सर्मिला बुढाथोकी

हस्तमाया, उनका बालबच्चा र उनी बस्ने टहरा
दोलखा । आमा ! बुवाले त घर आउने बाटो पनि ब्रिसिनुभो होला । दसैं आईसक्यो कार्टुन भएको लुगा किनिदिनु न है । दोलखा आलम्पु गाविसकी हस्तमाया थामीको ३ वर्षीय कान्छो छोरा सविन थामीको अनुरोध हो यो । दसैं नजिकिँदै गर्दा हस्तमायाको साहिँला छोरालाई पनि जिन्सको पाईन्ट, सर्ट र बत्ति बल्ने जुत्ता चाहिएको छ ।
छिमेकीका छोराछोरीले दसैंको लुगा देखाएपछि हस्तमायाका छोराहरू पनि घर आएर झगडा गर्न थालेका नयाँ कपडाका लागि । छोरा छोरी समस्या बुझ्ने भएका छैनन्, कसरी सम्झाउने होला हस्तमायालाई पर्नु पीर परेको छ ।भूकम्पले घरवारविहिन बनाएपछि १२ सय रुपैयाँ घर भाडा तिरेर सदरमुकाम नजिकै गाउँमा त्रिपालले छाएको कच्ची झुपडीमा बस्दै आएको छ हस्तमायाको परिवार ।
श्रीमान विदेश गएको र भूकम्पले घर समेत भत्किएपछि चारजना छोरालाई पढाउने र आफू पनि सकेको काम गरेर गुजारा चलाउने सपना देखेर सदरमुकाम चरिकोट आईपुगेकी हस्तमाया अहिले कष्टपूर्ण जीवन बाँचिरहेकी छिन् । ‘श्रीमान विदेश गएको एक वर्ष त दुःखजिलो घर चलाएँ, अहिले त काम नभएको दिन बच्चा भोकै सुताउनु पर्छ’ आँखा भरी आँशु पार्दै हस्तमायाले भनिन् ।
१६ वर्षको उमेरमा विवाह गरेकी हस्तमाया अहिले ३२ वर्षकी भईन् । चारजना सन्तानकी आमा उनले छोराहरुको उज्ज्वल भविष्यकालागि दरमुकाम चरिकोटमा भारी बोकेरै भएपनि एक्लै संघर्ष गर्दै छिन् । श्रीमान तीर्थबहादुर थामी मलेसिया गएको २ वर्ष भयो । घर बनाउन र विदेश जान छिमेकीसँग लिएकोे ३ लाख रुपैयाँ भन्दा बढी ऋण कसरी तिर्ने भन्ने चिन्ता त छदै छ, छोराहरूलाई कसरी शिक्षा दिने भन्ने चिन्ता पनि उत्तिकै छ । ‘विदेशबाट पैसा पठाउछन् की भन्ने आशमा थिएँ, औषधि खाने पैसा पनि छैन भनेर श्रीमानको फोन पो आउँछ, विदेश गएपछि दुई तीन महिनाको अन्तरमा १०/ १५ हजार पठाउनुहन्थ्यो अहिले त आफै बिरामी छु भनेर फोन गर्नुहुन्छ अब मैले के पो गर्ने हो’ हस्तले भनिन् ।
निरक्षर हस्तयामासँग न सीप छ न पैसा । सीप सिक्ने अवसर मिलेपछि पोते बनाउने तालिम पनि लिईन् । तालिम लिदै गर्दा स्कुल गएका छोरालाई टाई र पेटी नलगाएका कारण विद्यालयले फर्काइदियो भनेर रुँदै आए । अनि तालिमकै अवधिमा चारदिन मजदुरी गर्न गएर २ हजार रुपैयाँ ल्याई टाई र पेटी किनिदिएको हस्तमाया बताउँछिन् ।
जेनतेन छोराहरु स्कुल पठायो आउने वित्तिकै रुन थाल्छन् भोक लाग्यो भनेर हस्तमायाले भनिन् – ‘हुँदा त सबै बच्चालाई दश /दश रुपैयाँ दिएर पठाउँछु नहुँदा के गर्नु ?’ अरु साथीले मिठो मिठो खाजा खाँदा आफूहरू चाहिँ जहिल्यै हेरेर बस्नुपर्ने भनेर गुनासो गर्ने गरेको हस्तमायाले बताईन्
सानो र सामान्य टहरामा कष्टपूर्ण जीवन विताई रहेकी हस्तमायाले पैसा अभावकै कारण धेरै रात बच्चालाई भोकै सुताएको बताईन् । काम पाएको दिन भारी बोकेर दिनको पाँच सय रुपैयाँ कमाउने उनी बताउँछिन् । काममा जाँदा ठुलो ढुङ्गा उचाल्न सकिएन भने काममा किन आएको भनेर काम लगाउनेले गाली गर्ने गरेको दुखेसो हस्तमायाले पोखिन्। कमाउन विदेश गएका श्रीमान भोकभोकै तड्पिरहेको खबर आउँछ, पैसा पठाउ त्यो सार्मथ्य मसंग छैन – हस्तमायाले भनिन् ।
Comment Here!