निरज सापकोटा
रामेछाप । पिरती माझी पोते बुन्छिन् । बिहान बेलुका खाली समयमा पोते बुन्दा पनि सामान्य आवश्यकता पुरा गर्न पुग्ने कमाई हुने उनी बताउँछिन् । पोते बुनेर उनको नै घरखर्च चलाउन पुगिरहेको छ । भन्छिन् ‘एउटा पोते बनाउँदा दुईसय रुपैयाँसम्म आउँछ, अहिले बिहान बेलुका काम गर्दा आफ्नो घर खर्च चलाउन पुगेको छ ।’
पौरखी समाजकी सदस्य समेत रहेकी पिरती माझीले गा.वि.स.ले महिला लक्षित शिर्षकमा खर्च गर्ने केही बजेट पनि माग गरेका छौं । यसबाट चुरा, पोते, क्रिष्टल र मैनबत्ति व्यवसायलाई राम्रो बनाउनु पर्छ भन्ने लागेको छ ।’
यस व्यवसायलाई विस्तार गर्न थप चारपाँच जना महिलालाई सहभागी गराई आयआर्जन गर्न सीप सिकाउने तयारी रहेको पिरतीले बताईन् ।
अहिले पिरतीसहित तीन जनामहिलाले चुरा, पोते बनाईरहेका छन् । उनीहरुको पनि आकर्षक आम्दानी रहेको पिरती बताउँछिन् । उनी भन्छिन् ‘चुरा, पोतेलगायतका सामग्रीहरु अर्डर आएसम्म र किनेर लगिदिने ग्राहक भएमा यसको उत्पादन जत्तिपनि गर्न सकिन्छ । तर हाम्रो बजार सानो छ ।’
यातायातको सुविधा भएकोले थप बजारीकरण अथवा उत्पादित बस्तु निर्यात गर्न नसक्नु कमजोरी भएको उनले स्वीकारिन् । बजार प्रर्वद्घनका लागि खास योजना नभएकाले यसलाई उद्योगको रुपमा स्थापित गर्न समय लाग्ने उनको भनाइ छ । उनले भनिन् ‘यातायातको सुबिधा छ,उत्पादित सामग्री अन्यत्र पनि लगेर बजारीकरण गर्ने सम्भावना भएपनि योजना बनाएका छैनौं । अब बजार बुझेर प्रयास गर्छौं ।’
‘कम्तीमा बीस पच्चिस जना स्थानीय महिलालाई रोजागारी सिर्जना गरौं भन्ने उद्देश्य छ’ समाजकी अध्यक्ष आइती माझीले आफ्नो संस्थाको योजना सुनाइन् । २०७२ सालमा स्थापना भएको पौरखी महिला समाजले गरिब, विपन्न तथा पछाडी पारिएका महिलाको सीप विकास गराई आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।
भर्खरै डल्लो साबुन बनाउने तालिम सकेर २० जनामहिलालाई उद्यमी बनाएको यस समाजले यस अघि चुरा, पोते र मैनबत्ति बनाउने तालिम पनि दिएको आइतीले जानकारी दिईन । समूहमार्फत काम गर्न र समूह मार्फत नै उत्पादन गरी सामूहिक आयआर्जन गर्ने गरी यी तालिम सञ्चालन गरिएको आइतीले बताइन्
‘महिलाले यो तालिम लिएपछि एक समूहले साबुन उत्पादन गर्नेछन्, अर्का समूहले मैनबत्ती, अर्को समूहले चुरा, पोते, क्रिष्टलको काम गर्नेछन् भने एक समूह कृषिको व्यवसायिक खेतीतर्फ लाग्नेछन् । यसरी सामूहिक रुपमा काम गर्दा एक अर्कामा सहयोग पनि पुग्छ र कम लगानीमा बढी उत्पादन हुन्छ । यसका साथै सबैको समान आर्थिक उपार्जन पनि हुन्छ’ उनले यो योजना आत्मविश्वासका साथ सुनाईन् ।
भनिन् ‘हामी नयाँ समूह भएकाले लगानी गर्न पैसा छैन, तर हामीले योजना बनाएका छौं ।’
अहिले चुरा, पोते र क्रिष्टलबाट मासिक २० हजारको व्यापार भइरहेको उनले जानकारी दिइन् । भर्खरैबाट सुरु भएको साबुन बनाउने कामवाट पनि थोर बहुत आम्दानी हुने उनको आश छ । नपुग रकम की सहकारीमार्फत ऋण लिने या कोही दातृ निकाय खोज्ने उनको योजना छ ।
साबुन उत्पादन गर्न आवश्यक खरीको धुलो आयात गर्न गाह्रो भएको उनी बताउँछिन् । थोरै ल्याउँदा ढुवानीमा बढी खर्च हुने बढी नपाईने कारणले समस्या भोगिरहेको बताउँछिन् ।
Comment Here!