विदुर आचार्य
सिन्धुपाल्चोक। पिपलडाँडाकी झुमा भण्डारी हिँडडुल गर्न सक्दिनन्। ०७२ वैसाख १२ को विनासकारी भूकम्पले उनी घाईते भएकी हुन्। उनी अहिले अपाङ्ग छिन्। लामो समय उपचारमा विताएर थलिएर वसेकी झुमाको दैनिकी निकै कष्टकर वन्दै गएको छ। तोरी पेल्न मिलमा पुगेकी झुमालाई त्यही संरचनाले थिचेको हो।
उनलाई थिचेको छ घण्टामा नेपाली सेनाले उद्दार गरेको उनलाई प्रष्ट जानकारी छ। सेनाले नै अस्पताल सम्म पुर्याएको हो उनलाई। तत्कालिन समयमा राज्य प्रति कुनै गुनासो नरहेपनि अव भने राज्यको सहयोग जरुरी ठानेकी छन्। ‘जव म घाईते भएँ, मैले निःशुल्क उपचार पाएँ। धेरै महिना अस्पताल वस्दा समेत मैले पैसा तिर्न परेन। अव म कुनै काम गर्न सक्दिनँ, राज्यले हेरेन भने वाँच्न सकिन्न होला’ उनी भन्छिन्।
नेपाली सेनाले उनलाई उद्दार गरेको स्मरण गर्दै उनी भन्छिन्, ‘थप एक घण्टा म थिचिएरै वस्नुपरेको भए म सायद वाँच्दिनथे।’ झुमा सेनालाई धन्यवाद दिन गोरखनाथ गण गएको सुनाउँदै,’म दुई पटक ब्यारेक गएँ तर मलाई वचाउने सेनाहरु अन्तै गईसकेछन्। जहाँ भए पनि मेरो आशिर्वाद लागोस्।’
पिपलडाँडाकै रमिता र रीता रिजाल आमा छोरी हुन्। भूकम्पमा घर भत्कँदा आमा र छोरी दुबैलाई आफ्नै घरले पुर्यो। छ घण्टापछि उद्दार गरिएका उनीहरु दुवै घाईते भए र अहिले दुवै आमाछोरी अपाङ्ग जीवन विताईरहेका छन्। तीन महिना नेपाल मेडिकल कलेजमा उपचार गराएका दुवै आमाछोरीको शरीरका विभिन्न ठाँउमा ठूल्ठुला खत छन्।
रीताको हातले काम गर्दैन भने रमिताको ढाडमा समस्या छ। जसको कारण उनलाई उठ्न वस्न समेत समस्या हुन्छ। भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, ‘काम नगरी दुई छाक जुटाउन गाह्रो छ। अव यो अपाङ्ग शरिरले कुनै काम गर्न सक्दैन। कसरी विताउने हो यो जीवन, अन्योल छ।’
भूकम्पमा घाईते भएकी सविता भण्डारीको पनि दैनिकी निकै असहज छ। सिद्धि कमला माध्यमिक बिद्यालयमा कक्षा दशमा अध्ययनरत उनलाई विद्यालय आउन जान मुस्किल छ। विनासकारी भूकम्पले जिल्लामा पन्ध्र सय वढीलाई घाईते वनायो । यसमध्ये करिव आठ सय महिला भूकम्पको घाउ वोकेर बाँच्न वाध्य छन्। केही घाईते उपचारपछि सन्चो भएका छन् भने अधिकांश घाईते महिला अपाङ्ग भएका छन् ।
अघिल्लो आर्थिक वर्षभर अपाङ्ग परिचय पत्र वितरणमा रोक लगाएको महिला तथा बालबालिका कार्यालयले यो आर्थिक वर्षमा भने महिनाको पहिलो साताको तीन दिन परिचय पत्र वनाउने व्यवस्था सुरु गरेको छ। कार्यालयमा प्रति महिना सरदर तीस जना अपाङ्ग परिचय पत्रकोलागि आवेदन दिने गरेको तथ्याङ्क महिला तथा बालबालिका कार्यालयमा छ।
Comment Here!