प्रकाश सिंह

पाण्डुसेन स्वास्थ्य चौकीमा खिया लागेको प्रसूति बेड देखाउँदै अनमी मधु श्रेष्ठ । एउटा खुटा भाच्चिँएको उक्त शैय्यालाई ढुङ्गाले अड्याइएको छ ।
बाजुरा । पाण्डुसेन स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना भएको बर्षौ भइसकेको छ । तर बच्चा जन्माउने शैय्यामा भने खिया लागेको छ । खिया लागेको शैय्याको एउटा खुट्टा समेत भाँच्चिएकाले ढुङ्गा राखेर अड्याएको स्वास्थ्य चौकीले जनाएको छ ।
‘प्रसूति बेड पुरै खिया लागेको छ, सुत्केरी गराँउदा कुन दिन महिला लड्ने हुन चिन्ता हुन्छ’ अनमी मधु श्रेष्ठले वताइन् । उनी भन्छिन् ‘खिया लागेको ओछ्यान त्यसैपनि स्वस्थ र असुरक्षित हो, त्यसमाथि खुट्टा नै भाँच्चिएकाले प्रसूति गराउन निकै समस्या भएको छ ।’
प्रसूति केन्द्र स्थापना गर्न सबै पुर्वाधार र दक्ष स्वास्थ्यकर्मी भएको हुनुपर्छ, पाण्डुसेन स्वास्थ्य चौकीमा वर्षौ पुरानो खिया लागेको शैय्या रहेकाले सुत्केरी हुन आउने महिलाको स्वास्थ्य समेत जोखिममा रहेको इन्चार्ज नृप गिरी बताउँछन् । आफूले यसलाई परिवर्तन गर्न धेरै पहल गरेपनि कतैबाट वास्ता नभएको उनको गुनासो छ ।
त्यसैगरि बाजुरा कै डोगडी स्वास्थ्य चौकीमा पनि खिया लागेको प्रसूति बेड प्रयोग गरिरहेको स्वास्थ्य चौकीका ईन्चार्ज दल बहादुर रावतले वताएका छन् । स्वास्थ्य चौकीमा आर्थिक अभावका कारण नयाँ किन्न नसकेकाले जिल्ला स्वास्थ्य कार्यालयलगायत अन्य संस्थासँग पहल गर्दापनि वास्ता नभएको उनको भनाई छ ।
सुत्केरी गराउँदा खिया लागेको बेड प्रयोग गर्दा आमा र बच्चालाई टिटानस रोग लाग्ने सम्भावना रहने जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी स्टाफ नर्स सुनिता केसीले वताईन् । जिल्लामा प्रसूति केन्द्रलाई जिल्ला स्वास्थ्य कार्यालय, केयर नेपाललगायत सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन् ।
जिल्लामा २४ स्वास्थ्य केन्द्रमा प्रसूति केन्द्र रहेका छन् । केही प्रसूति केन्द्रमा भौतिक पुर्वाधार र दक्ष स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख रामचन्द्र यादबले प्रसूति केन्द्रमा खिया लागेको शैय्या रहेको बारेमा कुनै जानकारी नभएको वताए । आफूहरूलाई यसको माग नआएकोले केही थाहा नभएको उनको दावी छ । त्यस्तो काम नलाग्ने भए नयाँ शैय्या दिने उनले वताए ।
Comment Here!