सर्मिला बुढाथोकी
दोलखा। विद्यालय तथा कलेजमा छात्रको तुलनामा छात्राको संख्या बढी हुने भएपनि शिक्षकमा महिला नेतृत्व भने अझै पनि न्युन नै रहेको पाईएको छ। दोलखा जिल्लामा रहेका शैक्षिक संस्थामध्ये ६१ वटामामात्र महिलाले नेतृत्व गरेको जिल्ला शिक्षा कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्कले देखाएको छ।
जिल्लामा तीन सय ७० वटा प्रावि, निमावि तथा मावि, ४२ वटा उच्च मावि, ६ वटा क्याम्पस र १६ वटा स्रोत केन्द्र रहेको छ। जसमा माध्यामिक विद्यालयमा २ जना, निम्न माध्यामिक विद्यालयमा ३ जना र प्राथमिक विद्यालयमा ५५ जना महिला प्रधानाध्यापक रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएका छ। कार्यालयका अनुसार ४२ वटा उच्च मावि र ६ वटा क्याम्पसमा भने कुनैमा पनि महिला प्रमुख नै छैनन्। विद्यालयको अनुगमन गर्ने स्रोत केन्द्रमा १६ वटा मध्ये एउटामामात्र महिला स्रोत व्यक्त रहेका छन्।
दोलखा झ्याकुकी शिक्षक सविना खड्का कतिपय अस्थामा महिला नेतृत्व नभएको कारण समस्या बढेको उल्लेख गर्दै आम रुपमा महिलाले नेतृत्व गर्न सबैबाट साथ सहयोग प्राप्त नभएको गुनासो गर्छिन्। समाजले विश्वास गरेर जिम्मेवारी दिने र पुरुष सहकर्मीले पनि साथ र सहयोग गर्ने हो भने महिलाले हरेक क्षेत्रमा सफलता पूर्वक नेतृत्व गर्न सक्ने खड्का बताउँछिन्।
हनुमन्तेश्वर उच्च मावि काब्रेका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ शिक्षक सविना खड्काको भनाईसँग सहमत छैनन्। श्रेष्ठको विश्लेषणमा महिलामा क्षमता र सम्भावना प्रशस्त भएपनि आँटको कमिका कारण नेतृत्वदायी भूमिकामा नरहेका हुन्। ‘पुरुष सहकर्मीले साथ नदिने भन्ने छैन, तर महिला स्वयमले नेतृतवको लागि आँट गर्नु पर्छ’ श्रेष्ठले भने।
जिल्ला शिक्षा कार्यालयले विद्यालय तहमा महिलाको नेतृत्व स्थापित हुन नसक्नुको कारण खोजिरहेको जनाएको छ। सरकारले महिला र पुरुषमा विभेद गरेको छैन तरपनि पुरुषको तुलनामा महिलाले शैक्षिक क्षेत्रमा नेतृत्व गर्न नसक्नुको कारण के हो खोजी हुनुपर्छ – जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले भने। महिला शिक्षकको नेतृत्व विकास र अवसर दिने कुरामा जिल्ला शिक्षा कार्यालय सकारात्मक रहेको र महिला शिक्षकको क्षमता तथा आत्मविश्वास अभिबृद्धि गर्ने कुरामा जिल्ला शिक्षा कार्यालयले तालिमको समेत व्यवस्था गर्न पहल गर्ने लोप्चनले बताए।
Comment Here!