लिलाराज भट्टराइ
मोरङ । राजघाटकी लक्ष्मी ढकालको पथरीका नरेन्द्र राईसँग विवाह भएको १७ वर्ष भयो । अहिले उनीहरू इटहरीमा एक जना छोरासहितको सुखी जीवन विताइरहेका छन् । फरक फरक जात भएपनि उनीहरूको दिनचर्यामा कुनै अप्ठयारो छैन । विहे भएकै साल लक्ष्मी ढकालले नरेन्द्र राईको घरमा दँशैका वेला सेतो टीका लगाइन् । अर्को साल नरेन्द्र राईले ससुराली गएर लक्ष्मी ढकालको घरमा रातो टीका लगाए । लक्ष्मी ढकाललाई राईहरूले धुमधाम मनाउने साकेला चाड औधी मन पर्छ । उनी रमेर साकेला पर्व मनाउछिन् । ढकाल भन्छिन् “मन मिल्यो भने सवै मिल्दो रहेछ । विहे गरेको यतिका वर्ष भयो यो जातको उ जातको भनेर अहिलेसम्म कसैले भनेको छैन । मिलेर खुसी साथ वसेका छौ ।”
नरेन्द्र राईको घर तिर हुने साँस्कृतिक पर्वहरूमा लक्ष्मी ढकालका माइती तिरका पनि सहभागी हुन्छन् । माइतीमा हुने विहे,व्रतवन्धलगायत अरु कार्यक्रमहरूमा नरेन्द्र राईका परिवारका तर्फवाट पनि सामेल हुन्छन् । दुई समुदायलाई उनीहरूको प्रेम विवाहले जोडेको छ । फरक फरक जात र संस्कृतिका जोडीले एउटै छानामुनि पनि मज्जैले मिलेर समाज जोडने काम गरेका उदाहरण निक्कै पाइन्छ ।
इटहरीका राजु केसी र मनमाया लिम्वूले अन्तरजातीय विवाह गरेको दश वर्ष भयो । उनीहरू दुई छोरी छन् । दशैंका वेला राजुको घरमा मनमायाले रातो टीका लगाउछिन् । त्यसपछि माइती ससुराली गएर दुबैजनाले सेतो टीका लगाउँछन् । एक अर्काको घरमा केही परम्परागत कार्यक्रम भए दुवै परिवारको आउजाउ हुने गर्छ । क्षेत्री र लिम्वूका बिभिन्न संस्कारहरूमा दुवै परिवार अभ्यस्त वन्दै गएको छ । राजु केसी बिचार भावना र वुझाईमा एकरुपता भयो भने अन्तरजातीय भन्ने कुरा गौण हुने वताउछन् । मनमाया लिम्वू दुवै तर्फको संस्कारमा
रमाउएकी छन् । भन्छिन् ‘विवाह अघि व्रत त्यति वसिँदैनथ्यो अहिले वस्ने गरेकी छु ।’ तीज उनलाइ मन पर्छ । ‘जुनसुकै जातजाती भएपनि पहिला त हामी नेपाली हौं’ उनी भन्छिन् । राजुलाई पनि लिम्वू संस्कृति खुव मन पर्छ । च्याव्रुङ र धान नाच उनलाई निकै मन पर्छ । छोरीले आफूहरू भन्दा वढी दुवै तर्फको संस्कारलाई माया र सम्मान गर्ने गरेका छन् । उनीहरू दुवै तर्फको संस्कार र संस्कृतिलाई माया गरेर भावनात्मक रुपमा दुवै संस्कारको नजिक भएको केसीको अनुभव छ ।
२० वर्षअघि असोज १९ गतेको कुरा हो मोरङ वेलवारीकी रेखा सुवेदी र इरान राईको विवाह हुँदै थियो । विवाह जग्गेमा होइन,पार्टी कार्यालयमा थियो । विवाहको आयोजना पनि उनीहरूको पार्टीले नै गरिदिएको । प्रमुख अतिथि पनि उनीहरूलाई नै वनाइयो । अहिले उनीहरूका १९ वर्षकी एक छोरी र १७ वर्षका छोरा छन् । उनीहरूको भने दशैंमा दुवैतिर रातो टीका नै लगाउँछन् । विवाह भएको पहिलो वर्ष चाहीँ घर तिरमात्र टीका लगाए अर्को वर्ष दुवै तिर । रेखा सुवेदी आफूले सासुवाट दुवैतिरका संस्कार संस्कृतिका धेरै कुा थाहा पाएको बताउँछन् । घरतिर र माइती तर्फको सँस्कृतिमा त्यति धेरै फरक महशुस गर्नु नपरेको उनको अनुभव छ ।
साकेलालगायतका केही पर्व फरक छन्, ती पर्वमा निक्कै रमाइलो लाग्ने गरेको रेखा सुवेदीको भनाई छ । दसैं दुवै तिर मान्छौं दुवैतिर रातै टीका लगाइन्छ, तर दसैं मान्ने तरिकामा केही फरक छ परिकार र स्वागत गर्ने तरिकाहरु फरक छन् । एउटै चाडलाई दुई किसिमले मनाउन पाउँदा रमाइलो लागेको वताउँछिन् इरान राई ।
नरेन्द्र राई र लक्ष्मी ढकाल,राजु केसी र मनमायाँ लिम्वू तथा इरान राई र रेखा सुवेदी तीनै जोडी आ–आफनो क्षेत्रमा सफल छन् । उनीहरू आफ्नो सफलतामा एक अर्काको ठूलो सहयोग रहेको वताउँछन् । फरक फरक समूदाय र संस्कारका भएपनि मन मिल्दा सवै मिल्न सक्ने उदाहरण हुन यी जोडी । उनीहरूको प्रेमको डोरीले समूदाय जोडने काम गरेको छ ।
Comment Here!