विद्यालयमा शौचालय नहुँदा पढाई छुटाउन बाध्य किशोरी


प्रकाशित मिति :2016-10-13 12:00:10

यमुना खनाल
3
सिराहा । ‘स्कुलको शौचालयमा ढोका र छानो नै छैन, त्यै पनि फोहोर भएर जानै सकिँदैन अनि स्कुल नछोडेर के गर्ने ?’ सिराहाको विष्णुपुरकट्टी तुलसीराम सत्यभाबा डोटेल उच्च माबि कक्षा दशकी नमिता पोख्रेलले अन्य समयमा पनि शौचालय नभएको कारण समस्या हुने भएपनि झनै महिनावारी भएको समयमा  छात्रालाई निक्कै समस्या हुने बताउँछिन् । यस्तो अवस्थामा पढाई छोड्नुको विकल्प नरहेको उनको भनाई छ । विद्यालयमा शौचालयको अभावले गर्दा उनी हरेक महिनाको पाँच दिन स्कुल नजाने बताइन् ।

अरू बेला जसोतसो विद्यालय आउने गरेको भएपनि महिनावारी भएको समयमा प्याड फेर्न समस्या हुने भएको कारण उनीमात्र नभएर उनका सहपाठी हरेक महिनाको एकहप्ता पढाई छाड्न बाध्य भएको बताउँछिन् । भन्छिन् ‘तीन घन्टा टाढाबाट हिँडेर स्कुलसम्म आईपुग्दा घरमा लगाएको प्याड भिजीसक्छ, स्कुलमा आएर फेर्ने ठाउँ छैन, शौचालय सफा र ढोकामात्र भएको भए पनि हुने थियो ।’

‘विद्यालयमा शौचालय नभएपछि तिर्खा लागेपनि प्यास मेट्नेगरी पनि पानी पिउँदैनौ, पिसाब फेर्ने झाडीमा जानु पर्छ’ नमिताले भनिन् ।

पुनम लामिछानेको समस्या पनि उस्तै छ । उनी बिष्णुपुरकट्टी स्कुलको कक्षा दशमा पढ्छिन् । पुनम पढ्ने विद्यायलयमा पनि शौचालय छैन, तर पनि उनी भने महिनावारी भएको समयमा पढाई छुटाउँदिनन् । महिनावारी भएको समयमा पुनमले एकैचोटी प्याड तीनवटा खप्टाएर लाउने गरेकी छिन् । उनी भन्छिन् ‘स्कुल गएपनि पढाईतिर ध्यान जाँदैन ।, हिँड्न गाह्रो हुन्छ,अनि बस्दा पनि बेन्चमा लाग्ने होकी भन्ने चिन्ता लागिरहन्छ, लागिहाल्यो भने केटाहरूले उडाउँछन् ।’

विष्णुपुरकट्टी तुलसीराम सत्यभाबा डोटेल उच्च माबिको शौचालय

विष्णुपुरकट्टी तुलसीराम सत्यभाबा डोटेल उच्च माबिको शौचालय

विद्यालय नजिक घर रहेका छात्रा  भने यस्तो बेला केही राहत मिल्ने बताउँछन् । कक्षा दशमा पढ्ने स्मृति डोटेल र निशा मन्डलको घर स्कुलबाट १५ मिनेटको दुरीमा छ । महिनावारी भएको बेला खाजा समय हुने बित्तिकै उनीहरू कुदेर घर पुग्छन् । घरमा प्याड फेरेर गरेर स्कुल फर्किन्छन् । यसरी प्याड फेर्न घर जाँदा उनको पढाई सधैं छुट्छ । स्मृति भन्छिन् ‘दुईवटा प्याड लगाउँदा अप्ठ्यारो भएपनि खपेर खाजा खाने बेलासम्म बस्छु ।’

‘दिशा, पिसाब त झाडीमा गर्छौं, प्याड फेर्न झाडीमा जाँदा सफा गर्ने पानी हँुदैन ।’ निशाले भनिन् ‘दुईटा प्याड एकैचोटी लगाउँदा गर्मी समयमा पोल्छ, कति बेला टिफिन हुन्छ भन्ने ध्यान हुन्छ पढाई भन्दा ।’

बिद्यालयमा प्याड फेर्ने ठाउँ, शौचालय नहुँदा  धेरै समस्या पर्ने गरेको छात्रा बताउँछन् । आस्था दाहाललाई महिनावारी हुँदा सफा हुनुपर्छ र प्याड फेरिरहनुपर्छ भन्ने कुरा थाहा भएपनि गर्न नसकिने बताउँछिन् ।  आस्था भन्छिन् ‘शौचालय नभएकाले हामीलाई स्कुल भित्र बस्दा पनि उकुसमुकुस अनुभब हुन्छ, यस्तो तनाबमा हामीले कसरी पढ्ने ?’

विद्यालयमा शौचालय नभएको कारण बिहान दशबजेदेखि दिउँसो एकबजेसम्म दिसा पिसाब आएपनि रोकेर बस्नुपर्ने बाध्यता रहेको विद्यार्थी बताउँछन् । उनीहरू भन्छन् ‘टिफिन हुने बित्तिकै हामी झाडी तिर कुद्छौ, खुल्ला दिशा मुक्त अभियान देशभर चलेको छ, तर आफैले खुल्ला ठाँउमा दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको छ ।’

खुल्ला ठाउँमा दिसा पिसाब गर्नुपर्दा कति ठाउँमा महिला हिंसामा पर्ने गरेका छन् । झाडीमा जाँदा सर्प, बिच्छिको डरले आरामले दिसा, पिसाब, गर्न नपाउँदा मानसिक तनाब हुने गरेको उनीहरूले बताए । तुलसीराम सत्यभाबा डोटेल उच्च माबि बिष्णुपुरकट्टीमा १२ सय बिद्यार्थी छन् । ती मध्ये बिद्यालयमा ७० प्रतिशत छात्रा छन् । विद्यालयमा शौचालय नभएको कारण सबै किशोरीको अवस्था र उनीहरू ले भोगीरहेको समस्या, मनिता पुनम, आस्था र निशाको जस्तै छ ।

शौचालय नभएकै कारण छात्राले पढाई छोडिरहे पनि विद्यालय व्यवस्थापन पक्षले ध्यान नदिएको विद्यार्थीको आरोप छ । विद्यालयमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा छात्राको लागि एउटा शौचालय बनेको भएपनि शिक्षकहरूले प्रयोग गर्ने गरेका छन् । अरू बेला शौचालयमा ताला लाग्ने गरेको छ । विद्यार्थीले प्रयोग गर्ने शौचालयको ढोका, छानो नभएको र भित्र झाडी पलाएको छ । जीर्ण अवस्थामा रहेको शौचालयमा बाहिरै दिसा पिसाब गर्ने गरेकाले ५० मिटर टाढासम्म गन्हाउँछ । विद्यालयमा शौचालय काम चलाउ रुपमा रहेको विद्यालयका सहायक प्रधानध्यापक जयराम कार्कीले बताए ।
1-1
उनले पानीको अभाब भएकाले शौचालयको व्यवस्थापन गर्न नसकेको बताए । भने ‘पानीको श्रोत छैन, भएको ईनार पनि ६ महिना बढी सुक्ने हँुदा शौचालय सरसफाई, मर्मत सम्भार हुन नसकेको हो ।’

विद्यालयमा शौचालयको आवश्यक भएपनि बनाउन नसकेको भन्दै अब तत्काल शौचालय बनाउने प्रतिबद्धता जनाए । उनले दुई महिना भित्रै विद्यालयमा शौचालयको प्रबन्ध र किशोरीलाई प्याड, फेर्ने कोठाको पनि व्यवस्था गर्ने तयारी रहेको बताए । किशोरीले शिक्षकसँग महिनावारी सम्बन्धि खुलेर कुरा गर्ने शैक्षिका वातावरणमा जुटिरहेको र छात्राको समस्या सुन्न शिक्षिका तोक्ने बताएका छन् ।

व्यवस्थापन समिति गठन गर्न नसकेकाले विद्यालयमा यस्ता समस्या सिर्जना भएको पूर्व अध्यक्ष बिबेक डोटेलले बताए । विद्यालय, चारवर्षदेखि व्यवस्थापन समितिविहिन छ । आफ्नो कार्यकालमा छात्र र छात्राको अलग अलग शौचालयको व्यवस्था भएपनि त्यही शौचालयको मर्मत सम्भार नहुँदा यस्तो अवस्था आएको बताए । उनले केहिदिन भित्रै विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिकाको सर्वपक्षिय छलफल गराई शौचालय अभाव र महिनावारीका कारण बालिकाहरूल भोग्दै आएकोे समस्या समाधानका लागि पहल गर्ने डोटेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: