श्रीमतीले सिकाईन सिलाइकटाइ


प्रकाशित मिति :2016-10-12 12:00:13

निरज सापकोटा
रामेछाप । जिल्लाको उत्तर पूर्वमा खिम्ती बजार सँधै व्यस्त हुन्छ । त्यही व्यस्त बजारमा एउटा सानो सटरभित्र पसल छ । यो पसलमा पनि सँधै मान्छेको घुँइचो लाग्ने गर्छ । सटरभित्र ३ वटा लुगा सिउने मेसिन छ । सानो सटरभित्र धेरै थोक अटाएको छ । वरिपरि र्‍याकमा फेन्सी आइटम, जुत्ताचप्पल, किराना सामान । पसल व्यवस्थित बनाउन र आएका ग्राहकलाई खुशी बनाउनमा व्यस्त हुन्छिन् सरु थापामगर । सरुको हरेक काममा साथ दिईरहेका हुन्छन् उनका श्रीमान ओलक थापामगर ।

मगर दम्पतिको विवाह ५८ सालमा भएको बताउँछन् । विहेपछि कहिले काठमाडौं कहिले गाउँ बस्न थालिन् सरु । कहिले कहाँ कहिले कहाँ बस्नुभन्दा एकैठाउँमा बसेर केही काम गर्ने सोच बनाईन् र गाउँमा बस्ने निर्णय गरे मगर दम्पतिले   । गाउँमा बस्दै गर्दा फेरि उनीहरूको योजना फेरियो । अलि बजार क्षेत्रमा बसेर केही व्यवसाय गर्ने  ।

उनीहरू गाउँदेखि खिम्ती बजार झरे । त्यसबेला खिम्तीमा च्याउ खेती गर्ने लहर चलेको थियो । उनीहरू पनि त्यही मेसोमा मिसिए । गाउँबाट पराल ल्याए र शुरु गरे च्याउ खेती । च्याउ खेती गर्न पराल र चौबिस सय रुपैयाँ लगानी भयो । त्यतिबाट १७ हजार नाफा भयो । त्यही पैसा सरुले बचाएर राखिन् । २२ हजार जम्मा गरिन् । अब अरु व्यवसाय गर्ने सोच बनाईन् । उनले विहे गर्नुभन्दा अघि सिलाईकटाईको सीप सिकेकी थिईन् । गाउँबाट आउँदा एउटा लुगा सिउने मेसिन पनि ल्याएर आएकी थिईन् ।

च्याउ खेती गर्दा उनका श्रीमान ज्यालादारी काम गर्थे । सरु च्याउ खेती बाहेक कसै कसैको कपडा सिलाईदिन थालिन् । अब थप केही गर्नुपर्छ भनेर नजिकै रहेको सटर भाडामा लिईन् । सटर भाडामा लिईसकेपछि तिर्नको लागि केही न केही त गर्नैपर्ने भयो । त्यसपछि उनले लुगा सिउने मेसिन र अन्य किराना सामान राख्न थालिन् ।

अहिले एकजोर कुर्तासुरुवालको सिलाउँदाको डिजाईन हेरी हेरी उनले शुल्क लिने गर्छिन् । दुई सय देखि तीन सय पचाससम्म लिने गरेको उनले बताइन्  । अहिलेको कमाईदेखि उनी खुशी छिन् ।

सरु सिलाईकटाई साथै किराना सामान बेच्ने गर्थिन् । श्रीमान् ओलक दैनिक ज्यालामजदुरी ।ओलक अचानक विरामी भएपछि  बलको काम गर्न नसक्ने भए । अहिले उनी पनि सिलाईकटाई गर्छन् । भने ‘विरामी भएर निको भएपछि गाह्रो काम गर्न नसक्ने भए ।, अनि मैले पनि श्रीमतीसँग सिलाईकटाई  सिकेर लुगा सिउन थालेको हुँ ।’

उनले आफ्नो इच्छा भन्दा पनि श्रीमतीको सल्लाहले सिलाईबुनाई सिकेको बताउँछन् । ज्यालामजदुरीको भन्दा पनि सिलाईकटाई गरेर राम्रो कमाई हुने उनको अनुभव छ । भने ‘श्रीमतीले सिक्नु भनेर आफै पनि सिकाईन पछि अर्को ठाउँमा गएर थप डिजाईन सिके’ उनी श्रीमतीको हरेक सल्लाह मान्ने गरेको उनी बताउँछन् । उनले श्रीमतीलाई सहयोग गरेको देखेर जोइटिङग्रे भनेर कुरा काट्ने गरेपनि वास्ता नलाग्ने बताए । भन्छन ‘मैले   श्रीमतीलाई काम सघाउन पनि नपाउनु ? भन्नेले जेसुकै भनुन् ।’ एकजनाको मेहेनतले मात्र घर नचल्ने भन्दै प्रत्येक श्रीमान श्रीमतीले एक अर्काको काममा सहयोग गर्नुपर्ने जिकिर गर्छन् ।

सरु पनि यो कुरा स्वीकार्छिन् । भन्छिन् ‘दिनभरी ज्यालादारी गरेर आएर पनि मलाई घरको काम सघाउने गर्नुहुन्थ्यो । अहिले त झनसँगै र एउटै काम गछौं ।’ उनलाई व्यवसाय विस्तार गर्न उनको श्रीमानको सहयोगको कारण आँट आएको बताउँछिन् । हजारबाट शुरु भएको उनको व्यवसाय अहिले लाखमा पुगेको छ ।

सरुले यही व्यवसायबाट घरखर्च छोराछोरीको पढाई खर्च जुटाईरहेकी छिन् । उनी भन्छिन् ‘अहिलेको महँगीमा पनि छोराछोरीलाई निजी स्कुलमा पढाउन सकेकी छु । दसैंमा खर्च बढ्ने भएकोले आफ्नो र गाउँमा रहेको अन्य परिवारलाई पनि केही खर्च जुटाएको छु ।’
अब उनी सुविधासम्पन्न टेलर र कपडा पसल गर्ने योजनाका साथ मेहेनत गरिरहेको बताइन् । भनिन् ‘अब व्यवसायले चिनिने रहर छ । मेहेनत गर्दैछु । सफल हुन्छु भन्ने आशा छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: