अघिपछि सवै खर्च कटाएर मासिकरुपमा पन्ध्र हजार रुपैयाँ बचाउँदै आएका व्यवसायीले तीज लागेपछि मासिक पचास हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गर्छन् ।

सिलाई व्यवसायी सोनाम तामाङ
सर्मिला बुढाथोकी
दोलखा । दसैं नजिकिँदै गर्दा कुर्ता सलवार सिलाउने चटारोले भ्याई नभ्याई छ सदरमुकाम चरिकोटकी विनिता थापालाई । १० वर्षदेखि सदरमुकाम चरिकोटमा सिलाई कटाई व्यवसाय शुरु गरेकी विनितालाई अरु समय भन्दा दसैं तिहारमा काम गर्न चटारो हुन्छ । ‘यो बेला सबैलाई नयाँ लुगा चाहिन्छ त्यसैले आए जति सबै सिलाईको अर्डर लिन मुस्किल हुन्छ ’ विनिताले भनिन् । दसैं तिहारकै लागि भनेर विनिताको टेलरमा तीज अघि देखिनै कुर्ता सलवार सिलाउन दिएका छन् ग्राहकले । अरु समयमा भन्दा दसैं तिहारमा बढी कपडा सिलाउने गरेकी विनिताले यो पटकको दसैंमा सय जोर भन्दा बढी कपडासिलाउने अर्डर लिईसकेकी छिन् । दैनिक पाँछ जोरसम्म कुर्ता सिलाउने गरेकी विनिताले एक जोर कुर्ता सलवार सिलाएको पारिश्रमिक ३ सय पचहत्तर रुपैयाँ देखि ७ सयसम्म लिने गरेको बताइन् । ‘मासिक ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ’ विनिता भन्छिन्– न तलब कहिले आउँछ भनेर कुर्नुपर्छ, न कसैको आदेश नै मान्नुपर्छ त्यसैले यो पेशामा नै ठिक लाग्छ ।
‘सिलाई कटाई व्यवसाय शुरु गर्दा केही आफन्त र चिनजानकाले दर्जीले गर्ने पेशा भन्थे । भित्री चाहनाले रोजेको पेसा भएकाले भन्ने को कुरा सुनिनँ, निरन्तर लागिनै रहें’ उनले भनिन् – अहिले यो पेशाले दिएको आत्मसन्तुष्टिले गर्ब लाग्ने उनी बताउँछिन् । यो व्यवसायमा आफूलाई विश्वास गर्ने धेरै ग्राहक भएकोले पनि आत्मसन्तुष्टि मिल्ने गरको उनले बताइन् । उनी भन्छिन् ‘कपडा सिलाउन भ्याउँदिन भन्दा पनि बरु पछि लैजान्छु सिलाईदिनै पर्छ भन्छन् ग्राहकहरु ।’ यनका दिदीहरू पढाउने पेसा तिर छन् । आफ्नो सानैदेखि सीपमुलक काम गर्ने चाहना भएकाले कलेज सिध्याएपछि सिलाई कटाई सिकेर यसैलाई व्यवसायका रुपमा अघि बढाएको विनिताले बताइन् ।

बेनुका काफ्ले
जफे गाविसकी बेनुका काफ्ले पनि विनिता जस्तै कुर्ता सलवार सिलाउन व्यस्त छिन् । चारर्षसम्म काठमाडौंमा बसेर अरुको टेलरमा काम गरेकी बेनुकाले आफ्नै लगानीमा दोलखा सदरमुकाम चरिकोटमा आठ वर्ष अघि सिलाइकटाइ व्यवसाय शुरु गरिन् । ‘थोरै लगानी र राम्रो आम्दानी हुने पेशा भएकाले १२ वर्षदेखि यही पेशामा लागिरहेकी छ’ काफ्लेले भनिन् । पढाईलाई निरन्तरता दिन नसकेपछि जिविकोपार्जनकै लागि सिलाई सिकेकी बेनुकालाई अहिले घर खर्चका लागि कुनै चिन्ता छैन् । असारदेखि मंसिरसम्म धेरै कपडा सिलाउनु पर्ने र अन्य समयमा पनि खाली हात बस्नु नपर्ने काफ्लेको अनुभव छ । सबै खर्च कटाएर मासिक १० हजार बचत गर्छु काफ्ले भन्छिन्– ‘पढाई नहुनेले सीप सिक्यो भने भोकै बस्नु पर्दैन ।’
चरिकोट बजारमै सिलाई कटाई व्यवसाय सञ्चालन गर्दै आएकी सोनाम तमाङ दसैं तिहारमा यो व्यवसाय निक्कै राम्रोसँग चल्ने बताउँछिन् । दसैं तिहारको सिजनमा अलिक बढी खट्नु परेपनि मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने तमाङको भनाई छ । ‘म त यो व्यवसायबाट निक्कै सन्तुष्ट छु, यो व्यवसायले वर्ष भरीनै राम्रो आम्दानी दिने भएकाले परिवार पाल्न कुनै चिन्ता हुँदैन’ – तमाङले भनिन् ।
दोलखा सदरमुकाम चरिकोटमामात्र महिलाले चलाएका एक दर्जन टेलर छन् । जसले तीसजना भन्दा धेरै महिलालाई राम्रो रोजगारी दिएको छ । सिजनबाहेक पनि सरदर खर्च कटाएर मासिक १० देखि १५ हजार बचत गर्ने सिलाई कटाई व्यवसायी महिलाले विशेष गरी दसैं, तिहार र तीज पर्वमामात्र लाखको हाराहारीमा कमाई गर्ने बताउँछन् ।
दोलखा जिल्लामा घरेलु कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा दर्ता भएका ३ सय ३१ वटा उद्योग मध्ये १ सय १२ वटा महिलाको नाममा रहेको घरेलु तथा साना उद्योग विकास समिति दोलाखका प्रमुख मणीराम नेपालले बताए । त्यसरी महिलाको नाममा दर्ता भएका घरेलु उद्योग मध्ये जिल्ला भरी करिब ५० वटा सिलाई कटाई उद्योग रहेको कार्यालयले जनाएको छ ।
Comment Here!