सर्मिला बुढाथोकी

लामनागीका विद्यार्थी खाजा खाँदै
दोलखा । दोलखा सुष्पाक्षमावती गाविसको लामनागी निमाविका विद्यार्थी अहिले समयमै विद्यालय आउँछन् र पुरै समय पढेरमात्र घर जान्छन् । तर विगत भने त्यस्तो थिएन । विद्यालयका प्रधानाध्यापक बलराम शिवाकोटी भन्छन् – ‘पहिले पहिले विद्यार्थी थोरै आउँथे र पुरा समय नबसी घर फर्कन्थे, तर अहिले विद्यालयमा खाजा अभियान सुरु गरेपछि सबै विद्यार्थी आउने र पुरै समय पढेरमात्र फर्कने भएका छन् ।’
दोलखाकै पहिलो क्षमावती माविमा अध्ययन गरेका सुन्द्रावतीका दीपक ओलीले सुरु गरेका हुन् लामनागी निमाविमा खाजा अभियान । आफू विद्यालय पढदा भोक लागेपनि खाजा खान नपाएको पीडा सम्झेर उनले विद्यालयमा खाजा अभियान सुरु गरेका थिए । अभियानका लागि सुरुमा दीपक ओलीले खाजा पकाउने भाँडा खरीद गर्न २० हजार रुपैयाँ दिएको विद्यालयका प्रधानाध्यापक शिवाकोटीले बताए । अहिले बाल संरक्षण सेवा केन्द्र (सिपिसिएस) नामको गैरसरकारी संस्थाले विद्यालयका एकसय जना विद्यार्थीलाई १० रुपैयाँका दरले मासिक २० हजार रुपैयाँ खाजा खर्च दिने गरेको र जिल्ला शिक्षा कार्यालयबाट सिमान्तकृत विद्यार्थीका लागि आउने खाजा खर्च समेत गरेर विद्यालयमा अध्ययनरत १७२ जना विद्यार्थीलाई दैनिक १२ रुपैयाँको दरले खाजा खुवाउने गरिएको प्रधानाध्यापक शिवाकोटीले बताए । विद्यालयमा थामी समुदायका विद्यार्थी धेरै अध्ययन गर्ने भएकाले सिमान्तकृत विद्यार्थीका लागि प्रति विद्यार्थी दैनिक ११ रुपैयाँको दरले खाजा खर्च सहयोग प्राप्त हुने गरेको विद्यालयले जनाएको छ ।

राजकुलेश्वरका विद्यार्थी विद्यालयले उपलब्ध गराएको खाजा खाँदै
‘पहिले पहिले खाजा समयपछि प्राय विद्यार्थी घर हिँड्ने गर्थे, अनि सबै विद्यार्थी उपस्थित पनि हुँदैनथे, प्रधानाध्यापक शिवाकोटीले भने – तर अहिले खाजा खान पाईन्छ भनेर सबै विद्यार्थी पुरै समय बस्छन् र पढाईमा पनि निक्कै ध्यान दिने गरेका छन् ।’ लामनागी निमाविमा खाजा बापत हरेक विद्यार्थीलाई चिउरा र गेडागुडीको तरकारी दिने गरिएको छ भने हप्ताको एक पटक कोदोको सुप समेत दिने गरिएको विद्यालयले जनाएको छ ।
दोलखा भीमेश्वर नगरपालिकामा रहेको राजकुलेश्वर निम्न माध्यामिक विद्यालयमा पनि खाजा अभियान सञ्चालन भै रहेको छ । खाजा अभियानले विद्यार्थीको उपस्थिति शतप्रतिशत हुने गरेको र पढाईमा समेत राम्रो सहभागिता रहने गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश दाहाल बताउँछन् । विद्यालयमा खाजा अभियान सुरु गर्न पहिले स्थानिय समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । विद्यालयमा खाजा अभियान प्रभावकारी भएपछि अहिले इन्जिनियर श्रेष्ठले बार्षिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक दाहालले जानकारी दिए ।
विद्यालयमा सिमान्तकृत थामी समुदायका विद्यार्थी पनि अध्ययन गर्ने भएकाले जिल्ला शिक्षा कार्यालयबाट समेत सहयोग प्राप्त हुने र अन्य सबै सहयोगबाट विद्यार्थीलाई राम्रोसँग खाजाको व्यवस्था गरिएको दाहालले बताए । भूकम्पपछि धेरै विद्यार्थी अध्ययनका लागि आउन छोडेकोमा अहिले विद्यालयमा खाजा अभियान सुरु भएपछि विद्यालय भर्ना भएका सबै विद्यार्थी आउने गरेको प्रधानाध्यापक दाहालको भनाइ छ ।
खाजा अभियान सञ्चालन गरेको दोलखाका दुई विद्यालयमा अध्ययन नियमित भएको र विद्यार्थीको उपस्थिति पनि उल्लेख्य रहेकाले अरु विद्यालयले समेत खाजा अभियान सुरु गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयको सुझाव छ । जिल्ला शिक्षा कार्यालयले अहिले सिमान्तकृत थामी, सुरेल, जिरेल र भुजेल अध्ययन गर्ने जिल्लाका सबै विद्यालयलाई प्रति सिमान्तकृत विद्यार्थी दैनिक १५ रुपैयाँसम्म खाजा खर्च सहयोग गर्दै आएको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए ।
Comment Here!