छोरी प्रति गर्व गर्ने परिवार


प्रकाशित मिति :2016-10-19 12:02:21

यमुना खनाल

 किरन रौनियार

किरण रौनियार

सिराह । छोरी छोरी भएपछि छोरा जन्माउन नसकेको भन्दै घरबाट निकालेका, शारीरीक मानसिक यातना दिएका , कुटपीट गरेका , खान नदिएका, श्रीमानले अर्को विवाह गरेका घटना तराईमा दिनहुँ जस्तै सार्वजनिक हुन्छन् । यस्ता समस्या लिएर पीडितहरू दैनिक जसो चार पाँच जना प्रहरी र महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थामा पुग्ने गरेको प्रहरी र संघसंस्थाको तथ्याङ्कले देखाउँछ । छोरा नजन्माएपछि तराईमा धेरैजसो पुरुषले बहुविवाह गर्छन् , कति महिलाले ज्यानै गुमाउनु पर्छ, कतिले घरबाटै निकालिनु पर्छ ।

तर फेरी यही समाजमा छोरी प्रति गर्व गर्ने, छोराको भन्दा छोरीमा बढी भरोसा गर्ने , छोरीलाई छोरा भन्दा उच्च दर्जा दिने परिवार पनि नभएका भने होईनन् । यस्ता परिवार गन्न सकिनेमात्र छन् । समाजमा उदाहरण बनेका दम्पत्ति हुन् जयराम र विनिता यादब । उनीहरूले दुई छोरी भएपछि छोराको अभाव महसुस नै गरेनन् , बरु यिनै छोरीको शिक्षा दिक्षा र भबिष्य बारे सोच्न थाले ।

यादबको घर भारतसँग सीमा जोडिएको दक्षिणी गाबिस मौवाहीमा पर्छ । शिक्षा र चेतनाले निकैपछि रहेको सिमावर्ती यो गाँउमा छोरीको सानैमा विवाह गर्ने, स्कुल नपठाउने, महिलाले घुम्टो भित्रै बस्नु पर्ने परम्परागत चलन छ ।

श्रीमती र छोरीकोे लागि गाउँमा राम्रो वातावरण नदेखेपछि यादब पढ्दा पढ्दै भागेर लहान आएर भाडामा बस्न थाले । विनिताले प्रावि स्कुलमा पढाउँदै आफू पनि पढिन् । जयरामले पनि पढ्दै सानो तिनो काम गरे ।

अहिले यादब जिल्ला निर्बाचन कार्यालय सिरहाको सवारी चालक पदमा कार्यरत छन् । विवाह गर्दा एसएलसी पास गरेकी विनिताले अहिले स्नात्तक पास गरी सकेकी छन् । अहिले उनी घरैमा बसेर शिक्षा सेवा आयोगको तयारी गरीरहेकी छन् । ठूली छोरी लहानकै एक नीजि स्कुलमा कक्षा २ मा पढ्छिन् भने कान्छी छोरी नर्सरीमा ।

‘छोरा नहुनेले गाउँ घरमा बोल्नै हुँदैन’ यादब भन्छन्, । ‘गाउँ घरमा कसैसँग सामान्य मनमुटाव भयो भने छोरा नहुने अपुत्रा, निपुत्र जस्ता शब्द बाँण प्रहार गर्छन्’ यादब सुनाउँछन् । पलपल अपहेलना सहेर बस्नु भन्दा बरु टाढा गएर बस्नु नै राम्रो जस्तो लागरे आफू सपरिवार गाउँ छोडेर यता आएको उनले बताए ।

यादबले भने ‘छोरा नभएपनि हामीले छोराको अभाव महसुस गरेकै छैनौं, तर समाजलाई हाम्रो छोरा नहुँदा खपीनसक्नु अप्ठेरो भएको छ ।’

छोरीलाई यत्रो लगानी गर्ने हो ? छोरी त विवाह गरेर गईहाल्छन् शहरमा राखेर पढाउनुपर्छ भनेर अझैपनि धेरैले छेडछाड गर्ने गरेको उनले सुनाए ।

यादब भन्छन् ‘छोरा भएरमात्र हुँदैन, मेरो बुबा आमाले मलाई पाले हुर्काए, तर अहिले म घरबाट बाहिर बसेको छु, छोरै भएर के भयो र ?’ छोराले आमा बाबु पाल्छ भन्ने गलत धारणाले छोराछोरीको विभेद बढाएको यादब बताउँछन् ।यो दम्पत्तीले छोरीको भविष्य समेत सुरक्षित गरिसकेका छन्।

जयराम बिनिता छोरीसँगै

जयराम बिनिता छोरीसँगै

जयरामकी श्रीमती विनिताले भनिन् , छोरीको भबिष्यको लागि अहिले नै व्यबस्था गरिसकेका छौं’ हामीले दुबै छोरीका लागि एक एक वटा घडेरी किनी दिएका छांै, केही बचत पनि गरेका छौं ।’ त्यसबाट उनीहरूले आफूले चाहेको पढ्न सक्ने विनिताले ढुक्कसाथ बताईन ।

भाग्यमानीले मात्र यस्ता छोरी पाउने उनीहरूले एकस्वरमा भने ।
आफ्नै कार्यालयमा महिला कार्यालय प्रमुख रहेको उदारण दिँदै यादबले भने ‘शिक्षा र संस्कार हो, छोरा भएपनि छोरी भएपनि, जति पढ्छ्न पढाई दिने राम्रो संस्कार र वातावरण मिलाई दिने हो भने छोराले गरेको काम छोरीले गर्न नसकेको के छ र ?’

विनिता र जयराम जस्तै छोरीलाई गहना र सोह्र सृङ्गार मान्ने अर्का उदाहरणीय पात्र हुन् किरण रौनियार ।

किरणका पाँचजना छोरी छन् । यीनलाई हुर्काउन किरणलाई आकाश थाम्न जस्तै गाह्रो थियो । श्रीमान् रोजीरोटीका लागि काठमाडौं थिए ।

अहिले पनि २५ वर्षअघिको उनको फुसको घर उस्तै छ, तर उनका छोरी जवान भएका छन् । किरणका दुःखका पुराना दिनमा अहिले छोरीले खुशीका रंग भरेका छन् । किरणकी जेठी छोरीले अनमी गरिन् । आँखा अस्पतालमा काम गर्दै गर्दा उनको विवाह भयो ।

माईली छोरी एक नीजि बंैकमा काम गर्छिन् । साईली छोरी बीबीएस गर्दैछन् र एक अस्पतालमा लेखापालको काम गर्छिन् । अन्य दुई छोरी कक्षा नौ र छ मा पढ्छन् । छोरीको शिक्षा दिक्षाका लागि किरणका श्रीमान दश वर्षदेखि वैदेसिक रोजगारीका लागि मलेसियामा छन् ।

किरण भन्छिन् ‘मेरा पाँचजना छोरी छन् भनेर हामीलाई कहिल्यै तनाव भएन, सबैलाई शिक्षा र संस्कार दिएका छौं, त्यसैबाट गरी खान्छन्, हाम्रो कर्तब्य हो, छोराछोरीलाई शिक्षा र संस्कार दिने जति पढ्छन् त्यति पढाई दिन्छौ ।’

समाजमा छोरीलाई बोझको रुपमा लिएको, हेला गरेको, दाईजो दिनु पर्छ भनेर छोरी जन्मिदा रोएको देखेर आफूलाई दुःख लाग्ने रौनियार बताउँछिन् । उनी भन्छिन् ‘मलाई मेरा छोरीहरु प्रति गर्व छ, मेरा जस्ता छोरी सबैले पाउन, हाम्रो चार तले महल भनेपनि गहना गुुरिया सोह्र—सृङ्गार जे भने पनि यीनै छोरी हुन् ।’

छोराछोरीमा कहिल्यै फरक नदेखेको रौनियार बताउछिन् । उनी भन्छिन् ‘ छोरीले पनि छोराले जस्तै पढेलेखेकै छन् , जागीर गरेकै छन् , घर व्यबहार हेरेकै छन्, बुबा नहुँदा मलाई आश्वासन दिने भरोसा बनेका छन्, छोराले गर्न सकेको के काम गर्न सक्दैनन् र छोरीले ?’ किरण प्रश्न गर्छिन् । ‘छोरा भन्दा कम छैनन् मेरा छोरी अवसर र समान शिक्षा दिने हो भने केही कम छैनन्’ उनले भनिन्।

छोरीले आफूलाई चिन्तित जस्तो देखेमा सबै वरीपरी आएर हसाउँने गरेको रमाइलो मान्दै उनले सुनाइन् ।‘छोरा हुने आमा बाबु पनि सुखी र खुशी कहाँ छन ? किरण भन्छिन् छोराले खान नदिएर, घरमा बस्न नदिएर कति आमा बाबु सडकमा आईपुगेका छन ।’

मधेशी समुदाय त्यसमा पनि गुप्ता परिवारमा दाईजो बढी दिनुपर्ने कुराले भने किरणलाई पिरोलीरहन्छ । छोरीले पढेलेखेको समेत ठूलो चिन्ता छ उनलाई । उनी भन्छिन् ‘मेरा छोरी पढे लेखेका राम्रा छन् तर विवाहमा पैसा लिन्न कोही भन्दैनन्, उल्टै यति लिन्छु त्यति लिन्छ भन्छन्, पैसा र दहेज नलिई विवाह गर्छु भन्ने आदर्श कोही हुँदैनन् ।’

शिक्षा भएमा आफूमाथि भएको अन्याय सहेर बस्नु नपर्ने भनेर दहेज दिनु भन्दा र आफूले छोरीलाई आफ्नै खुटामा उभिन सक्ने बनाएको उनी बताउँछिन् ।

छोरा र छोरी प्रति समाजको हेराईमा परिवर्तन ल्याउन पढे लेखेका महिलाई राज्यले बढी अवसर दिने नीति ल्याउनु पर्ने बुद्धिजीबि डा. नमो नारायण झा बताउँछन् । शिक्षा, रोजगारी ,र सीप विकासमा महिलाका लागि फरक व्यवस्था र प्राथमिकता भए महिलाले क्षमता देखाउने अवसर पाउने झाको बुझाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: