८ हजार रुपैयाँ खर्च गरी सकेको र कोषमा अब ५३ हजार रुपैयाँ बाँकी रहको ढकालले जानकारी दिइन् । कोषमा २० हजार रुपैयाँ बाँकी भएपछि थप रकम माग गर्न सकिने पनि ढकालको भनाइ छ ।
महिला मानव अधिकारकर्मी सिर्जना कार्की हिंसा पीडित महिलाको लागि आवश्यक सहयोग माग गरिएको अवस्थामा महिला तथा बालबालिका कार्यालयले नियमानुसार उपलब्ध गराउँदै आएको र कतिपय अवस्थामा अन्यत्र समन्वय गरेर समेत सहयोग दिईने गरेको बताउँछिन् ।
Comment Here!