सर्मिला बुढाथोकी
दोलखा। गत असोज सातगते उपचारका लागि लगिएको एक बालकको मृत्युको विषयलाई लिएर तनाव भएपछि बन्द रहेको प्रस्तावित चरिकोट अस्पतालको ओपिडि सेवा शुक्रबारबाट सुरु भएको छ। बालकको मृत्युको विषय तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको छानविन गर्न बनेको समितिको प्रतिवेदनको निष्कर्षलाई सरोकारवाला पक्षले कार्यान्वयन र सम्मान गर्ने आपसी सहमति भएपछि शुक्रवारबाट ओपिडी सेवा नियमित भएको हो।
गत असोज सात गते शुक्रवार झाडा, बान्ता र पेट दुख्ने समस्याका कारण उपचारका लागि अस्पताल पुगेको भीमेश्वर नगरपालिकाका नवराज रिजालको अढाई वर्षका छोरा महादेव रिजालको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो। अस्पतालमा तनाव भएपछि स्थानियस्तरमा सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेको संयोजकत्व तथा गृह मन्त्रालयले उपसचिव भवनाथ खतिवडा को नेतृत्वमा छानविन समिति बनाएको छ। त्यसैगरी स्वास्थ्य मन्त्रालय अर्न्तगत डा रमेशबिक्रम सिंहको नेतृत्वमा समेत छानविन समिति बनेको छ।
विहीवार प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय दोलखामा भएको छलफलमा अस्पताल व्यवस्थापक, स्वास्थ्यकर्मी, पत्रकार र नागरिक समाजका प्रतिनिधिले बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै सोही विषयमा स्वास्थ्यकर्मीलाई सार्वजनिक रुपमा अपमान गरिएको घटना गलत भएको निष्कर्षसहित यो विषयलाई कसैको राजनीति गर्ने माध्यम बन्न नदिने प्रतिवद्धता व्यक्त गरिएको थियो।
सो अवसरमा वातावरण सहज बनाउन र आवश्यक सुरक्षा प्रदान गर्न तयार रहेको स्थानिय प्रशासन तथा नागरिक समाजले प्रतिवद्धता व्यक्त गरेका छन्। दुईहप्तासम्म अस्पताल बन्द हुँदा खासगरि गर्भवति, सुत्केरी र बालबालिकालाई उपचारमा असुविधा पुगेको थियो।
Comment Here!