शिविरमा झन् जोखिममा महिला


प्रकाशित मिति :2016-10-14 01:00:55

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’

कुमार लुइँटेल

विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा खातुन आफ्ना लालाबाला च्यापेर पन्ध्र दिनसम्म पालमुनि बस्नुपर्‍यो । ०७३ साउन पहिलो साता बक्राहा खोला हसन्दहको जयनगरमा बाँध भत्काएर गाउँतर्फ पस्दा खातुनको घर पनि बाढीमा डुब्यो । लत्ताकपडा, अन्नपात र भएको जायजेथा सबै डुबेपछि आत्तिँदै उनी लालाबाला च्यापेर सडककिनारमा उक्लिन् । जसोतसो ज्यान त बचाइन्, तर एकसरो लुगामा पालमुनिको बास उनका लागि शारीरिक र मानसिक रूपमा निकै पीडादायी बन्यो ।

खातुनले भनिन्, ‘पाँच दिन पाँच रातसम्म त लगातार पानी परिरह्यो, साना नानीहरूलाई जोगाउन धेरै नै कठिन भयो । फेरि हामी महिलालाई पालमा बस्नुपर्दा आङ ढाक्ने र सुरक्षित रहने भन्ने धेरै चिन्ता हुँदोरहेछ ।’ शारीरिक र मानसिक रूपमा थकित बनेकी उनलाई एक हप्तासम्म त निद्रै परेन । पछि राहत दिनेहरूले कपडाको समेत जोहो गरिदिएपछि भने सजिलो भयो । उनका छोराछोरी र टोलका केटाकेटी लुगैबिना हप्तादिनसम्म पालमा बसेका थिए ।

मोरङ अमरदह– २ सुगाबजार र आसपासको क्षेत्र एक सातासम्म जलमग्न हुँदा विशेषगरी महिला र किशोरीलाई ठूलो समस्या पर्‍यो । केही टोलमा महिला र किशोरीले बाढीको बेलामा पनि आफ्नो घरको रेखदेख गरे । बाढी घटेपछि घरभित्र पसेको हिलो र लेदो सफाइ गर्ने कामको चटारो महिलाकै काँधमा आइपर्‍यो । अहिले पनि बारी र आँगनमा जमेको बालुवा पन्छाउन उनीहरूलाई सास्ती छ ।

सुगाबजारकी देवकला घिमिरे बाढीले घर डुबाएपछि नजिकै छिमेकीकोमा शरण लिन पुगिन् । डेढ वर्षको नाति काखमा च्यापेर बुहारीलाई साथै लिएर उनले छिमेकीको सिकुवामा थुप्रै रात बिताउनुपर्‍यो । ‘सास मात्र अड्याउनका लागि भए पनि छिमेकीको शरणमा पुग्यौँ,’ उनले भनिन्, ‘सानो नाति लिएर बस्न बुहारीलाई झनै समस्या भयो । बुहारी र नाति जोगाउन हम्मेहम्मे भएको थियो ।’ सर्पको बिगबिगीले उनीहरूलाई फेरि फर्किएर घरमै पुनस्र्थापित हुँदा डसेर मार्ला भन्ने पीर परिरह्यो । अहिले बुहारी र नातिलाई माइती पठाइदिएको घिमिरेले बताइन् ।

बाढीका बेला मोरङ हसन्दहकी मीना राजवंशीको मुखमा अन्न नपरी पाँच दिन बित्यो । बक्राहा खोलाले बाँध फुटाएर बस्तीतर्फ उर्लिएकै दिनदेखि उनी र परिवार भोकभोकै हुनुपर्‍यो । बाढीको पानी नघटुञ्जेल उनीहरूले जाउलो पनि पाएनन् । भर्खरै कलेज पढ्दै गरेकी मीनाका लागि यो बर्खाको बाढीको पीडा असह्य थियो । ‘तर, विपत् आएपछि भाग्न नसकिने रहेछ,’ उनले भनिन्, ‘घर नै डुबेर आहाल बनेपछि नजिकैको विद्यालयमा आश्रय लिनुपर्‍यो । महिलालाई समूहमा सुत्न–बस्न निकै सकस भयो ।’ मीना बस्ने राजवंशी टोलका धेरै महिला र किशोरी नजिकैको विद्यालयमा शरण लिन पुगेका थिए । टाँडेघर भएका कतिपयले भने बरु घरमै मरिन्छ भने मरियोस् भनेर आँट गरेरै बसे । लुगाफाटोसमेत बाढीले पुरेपछि धेरै महिला र युवती भिजेकै लुगा लगाएर बस्न विवश थिए ।

खोलो गाउँतिर फर्किएपछि बाढीले गोठ पनि डुबाउँदा वस्तुभाउको ठूलो बिचल्ली भएको थियो । हजारौँ बिघा धानखेत बगर बनेको छ । बक्राहाले हसन्दह– ३ जयनगरबाट बाँध फुटाएर पश्चिम मानवबस्तीतर्फ पस्दा अमरदह १, २ र ९, हसन्दह ३ र ५, डायनिया तथा  गोविन्दपुरका धेरै वडा डुबानमा परेका थिए । हसन्दह–२ का वीरेन्द्र ऋषिदेवले भने, ‘घर पानीमा डुबेपछि छोरी र श्रीमती लिएर विद्यालयमा आएर बस्यौँ, केही पनि सम्पत्ति बचेन ।’ महिलालाई लिएर सार्वजनिक स्थलमा बस्न निकै गाह्रो हुने गरेको ऋषिदेवले बताए ।

नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाका प्रमुख कमल कोइरालाले बाढीमा महिला, बालबालिका र किशोरीलाई निकै समस्या हुने भएकाले राहत वितरण गर्दा उनीहरूलाई प्राथमिकतामा राखिएको बताए । कोइरालाले भने, ‘सबै जायजेथा बाढीमा डुबेका महिलाका लागि कपडासहितका राहत सामग्रीको पनि जोहो गरियो ।’ रेडक्रसले बाढीपीडितका लागि भाँडावर्तनदेखि खानेकुरासम्म वितरण गरेको उनको भनाइ थियो ।

अविरल वर्षाले मोरङको हुलाकी मार्गमा पुल र बाटो नै बगाइदियो । विराटनगर–रंगेली–डाइनिया हुलाकी सडकखण्डअन्तर्गतको भेडुवा पुल बग्दाको असर अहिले महिला तथा गृहिणीलाई परेको छ । सरसामान बिक्री गर्न डायनिया हुँदै रंगेलीसम्म आउनेहरूका लागि अहिले निकै समस्या छ । डायनियाकी देवकी साहले भनिन्, ‘हामी सागसब्जी बेच्न रंगेली र विराटनगरसम्म पुग्ने गरेका थियौँ, तर बाटो नै नहुँदा अहिले दैनिक जीवनयापनका लागि हुँदै आएको आम्दानीसमेत गुमाउनुपर्ने अवस्था छ ।’

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय समस्यामा परेका पीडितलाई पर्याप्त मात्रामा राहत वितरण गरिएको र खेत डुबानमा परेका किसानलाई राहत दिलाउन पहल गरिएको बताउँछन् । मानव अधिकारवादी इन्सेक पूर्वाञ्चलका संयोजक सोमराज थापा खासगरी विपत्का बेला महिला तथा किशोरीहरू अझ धेरै पीडामा पर्ने गरेको र उनीहरूलाई बढी संरक्षण आवश्यक पर्ने बताउँछन् । थापा भन्छन्, ‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’

(सञ्चारिका फिचर सेवा)
(कुमार, विराटनगरका पत्रकार हुन्)       
 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: