शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण नदिने बैंकमा ताला लगाउँछौंः बराल
महिला खबर
कपिलवस्तु । अनेरास्ववियुकी केन्द्रिय उपाध्यक्ष सुनिता बरालले विद्यार्थीको शैक्षिक प्रमाणपत्रलाई पुँजीको रुपमा हेरिनुपर्ने भन्दै पुँजी राखेर ऋण नदिने बैंकमा अनेरास्ववियूले ताला लगाउने चेतावनी दिनुभएको छ ।
जीवनको दशकौं समय अध्ययनमै विताउने र अध्ययन सकेपछि बेरोजगार बस्नुपर्ने बाध्यता नेपाली विद्यार्थीमा रही आएकाले शैक्षिक बेरोजगारकाे समस्या समाधान गर्न राज्यले प्रमाणपत्र राखेर ऋण दिने नीति अख्तिायार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अघिल्लो सरकारले ल्याएको बजेटमा त्यस्तो व्यवस्था भएको र हाल नीतिगत व्यवस्थाको गृहकार्य अघि बढेकाले नीति बन्नासाथ कार्यान्वयन नगर्ने बैंकहरू बन्द गर्नेगरी तालाबन्दीको कार्यक्रम अनेरास्ववियूले घोषणा गर्ने बरालले बताउनुभयो ।
तौलिहवामा संचारकर्मीसँगको अन्तरकृयामा उहाँले नयाँ संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था राज्यले गरेकाले त्यसको कार्यान्वयन तर्फ सबै लाग्न आग्रह गर्नुभयो ।
राज्यले संविधानमै निःशुल्क शिक्षा दिने लेखिसकेपछि नीजि विद्यालय खोल्नुपर्ने बाध्यता नभएको भन्दै उहाँले नीजि विद्यालय आफै बन्द हुने ठोकुवा गर्नुभयो । देशमा सञ्चालित नीजि विद्यालयले बेइमानी गरिरहेको उहाँको आरोप थियो ।
Comment Here!