साथी शिक्षकदेखि अध्यक्षसम्म


प्रकाशित मिति :2016-10-19 14:45:18

दुर्गा कार्की

नेपाल परिवार नियोजन संघ नेपालको पहिलो सामाजिक संस्था हो । २०१६ सालमा यो संस्था स्थापना भएको हो । महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा पहुँच पुर्‍याउन संघले काम गरिरहेको छ । नेपाल सरकारले काम नगर्दै परिवार नियोजन संघले महिलाको यौन र प्रजनन् अधिकारको क्षेत्रमा काम सुरु गरिसकेको थियो । संघमा अहिले एक युवा महिला अमु सिहं सिजापति अध्यक्ष छन् । विद्यालय पढ्दा ‘साथी शिक्षा’ मार्फत यौन र प्रजनन् अधिकारको अभियानमा जोडिएकी र संघको अध्यक्ष पदको दोस्रो कार्यकालमा कार्यरत उनीसँग महिला खबर डटकमले कुराकानी गरेको छ ।

22

परिवार नियोजनमा लगानी गरौं भनिरहनुभएको छ । किन आवश्यक छ यसमा लगानी ?
सन २०१२ को अन्त्यतिर परिवार नियोजन सम्बन्धि अन्तर्र्राष्ट्रिय सम्मेलन बेलायतमा भयो । फेमिलि प्लानिङ २०/२० भन्ने नारामा । यो सम्मेलनमा तत्कालिन स्वास्थ्यमन्त्रीले नेपालले प्रत्येक वर्ष यौन तथा प्रजनन् स्वास्थ्यमा सात प्रतिशतले बजेट बढाउँछ भनेर यससबन्धि प्रतिवद्धतामा हस्ताक्षर गरेर आउनुभएको छ । नेपालमा परिवार नियोजनमा संघले काम गरिरहेको हुनाले यसलाई हामीले अभियानका रुपमा लगिरहेका छौं । अहिलेका स्वास्थ्यमन्त्री गगन थापाले पनि बजेट बढाउने कुरामा समर्थन छ भन्नु भाछ । यस्को महत्वका बारेमा स्वास्थ्य मन्त्रालयमात्रै होइन अर्थ मन्त्रालयलाई पनि घच्घच्याउनु जरुरी छ । स्वास्थ्य क्षेत्र र खास गरी प्रजनन् स्वास्थ्यमा बजेट बढाउनु पर्‍यो भनेर अभियान चलाइरहेका छौं । किनकी परिवार नियोजनामा एक रुपैयाँ खर्च गर्दा पाँच रुपैयाँ बच्छ भने किन नगर्ने भनेर यसमा पैरवी गरिरहेका हौं ।

1

दक्षिण एशिया मै नेपालमा स्वास्थ्य क्षेत्रमा एकदमै कम बजेट विनियोजन हुन्छ । यसमा पनि परिवार नियोजमा त झन कम छ । तर यो वर्ष १० प्रतिशत बढेको छ यसरी नै बढ्यो भने हुन्छ ।

स्वास्थ्यमा लगानी गर्दा स्वस्थ हुन्छ र समृद्धि हुन्छ भनेर परिवार नियोजनमा लगानी गरौं भनेको हो किनभने विवाहपछि परिवार नियोजनको साधन प्रयोग गरेन भने चाडो बच्चा जन्माउँछ र उसको कार्यक्षमता घट्छ । यसमा सवैभन्दा धेरै महिलाले नै छोड्नुपर्छ । यसले गर्दा महिला धेरै पछाडि परिसकेका हुन्छन् । परिवार नियोजनको साधन प्रयोग नगर्दा अनिच्छित गर्भ रहन्छ । यसैले एकजना महिला स्वस्थ हुँदा घर र समाज स्वस्थ हुन्छ भनेर अभियान चलाएका हौं ।

नेपालमा परिवार नियोजनको साधन परिक्षण लागि आउँछन् वा गुणस्तर हुँदैनन भन्ने गरिन्छ । संसदीय समितिले पनि अघिल्लो सरकारका बेला तत्कालिन स्वास्थ्यमन्त्रीलाई समितिमा बोलाएर यसवारे ध्यानकर्षण गराएको थियो ।

2

यो समस्या समाधार गर्न त संघ वा मन्त्रालयमात्रै लागेर हुँदैन । यसका लागि एउटा छुट्टै संयन्त्र नै बनाउनुपर्छ जसले परिवार नियोजनको साधन आयात गर्न एकद्वार प्रणाली लागु गरेर काम गर्न सकोस । संघले ल्याउने साधनहरू मापदण्ड पुरा भएका हुन्छन् । हामीले मापदण्ड पुरा भएकामात्रै लिन पाउँछौ । यो हो भने एकद्वार प्रणाली हुनुपर्छ र त्यहाँबाट पास भएरमात्रै आउन पाउने बनाउनुपर्छ । अहिले जथाभावी रुपमा नीजि कम्पनिले पनि परिवार नियोजनका साधन आयात गरिरहेका छन् । सरकारले पनि ल्याउँछ । सकिन लाग्यो भनेपछि हतारमा ल्याउँदा गुणस्तर नहुनपनि सक्छ ।

परिवार नियोजनका अस्थाइ साधन महिलाका लागिमात्र किन बनाइन्छ ?
वैज्ञानिक रुपमै केही छ कि यसरी बनाइनुमा । पुरुषका लागि पनि अव पिल्स आउन लागेको कुरा मैले सुनेकी छु । धेरै अगाडिदेखि पुरुषलाई बलियो र महान बनाउने कारणले परिवार नियोजनको साधनमात्रै होइन हरेक ठाउँमा पुरुषलाई यस्ता चीजबाट बाहिर नै राखेको देखिन्छ ।
परिवार नियोजनको साधन प्रयोग गर्दा कमजोर भइन्छ वा यसले नराम्रो गर्छ भन्ने धारणा छ जुन गलत हो । परिवार नियोजनको साधन प्रयोग गरेपछि काम गर्न नमिल्ने भन्ने होइन । पुरुषलाई भ्यासेक्टोमी गरेको एक दिन मै वा ५/७ घण्टामा मजाले हिँड्न सकिन्छ । २ /३ दिन पछाडि त जस्तो ठुलो भारी पनि बोक्न सकिन्छ । यो प्रमाणित पनि भइसकेको छ । तर महिलाका लागिमात्रै धेरै थरीका साधन बनाएको देखिन्छ ।

संघको बिभिन्न अन्तर्राष्ट्रिय मन्चहरूमा उपस्थिति छ । अब पुरुषका लागि पनि परिवार नियोजनका साधनका धेरै विकल्प दिनुपर्छ भनेर आवाज उठाउने बेला भएन ?
हामी कार्यान्वयन गर्ने ठाउँमा भयौं । यो बनाउने वैज्ञानिक भए । औषधी जाँच गरेर हर्मोन मिल्न पर्‍यो खासगरी महिलाको रजस्वलालाई रोक्ने मुख्य काम भएर महिलाका लागि मात्रै बनाइएको हो की ? तर हामीले किन सवैथोक महिलाकालागि मात्रै ? पुरुषलागि किन हुँदैन ? भनेर आवाज उठाएका छौं । महिलालाई मात्रै होइन पुरुषलाई पनि परिवारका अस्थाइ साधनमा धेरै विकल्प दिनुपर्ने भन्ने खालको वहस चलिसकेको छ । हामी आफ्नै कार्यक्रममा पनि यस्ता कुरामा छलफल गर्छौ । तर के कति कारण बन्न नसकेको हो ? यो वहस आइसकेको छ, तर ‘लाउड’ भएको छैन जुन हुनुपर्छ । सानो सानो फोरममा पनि उठाइरहेको छौं ।

परम्परागत रुपमा महिला र पुरुषको भूमिका हेरेर पहिला यस्तो बनाइएको हो की ? पुरुषहरू आफू कमजोर हुने भन्दै भ्यासेक्टोमी गर्न नमान्ने गरेको पनि हामीले सुन्दै आएका छौं ।

3

म फेरी भन्छु । परिवार नियोजनको अस्थाइ वा थाइ साधन प्रयोग गर्दा कमजोर हुने, रिगंटा लाग्ने हुँदैन । काम गर्न वा भारी बोक्न नसक्ने भन्ने धारणा नै गलत हो । यत्रो महिलाले परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । उनीहरू काम गरिरहेका छन् । साइड इफेक्ट हुने हो भने त उनीहरूले पनि काम गर्न सक्दैनथे होला । तर पुरुषलाई यसले केही पनि हुँदैन भनेर तयार गर्न समय लाग्छ । महिलालाई भन्दा अझै पुरुषको बन्ध्याकरण गर्न एकदमै सजिलो छ । ५ देखि १० मिनेट मै उनीहरूको काम सकिन्छ । जवकी महिलाको गर्दा आधाघण्टासम्म लाग्न सक्छ । पुरुषको एउटा नशालाई मात्रै काटेर बाँध्ने हो । पुरुष कै परिवार नियोजनको साधन कण्डम प्रयोग गर्दा दुबैका लागि अति नै उपयुक्त र सवै भन्दा राम्रो साधन हो ।

परिवार नियोजनका साधन प्रयोग गर्दा महिलामा समस्या देखिएको गुनासो छ नि ?
हो यो सवै हार्मोनका कारणले हो । सवैलाई सवै कुरा मिल्दैन । एकजनाले डिपो लगाएको छ भने अर्कोलाई पनि त्यसले राम्रो काम गर्छ भन्ने होइन । त्यसैले सही ठाउँमा सही डाक्टरबाट परामर्श लिनुपर्ने भनेर लामो समयदेखि आवाज उठाइरहेका छौं । कसैले ३ महिने सुइ लगायो भने आफूलाई पनि त्यो फिट हुन्छ कि हुन्न त, रक्तचाप र अरु रोग छ कि महिनावारीको समस्या छ कि, सवै कुरा जानेर परामर्शपछिमात्रै साधन प्रयोग गर्नुपर्छ भनेर अभियान चलाएका हौं । थाहा नभएर वा दक्ष जनशक्तिबाट परामर्श नलिई प्रयोग नगरेर यो समसया आइरहेको छ ।

महिलाले प्रयोग गर्ने परिवार नियोजनका अस्थाइ साधन १०/१५ वर्षका लागि छन् । यसले उनीहरूको स्वास्थ्यमा केही पार्दैन ?

लामो अवधि लगाएपनि बीचमै निकाल्न पनि मिल्छ । पाँचवर्षलाई लगाएपनि ३ वर्षमै निकाल्न मिल्छ । यसमा केहीपनि समस्या छैन । लगाउनुअघि दक्ष स्वास्थ्यकर्मीको सल्लाहपछि लगाउनुपर्छ । यदि हर्मोनका कारण परिवार नियोजनका साधन महिलाको शरिरले नसहँदामात्रै समस्या हुन्छ । त्यसैले हामीले भन्दै आएका छौं कि दक्ष स्वास्थ्यकर्मीको परामर्शपछिमात्रै प्रयोग गर्नुपर्छ । हामीले महिलाले परिवार नियोजनको साधन प्रयोग गर्नुअघि परिवारमा सल्लाह गर्नुस भन्दैनौं, किनकी गर्ने नगर्ने उनको इच्छा र निर्णय हो, कहिले कतिवटा बच्चा जनमाउने भन्ने कुराको निर्णय महिलाले गर्ने हो । हामीले गर्ने भनेको साधनका बारेमा भनिदिने तर रोज्ने उहाँहरूले हो । यतिसम्म कि हामीले लगाउनुस् भनेर दवाव पनि दिदैनौं । यो संघको म्याण्डेटरी हो ।

लामो इतिहास बोकेको संस्थामा तपाई युवा अध्यक्ष हुनुहुन्छ । काम गर्न कति सजिलो छ ?
जति सक्षम हुनुस महिलालाई काम गर्न कहीँ पनि सहज छैन । तर यसबाट भाग्नु हुँदैन । मैले आफूसँग क्षमता हुँदाहुँदै पनि धेरै ठाउँमा हण्डर खाएँ । गएको साढे चार वर्षको मेरो अनुभव हो । यो अवधीमा मैले के अनुभव गरें भने पुरुषहरूले महिला अघि बढ्नुपर्छ भन्ने, तर मेरो सल्लाह मानेर अघि बढ्नुपर्छ, महिला अगाडि जानुपर्छ, तर मलाई साथमा लिएर जानुपर्छ, उसले सवै निर्णय आफैँले गर्नु हुँदैन हामीसँग सोधेर वा सल्लाह लिएर गर्नुपर्छ भन्ने मानसिकता भएको पाएँ । कुनैपनि संस्थामा पुरुष भन्दा महिला अघि बढे भने खुट्टा तान्ने प्रबृत्ति हुँदो्रैछ । म २७ वर्षको उमेरमा संघको अध्यक्ष भएर आएकी हुँ । यदि म कुनै व्यक्ति वा मन्त्रीलाई भेट्न गएँ भने म सँगै गएका पुरुषलाई नमस्ते गर्नु हुन्थ्यो उहाहरूले । अनि म भन्थे उहाँ होइन म अध्यक्ष हो । यस्ता घट्ना त धेरै पटक भएका छन् । यस्तो संस्थाको अध्यक्ष महिला हुन्छ भन्ने सोचाइ नै नहुँदो रैछ । महिलासँग सम्बन्धित संस्था छ भने महिला अध्यक्ष हुन्छन् भनेर सोच्ने, ती वाहेक अन्य संस्थामा महिला हुन्छन् भन्ने सोचाइ समेत नहुँदो रैछ ।

4

फोनमा पनि म अध्यक्ष बोल्दैछु भन्दा कतिपयले पुरुष हुनुहुन्छहोला भनेको भन्नुहुन्थ्यो । त्यसैले मैले हरेक ठाउँमा परिक्षा दिनुपर्‍यो । म परिवार नियोजन संघको अध्यक्ष हो मैले काम गर्न सक्छु र मैले गरेको काम यो हो भनेर प्रमाणित गर्दै हिँड्नु पर्‍यो । साढे चार वर्ष भयो संघमा अध्यक्ष भएर आएको अहिलेसम्म परिक्षा दिँदै र प्रमाणहरू पेश गर्दै नै हिँड्नु परेको छ ।

तपाइ एकजना युवा महिला यो पदमा आएर चार वर्ष बिताइसक्नुभयाे, तरपनि परिक्षा दिइराख्नुपर्ने अवस्था किन छ ?
म यहाँ आएपछि युवा महिलालाई संघमा ल्याउन प्राथमिकता दिएकी छु । हाम्रो मानवश्रोत इकाइको व्यवस्थापक पनि महिला हुनुहुन्छ । संघको निर्देशक महिला हुनुहुन्छ । उहाँ यो पदमा आउने पहिलो महिला निर्देशक हो । निर्देशक, महानिर्देशक, महाप्रवन्धक, अध्यक्ष महासचिवजस्ता पदमा जहाँपनि जहिले पनि पुरुष नै हुनुपर्ने । तर उपाध्यक्ष कोषाध्यक्षजस्ता पदहरूमा महिलालाई ल्याइन्छ, किनकी यो पदको भूमिका धेरै हुँदैन भन्ने सोचाइ छ जुन गलत हो उपाध्यक्षको पनि धेरै काम हुन्छ ।

नेपाली महिलाको इतिहास मैले बुझेकी हुँ । तर परिवर्तन त भइराखेको छ । अहिले देशका तीन सर्वोच्च निकायमा महिला छन् । नागरिक समाजबाट पनि महिला आगाडी आइरहेका छन् । यसलाई स्वीकार्न असाध्य गाह्रो भइराखेको छ । त्यसैले यी पदमा काम गर्न सक्ने महिला पनि छन् नि भनेर मैले यो अभ्यास सुरु गरेकी हुँ । तैपनि परिक्षा मैले दिइरहेकी छु कहिलेसम्म हो थाहा छैन ।

म संघको अध्यक्ष भएर आउँदा नौ महिनाकी गर्भवती थिएँ । कुनैपनि बेला सुत्केरी हुन सक्थें । पोखरामा चुनाव थियो । मैले चुनावमा जाँदा त्यहीँ पनि अस्पतालमा नाम लेखाएकी थिएँ र काठमाडौंमा पनि । म कुनैपनि बेला सुत्केरी हुनसक्छु भनेर तयार थिएँ । यस्तो अवस्थामा पनि निराश नभै रातदिन खटेर चुनाव जितेकी हुँ । चुनावको १० दिनपछि सुत्केरी भएँ र सुत्केरी भएको १५ दिनमै कार्यालय गएँ ।

म अध्यक्ष भएर आउनु अघि नै अन्तर्राष्ट्रिय परिवार नियोजन संघले नेपाल परिवार नियोजन संघलाई कालो सूचिमा राखेको थियो । दाताले सहयोग बन्द गरेका थिए । यस्ता अवस्थामा मैले मेरो स्वास्थ्यलाई पनि ख्याल नगरी कार्यालय गएँ निरन्तर र अहिलेसम्म पनि गइरहेकी छु ।

5

रातदिन काम गरेर सन् २०१३ मा महासंघको कालोसूचिबाट संघलाई हटाउन सफल भएँ । त्यसपछि दाता पनि आए । अरु दाताले पनि सहयोग गरे । संस्थामा भ्रष्टचार छ कि छैन, आर्थिक दुरुपयोग भए नभएको प्रमाणसहित संघको पाँच पाँच वर्षमा प्रमाणीकरण हुन्छ । त्यो गराइसकेकी छु ।

मेरो कार्यकालमा संघले १८० देशलाई उछिन्दै अन्तर्राष्ट्रिय परिवार नियोजन संघबाट पुरस्कार पनि पाएको छ । संघले अन्य दुई पुरस्कार पहिला नै पाएपनि यो पुरस्कार पहिलोपटक पाएको हो । यौन तथा प्रजनन् स्वास्थ्यलाई वातावरणसँग जोडेर अभियान गरेका छौं, साथै युवालाई बढी परिचालन गरेको र सर्भाइकल क्यान्सरविरुद्धको अभियान पनि मैले मेरै पालामा सुरु गरें । यीनै तीनवटा अभियानका लागि यो पुरस्कार पाएका हौं ।

अव तपाइ परिवार नियोजन संघको दक्षिण एशियाली क्षेत्रको प्रतिनिधित्वका लागि तयारी गर्दै हुनुहुन्छ । तपाइले गरेको कामले त्यो ठाउँमा पुग्न तपाइलाई कति सहयोग गर्ला ?

संघको यो मेरो अन्तिम कार्यकाल हो । त्यसकारण मैले दक्षिण एशियाली क्षेत्रमा अध्यक्ष मै उम्मेद्वारी दिने सोच बनाएकी छु । यसअघि क्षेत्रमा संघका पुर्व अध्यक्षले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको थियो तर उहाँले त्यसलाई निरन्तरता दिन सक्नुभएन, बीचमै छोड्नुभयो । त्यसैले संघको ५८ वर्षको इतिहासमा मेरो उम्मेद्वारी निकै महत्वपुर्ण हुनेछ । मैले नेपाल परिवार नियोजन संघ र महासंघको सम्बन्ध राम्रो छ भनेर सन्देश दिनपनि उम्मेद्वारी दिने तयारी गरेकी हुँ । तर त्यहा प्रतिनिधित्व गर्दा प्रत्यक्ष अप्रत्यक्ष देशलाई पनि फाइदा हुन्छ । यहि हुन्छ भन्न नसकेपनि फाइदा हुन्छ । मरो उद्देश्य युवाहरूलाई अगाडी ल्याउने हो त्यो गर्ने छु । महिलामा पनि युवा महिलाको स्वास्थ्यको आवाज उठाउने मेरो उद्देश्य हो । युवाले जस्तोसुकै जिम्मेवारी निभाउन सक्छन् भन्ने प्रमाणित पनि मैले गर्नुछ । संघमा दुई कार्यकाल बस्न सक्नुको कारण मेरोपछि महिला थिए । उनीहरूकै सहयोगमा मैले सफलता पाएँ । त्यसकारण महिला मिल्यो भने सवै काम गर्न सकिन्छ । चूनौति पार लगाउँदै गल्ती सुधार्दै अघि बढ्नु पर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: