नुनुता राई

लीलाराज थापा
ललितपुर । ‘न्याय खोज्न भौँतारिएको एकवर्ष हुन लाग्यो, तर पाउन सकिनँ’ ओखलढुंगा फुलबारी भदौरेका लीलाराज थापाले भने । छोरीका हत्यारालाई कारवाहीको माग गर्दै बिभिन्न सरकारी र गैरसरकारी निकायतिर उनी भौंतारिएको दश महिना भयो । उनको पीडा कतिपयले सुने र न्यायका लागि पहल गरिदिने आश्वासन दिए, कतिले व्यस्तताको कारण देखाउँदै सुन्न नसक्ने बताए । हामीलाई न्याय दिलाईदिन आग्रह गर्दै उनले भने ‘अब तपाँईहरूले मलाई न्याय पाउन मद्दत गर्नुपर्यो ।’
न्याय पाउने आशामा न्याय दिने निकायको खोजीमा निस्केका लीलाले आफ्नो पीडा धेरैलाई सुनाए जिल्लादेखि केन्द्रसम्म । सबैले काम हुने आश्वासन दिए । राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगदेखि महिला अधिकारमा काम गर्ने संघसंस्था पुग्न उनले छुटाएका छैनन् । अहिले उनले विभिन्न निकायमा गरेको निवेदन र उजुरीको फोटोकपी कागजात झोलामा बोकेर विभिन्न सञ्चारमाध्यामतिर समाचार प्रकाशित, प्रशारित गरिदिन आग्रह गर्दै हिँडिरहेका छन् ।
घटनाको विवरण
छोरीलाई केटा माग्न आए । तर केटा छोरीभन्दा ४ वर्ष कान्छा थिए । उनले आफ्नी छोरीको उमेर बताए । तैपनि केटाले छोरीलाई मन पराए । उनले दाईजो धेरै दिन सक्दिन भन्दा केटा पक्षले दाईजो नचाहिने भनेपछि थापाले छोरी विष्णुमायाको विहे उनैसँग गरिदिए ओखलढुंगा कै जलकिनीका २४ वर्षीय राजु खत्रीसँग २०७१ साल बैशाख २७ गते ।
छोरी अन्माएर बसेका लीलराज थापा खुशी थिए । ज्वाँई राम्रा र ज्ञानी छन् भन्नेमा उनी ढुक्क थिए । समय बित्दै गयो । अन्माएको २ महिनामा छोरी माइत आईन् । उनले घरमा सासु र देउरानीले दुःख दिने गरेको कुरा आमाबुवालाई सुनाईन् । घरमा काम धेरै गर्नुपर्ने खाना खान पनि नदिने गरेको कुरा छोरीले सुनाएकी थिइन् ।
तैपनि उनले सम्झाई बुझाई गरेर छोरीलाई घर पठाए । त्यसको दुई महिनापछि छोरीज्वाई दुबै आए । ज्वाँईले घरमा श्रीमतीलाई हेला गरेकाले छुट्टिन लागेको भन्दै ससुराको सल्लाह मागे । ‘बिहे गरेको चार महिना मै छुट्टिएर बस्दा समाजले नराम्रो मान्ने कारणले मैले यस्तो सल्लाह दिइनँ’ लिला भन्छन् । बरु आफूले अन्तै कोठा लिएर बस्ने सल्लाह दिएको उनले बताए । बस्दा लाग्ने खर्च ससुरा ज्वाँईले आधा आधा व्यहोर्ने सहमतिसँगै काठमाडौंको कपनमा ससुरा ज्वाँईले कोठा खोजे । कोठामा विष्णुमायाको भाई पनि सँगै बसेर पढ्ने भनेर शुरुमा नै सहमति भएको थियो । विष्णुमायाले यहीँ छोरी जन्माइन् ।
कपनमा बसिन्जेल अगाडी सहमति भए अनुसार राजुले खर्च व्यहोरेनन् । सबै ससुरा लीलाराजले तिरिदिए । सुत्केरी छोरी भेट्न आएका ससुरालाई ज्वाईंले छोरीसँग आफ्नो घरबार नहुने कुरा सुनाए । लिलाले छोरीसँग घरबार नहुनुको कारण मागे । लीलाराजले भने ‘मेरो छोरी र तेरो किन घरबार हुँदैन मलाई कारण लेखेर दे ।’ एकमहिनापछि छोरीज्वाईं घरतिर लागे । त्यतिबेलापनि आफूले छोरीलाई अन्याय नगर्न ज्वाईंलाई भनेको कुरा लिलाले स्मरण गरे ।
काठमाडौंबाट गएको एक हप्तामै आमा छोरा मिलेर उनलाई शारिरीक र मानसिक यातना दिन थाले । दुईमहिना की सुत्केरी उनलाई खान समेत दिएनन् र फेरी माइतीका शरणमा गइन । तर, लीलाराजले छोरीलाई थोरै अन्न दिएर फेरी पठाए, छोरीलाई ऋण आफैले खोजीदिएर कटेरा समेत बनाएदिए । तर, त्यसको एकमहिना नवित्दै छोरीले आत्महत्या गरेको खबर सुन्नुपर्यो । छोरीलाई परिवार र श्रीमानले गरेको व्यवहार थाहा पाएका लिलालाई छोरीले आत्महत्या गरेकी होईन भन्ने लागिरह्यो । खबर थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी दिपेन्द्र शाहलाई मौखिक उजुरी दिए । डिएसपी साहले तत्काल जल्कीनीमा रहेका प्रहरी चौकीमा फोन गरेर घटनास्थलमा पुग्न र घटनाको स्थिति बझ्न निर्देशन दिए । जिल्लाबाट मुचुल्काको लागि सइ उपेन्द्र पराजुलीलाई खटाए ।
लिला मध्यरात एक बजे छोरी विष्णुमायाको घर पुगे । छोरीको लास खाटमा लडिरहेको थियो । घाँटीमा निलो तीन फन्को डाम थियो । झुन्डिएको डोरी भनेर छेउमा राखिएको थियो । छोरीको लासको प्रकृतिले उनको शंका थप दह्रो भयो ।

मृतक विष्णुमाया । प्रहरी कार्यलय अाेखलढुगाले खिचेकाे तस्विर
मुचुल्का उठाउन गएका सइ उपेन्द पराजुली साँझ सात बजे नै गाउँ पुगेपनि घटनास्थल बिहान सात बजेमात्र आएर घटनाको विवरण कसैसँग नसोधी आफ्नै तरिकाले टिप्न थाले । ‘आफूले केही भन्नु छ भन्दा समेत मलाइ बोल्न दिइएन बरु उल्टो आफूसँग प्रहरीले पैसा मागे’ लीलाराज भन्छन् । प्रहरी पीडकसँग मिलेको लख उनले त्यतिवेलै काटे । पोष्टमार्टमको रिपोर्टसम्मआफूलाई हेर्न नदिएको लिलाको गुनासो छ । ‘पोष्टमार्टमको रिपोर्ट के आयो मलाई हेर्न दिनुहोस भन्दा अस्पतालले दिएन’ उनी भन्छन् । त्यसपछि किटानी जाहेरी दिन मृतकका बाबु लिला जिल्ला प्रहरी कार्यालय पुग्दा मुचुल्का उठाउन गएका सइ उपेन्द्र पराजुलीले किन आएको भनेर हपारेको उनी सम्झन्छन् ।
पराजुलीले केटा निर्दोष भएको भन्दै बरु मेरो नाममा जाहेरी दे भनेर हप्काएको उनले बताए । प्रहरीले छोरीका परिवारलाई झिकायो । ज्वाईले ‘पिर्कामा चढेर झुन्डेकी थिइन्, मैले डोरी काटें भने । सासुले ‘डोकामा चढेर झुन्डेकी थिइन्, डोरी मैले काटेकी हुँ भनेर प्रहरीलाई बयान दिइन । लीलाराजकै अगाडी ज्वाँई र सम्धिनीले दुई खालको बयान दिए । तर प्रहरीले उनीहरुलाई छोडिदियो । न जाहेरी नै लियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए, मानव अधिकार आयोग खोटाङले पनि न्यायका लागि पहल गरिदिने आश्वासन दियो । काठमाडौं आइ महिला आयोग र मानव अधिकार आयोग ललितपुरमा निवेदन दिए, महानगरीय अपराध महाशाखामा हनुमान ढोकामा उजुरी गरे । महानगरीय अपराध महाशाखामा हनुमान ढोकामा लीलाराजले ज्वाई राजु, सासु र देउरानीका नाममा किटानी जाहेरी दिएका छन् । प्रधानमन्त्री कार्यालयमा समेत उनले न्याय दिलाइदिन निवेदन दिएका छन् । महिला आयोगमा बुझ्न जाँदा भगवती घिमिरेले व्यस्त समय देखाएर भेट दिईनन् । पहिलाको फाईल खोज्दा बन्द गरिसकेका रहेछन् । लीलाराज अनुसन्धान गरी सत्य बाहिर आओस भन्ने चाहन्छन् । साथै उनले तत्कालिन डिएसपी दिपेन्द्र शाहले पीडकहरुसँग १३ लाख रुपैयाँ खाएर बचाएको आरोप लिलाको छ।
अझै न्याय पाउने आशमा छन् लीलाराज । भन्छन् ‘मैले पाउने केही होईन । न छोरी आउँछे मात्र न्याय हो हजुर । अरुको छोरीले यसरी अकालमा मर्नु नपरोस भन्ने हो ।’
अहिले उनी यत्तिका निकाय घुमेपछि पनि न्याय नपाए ज्यानको बद्ला ज्यान लिने मनस्थितिमा पुगेको बताए । भने ‘मेरो छोरी मार्नेलाई सजाय हुनुपर्छ नभए मैले पनि मेरो छोरी मार्नेलाई मार्न पाउनुपर्छ र मलाई पनि कानुनले यसरी नै छोड्नुपर्छ ।’
घटनाबारे जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख मिलन के.सीले आफू नयाँ भएकोले पुराना मुद्दाहरु हेरिरहेको र यसलाई पनि सुक्ष्म तरिकाले छानविन गर्ने बताएका छन् । मृतकका बुवा लीलाराजले घरेलु हिंसा अन्र्तगत रहेर जाहेरी दिएको प्रमुख के.सीले जानकारी दिए ।
उनले भने ‘यहाँ मानव अधिकार आयोग, सूचना आयोग, केन्द्रिय प्रहरी कार्यलयबाट पत्र आएको छ । अब म यसलाई प्रभावकारी छानविन गर्नेछु ।’ उनी ओखलढुंगामा प्रमुख भएर गएको एक महिना भएको छ ।
यसैगरि मानव अधिकार आयोग खोटाङका प्रमुख दिपक घिमिरेले घटनाको छानविन भईरहेको बताएका छन् । उनले भने ‘अहिले छानबिन भईरहेको छ । यत्तिबेला केही भन्न मिल्दैन ।’
Comment Here!