पार्वती पाण्डे
स्वास्थ्य चौकीमा अनमी नहुँदा गर्भवती महिला स्वास्थ्य जाँच र अस्थाई परिवार नियोजनका साधन समेत प्रयोग गर्दैनन्, जसका कारण महिलाले चाहेर पनि थोरै छोरा छोरी जन्माउन असम्भव छ ।
कपिलवस्तु । चार महिनाको गर्भ जाँच गर्न नसिला कोरी अस्पताल पुगिन् । तर अस्पतालमा पुरुष डाक्टर देखेपछि भित्रै नगई ढोका बाटै चियाएर उनी घर फर्किन् । गर्भ जाँच गराउँदा राम्रो हुन्छ भनेर गाउँमा उनलाई कसैले भनेका थिए । त्यहि सुनेर उनी अस्पताल गइन्, तर अस्पतालमा पुरुष डाक्टर देखेपछि नजचाई उनी फर्किन् । ‘मलाई अप्ठ्यारो महशुस भयो , लाज , डर दुवै लाग्यो र नजचाइ फर्किएँ’ नसिलाले भनिन् । अस्पतालमा महिला डाक्टर भएको भएँ आफूले गर्भ जाँच गरेरै फर्किने उनी बताउँछिन् । कज्रहवा २ निवासी नसिलाले आफ्नै गाविसको स्वास्थ्य चौकीमा यस्तो समस्या झेलिन् । उक्त गाविस कै ४० वर्षीया प्रमिला कोरी परिवार नियोजनको साधन प्रयोग गर्न अस्पताल गएकी थिइन् उनीपनि ढोकाबाट भित्र चियाइन र फर्किन् ।
पुरुष डाक्टर भएकाले आफ्ना कुरा राख्न सक्ने हिम्मत आएन उनलाई । चार छोराछोरीकी आमा प्रमिला फेरी अर्को वच्चा नजन्मिओस् भनी परिवारनियोजनको साधन लगाउन गएकी थिइन्, पुरुष डाक्टरसँग आफ्ना कुरा राख्न लाजले भुतुक्कै भएर फर्किएको बताइन् ।
२५ वर्षीया सुनिला यादव दुई सन्तानकी आमा हुन् । उनले पनि अव सन्तान नजन्माउने भनी परिवारनियोजनका साधनबारे परामर्श लिइ यसको प्रयोग गर्न अस्पताल गइन् । तर उनलाई पनि अस्पताल भित्र डाक्टरलाई भेट्ने हिम्मत आएन ।
अझैपनि महिलाहरू पुरुष डाक्टरसँग स्वास्थ्यलगायत अरु जाँच गराउन लाज मान्छन् । अस्पतालमा महिला डाक्टर नहुँदा कपिलवस्तुको कज्रहवा गाउँका महिलाले गर्भ जाँच नै गराउँदैनन् । त्यतिमात्र होइन पुरुष डाक्टर भएकैकारण त्यहाँका महिला परिवारनियोजनका साधन लिन समेत लिन जाँदैनन् । स्वास्थ्य चौकीमा अनमी नभएका कारण त्यहाँका महिलाले यस्तो समस्या भोग्नु परेको हो ।
स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र सहनीले वैशाखदेखि नै स्वास्थ्य चौकीमा अनमी नभएको वताए । ‘हामीले पटक पटक जिल्लामा भने पनि कुनै सुनुवाई भएन’ उनले भने । सात जनाको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा हाल प्रमुखसहित एकजना अहेवमात्र छन् । गत वैशाखदेखि नै अनमी स्वास्थ्य चौकीमा छैनन् । अनमी नहुँदा महिलाले स्वास्थ्य जाँच गर्न अप्ठ्यारो मान्ने र नआउने गरेको उनी स्वीकार्छन् ।
स्वास्थ्य चौकीलाई हेर्ने दायित्व वोकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतलाई यसबारे जिज्ञाशा राख्दा उक्त स्थानमा अनमी कर्मचारी बस्न नमान्ने र त्यस ठाउँका लागि सरुवा भएपनि विचै वाट अर्कै ठाउँमा सरुवा मिलाउने परिपाटीले गर्दा समस्या खट्किएको दावी गरे ।
‘अव हामी त्यस स्वास्थ्य चौकीमा अनमीसहितका कर्मचारी राख्न पहल गर्ने छौ’ प्रमुख भगतले भने । सडकको सहज सुविधा नहुुनु र विकासमा निकै पछाडि भएका कारण पनि यस ठाउँमा महिला कर्मचारी वाहिरबाट नआउने स्थानिय अमरावती हरिजन वताउँछन् । सुविधायुक्त घर बस्ती नहुँदा पनि अनमी र डाक्टरहरु नआउने हरिजनको भनाई छ ।
महिला डाक्टर नभएका कारण महिलाहरूले सहज रुपले जाँच गर्न नपाउँदा निकै ठुलो समस्या भएको अधिकारकर्मी इमान सिंह परियार बताउँछन् । कपिलवस्तुको दक्षिणी भेग विकासमा निकैपछि परेका कारण महिलाले यस्ता समस्या झेल्दै आउनु परेको उनको भनाइ छ । महिलाले चाहेर पनि थोरै वच्चा जन्माउन असम्भव छ । ‘यस भेगको विकाससँगै महिला डाक्टर भएमा हजारौं गर्भवती महिला स्वाथ्य जाँच गर्न र अस्थाई परिवार नियोजनका साधन लिन पाउने थिए, जसले गर्दा कति वच्चा जन्माउने, गर्भ कस्तो छ भन्ने वारे जानकारी लिन पाउने थिए’ उनी थप्छन् ।
Comment Here!