महिला खबर
नेपालगन्ज । चाडपर्व नजिकिँदै गर्दा जाड रक्सी खाने,जुवातास खेल्न क्रम बढेको र यसले महिलामाथि हिंसा बढ्ने हुनाले यसको न्यूनिकरणका लागि नागरिक समाजले प्रहरीलाई घटनाको सत्यतथ्य जानकारी गराउन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सरोज पौडेलले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले आयोजना गरेको लैंगिक हिंसाविरुद्ध जनचेतना कार्यक्रममा बोल्दै नायव उपरिक्षक पौडेलले प्रहरी मेरो साथी अभियानलाई सहयोग गर्न नागरिकले प्रहरीलाई सही सूचना दिने गरेमा दोषी पत्ता लगाउन र कार्वाही गर्न सजिलो हुने बताउनु भयो । उहाँले महिला हिंसा गर्नेलाइ तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिनुभयो । दसैँ नजिकिदै जाँदा जुवातास खेल्ने र रक्सी खाइ महिलामाथि हिंसा गर्ने क्रम बढ्ने हुनाले यस तर्फ सचेत हुन उहाँको आग्रह थियो ।
कार्यक्रममा स्थानिय अमृता नेपाल, पूजा परियार, रामबहादुर महतरा,महिला बालबालिका सेवा केन्द्रका रमा श्रीस,सरस्वती पौडेल,दिलसरा रानालगायतले महिला हिंसा हुनुका कारण र समाधानका उपायलगायतका विषयमा बोलेका थिए । कार्यक्रममा बाल विवाह बहुविवाह, जुवातास जस्ता विकृतिले महिला हिंसा निम्त्याएको सवालमा केन्द्रित रहेर तयार पारिएको भिडियो पनि देखाइएको थियो ।
Comment Here!