महिला खबर
ललितपुर । स्वास्थ्यमन्त्री गगन थापाले प्रजनन् स्वास्थ्य अधिकारको निर्देशिका बनाउन आजैदेखि शुरु गर्ने वचन दिनुभएको छ ।
सुरक्षित गर्भपतन दिवसका अवसर पारेर सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्यमन्त्री थापाले प्रजनन् स्वास्थ्यका विषयमा आफू पहिलादेखि नै सचेत र गम्भीर भएको भन्दै अब काम गर्ने ठाउँमा पुगेकाले काम गरेरै देखाउने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘काम गर्ने तरिका कमजोर भएका कारण धेरै काम हुन नसकेको तर अब व्यवस्थितरुपमा काम शुरु हुन्छ ।’ उहाँले सुरक्षित गर्भपतनका लागि छुट्टै कानुन बनाउन लागि मस्यौदा बनाएर लैजाने तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता श्रेष्ठले प्रतिवर्ष विश्वमा बीस करोड असी लाख महिला गर्भवती हुने र ती मध्ये आठ करोड पचास लाख अनिच्छित गर्भ रहने गरेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
उहाँले विश्वमा बार्षिक चार करोड सत्तरी लाख गर्भपतन हुने र त्यसमा दुई करोड बीस लाख असुरक्षित गर्भपतन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । गर्भपतन हुने कुल संख्याको अन्ठानब्बे प्रतिशत विकाशोन्मुख राष्ट्रमा हुने गरेको र असुरक्षित गर्भ पतन मात्रृमृत्युको पाँचौ कारण रहेको अधिवक्ता सविन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले गर्भपतनको वर्तमान ऐनमा १२ हप्ता भन्दा धेरै समयको सामान्य अवस्थाको गर्भपतन गरेमा महिलाविरुद्ध दशवर्षपछि उजुरी परेपनि महिलालाई मात्रै सजायको भागीदार हुने व्यवस्थाले गर्दा नयाँ कानुनको आवश्यकता परेको उहाँले औंल्याउनुभयो । नेपालको कारागारमा धेरै महिलाले गर्भपतन गरेकै कारण जेल सजाय भोगिरहेको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा बोल्दै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले तीन महिनाभित्र गर्भपतन गराउनुपर्ने अन्यथा अपराधको रुपमा लिने व्यवस्थाले पनि महिला थप समस्यामा पर्ने गरेको बताउनुभएको छ । उहाँले विशेषगरी ग्रामीण क्षेत्रका महिलालाई कतिपय अवस्थामा अनिच्छित गर्भ रहँदा र गर्भ रहेको थाह नहुँदा १२ हप्तापछि गर्भपतन गराउन अपराध हुने व्यवस्थाले उनीहरूलाई समस्या पर्ने गरेको स्पष्ट पार्नुभयो ।
Comment Here!