धनु राई
ओखलढुंगा । उवु गाविसकी गोमाकुमारी भण्डारी राईले गाउँमै पहिलो पटक कुटानी पिसानी मिल सञ्चालनमा ल्याइन् । गाउँका अधिकांश महिलाको धेरै समय ढिकीजाँतोमै वित्ने समस्या देखेर आफूले दश वर्ष अघि मिल सञ्चालनमा ल्याएको गोमाले बताइन् ।
कास्कीमा जन्मेपनि २०४७ सालमा उवु गाविसका लक्ष्मण राईसँग विवाह गरेर गोमा ओखलढुंगा आएकी हुन् । विहे गरेर आएदेखि नै गाउँका महिलालाई सहज हुने काम सुरु गर्ने सोचाइमा रहेकी उनले कुट्ने पिस्ने कामले महिलालाई फुर्सद नमिलेको देखेपछि कुटानी पिसानी मिल सुरु गरेको बताइन् ।
गाउँका आमा दिदी बहिनीका लागि प्रौढ कक्षा सन्चालन गर्दा कोदोमकै पिध्ने र धान कुट्ने कामले फूर्सद नमिलेकाले पढ्न जान नभ्याउने गरेका बताएपछि आफूलाई यो कामका लागि उत्साहित बनाएको गोमा बताउँछिन् । उनले भनिन् ‘गाउँमा मिलको सुविधा ल्याउन सके महिलाले यसबाट छुटकारा पाउने थिए भनेर गाविसमै पहिलो पटक मिल सञ्चालन गरेकी हुँ।’
उनी महिलाले चलाउन सक्ने मिलका बारेमा बुझ्न उदयपुरको कटारीसम्म पुगिन् । तर, महिलाले चलाउन सक्ने नपाएपनि अरु जस्तै पुरुषले चलाउने मिल नै किनेर ल्याएको उनले बताइन् ।
गाउँमा मिल ल्याउँदा आफूलाई निरुत्साहित गर्ने र महिलाले चलाउन सक्दैनन भन्ने खालका टिप्पणी सुनेपनि काम सुरु गरेर देखाएको उनी बताउँछिन् । ‘उत्साहदिनुको साटो यो मिल महिलाले चलाउन सक्दैन भनि निरुत्साहित पार्ने गरेका थिए, तरपनि चलाउन सक्छु नै भन्ने हिम्मत गरी हालसम्म चलाईरहेकी छु’ उनी भन्छिन् ।
१० वर्षअघि उनले यो मिल गाउँमा ल्याएकी थिइन् । एक लाख ५ हजार रुपैयाँ लगानी गरेर मिल सुरु गरेकी उनले एकै वर्षमा आफ्नो लगानी उठाईसकेको बताईन ।
सुरुमा कुटानी पिसानीबाट मासिक ८ देखि १३ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेपनि अहिले भने घटेको उनी बताउँछिन् ।
गोमा कै सल्लाह र प्रेरणामा गाउँका अन्य वडामा पनि महिला समूह मिलेर मिल सन्चालनमा ल्याएका छन् । यस कारण पनि उनको आम्दानी घटेको हो ।
अहिले यहाँका महिला ढिकीजाँतो गर्ने समयमा महिला गाउँमा हुने समूहका बैठकमा भाग लिन जान र समाज सेवामा समय दिन सकेको गोमा भण्डारी राईले बताइन् ।
Comment Here!