महिला खबर
ललितपुर। किशोरीहरूको चौंथो राष्ट्रिय सम्मेलन सोमबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको छ। नेतृत्वमा बालिका भन्ने नारासहित सुरु भएको उक्त सममेलन दुई दिनसम्म चल्ने छ। वालविवाह, घरेलु श्रम, बेचविखन, गर्भ पहिचान गरी छोरी भए पतन गराउनेलगायतका समस्या भएकाले यसको समाधानका लागि सम्मेलनमा छलफल हुने बताइएको छ।
बालविवाह,बालिकामैत्री शिक्षा स्वास्थ्य र उनीहरूमाथि बढिरहेको यौन हिंसा र दुर्व्यवहारविरुद्ध कडा कानुन बनाउनका लागि यो सम्मेलनले आवाज उठाउने आयोजक समग्र राष्ट्रिय किशोरी सन्जालकी अध्यक्ष मोनिका रानाभाटले बताउनुभयो।
अन्तर्राष्ट्रिय बालिका दिवस अक्टुवर ११ को अवसर पारेर आयोजना गरिएको सम्मेलनका सहभागी बालिका तथा किशोरीले आउँदो १९ गते राष्ट्रपतिसँग बालिका कार्यक्रम अन्तर्गत राष्ट्रपति कार्यालय शितल निवासमा बालसंसद प्रस्तुत गर्ने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति, सभामुख, सांसद तथा सरकारका प्रतिनिधिको भूमिका स्वयं बालिकाहरूले निभाउनेछन्। बालिकामध्ये बालिका राष्ट्रपतिले बालसंसदमा नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्ने कार्यक्रम छ। बालिकाहरूलाई भविष्यमा प्रत्येक क्षेत्रको नेतृत्व लिन प्रोत्साहन गर्ने र उनीहरू नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिँदै बालिकाका मु्द्दाप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। सम्मेलनमा २० जिल्लाका १० देखि १९ वर्षका ४० जना बालिका तथा किशोर सहभागी छन्।
Comment Here!