श्रीमान सुधार्ने महिला अभियान


प्रकाशित मिति :2016-10-22 11:00:58

सम्झाइबुझाइ गरेर श्रीमानलाई कुलतबाट मुक्त गराउने अभियान नै चलाएका छन् सुर्खेतका महिलाले । यसले महिला सशक्तीकरणमा टेवा पुगेको मात्रै छैन, पारिवारिक खुसी पनि मिलेको छ ।

गीता थापा
सुर्खेत । सुर्खेतको मैनतडा– ८ निवासी कमला विकलाई कुनै बेला आफ्नै श्रीमानको व्यवहारले तनाव हुन्थ्यो । परिवारमा दिनहुँजसो झगडा हुने । दुःख गरेर कमाएको पैसा पनि बचत गर्न मुस्किल । उनका श्रीमान् मानबहादुरले दिनहुँजसो जाँडरक्सी खाएर घरमा कलह मच्चाउने गर्थे । मानबहादुरको व्यवहारका कारण परिवारका सदस्य मात्र होइन, वरपरका छिमेकी पनि हैरान थिए । श्रीमानले जस्तोसुकै व्यवहार गरे पनि कमला त्यसलाई स्वीकार गरेर बस्न बाध्य थिइन् । उनी आफ्नै भाग्यलाई दोष दिन्थिन् ।

अहिले मानबहादुरको व्यवहारमा परिवर्तन आएको छ । उनले जाँडरक्सी खान छोडेको ६ महिना भयो । उनले कसैको दबाब वा रहरले आफ्नो कुलत छोडेका होइनन् । श्रीमती कमलाको केही सूत्रका कारण उनी दुव्र्यसन छोड्न बाध्य भए र उनले सधँैका लागि जाँडरक्सी छाडे । कमलाको निरन्तरको प्रेरणा, जस्तोसुकै अवस्थामा पनि सम्झाइबुझाइ गर्ने शैली र सकारात्मक व्यवहारका कारण मानबहादुरले कुलत त्यागे ।

‘श्रीमानले जाँडरक्सी खाएकै कारण विगतमा छिमेकीले आफूलाई होच्याएर बोल्ने गरेको अहिलेजस्तो लाग्छ,’ कमलाले भनिन्, ‘लोग्नेको व्यवहार राम्रो नहुँदा सबैले हेप्ने रहेछन्, हिजो उहाँले जाँड खाएर हल्ला गर्दा सबैले हामीलाई घृणा गर्थे, तर अहिले सबै आफ्ना भएका छन् ।’ हिजोका दिनमा महिला जान्ने भएको राम्रो हुँदैन, किन बाहिर जानुपर्‍यो र ? भन्ने कमलाका श्रीमान अहिले आफूले घरको काम गरेर श्रीमतीलाई सभा–समारोहमा जान सल्लाह दिने गर्छन् ।

यस्तै मैनतडाकै तारा विकका श्रीमानले पनि कुनै बेला रक्सी नखाएको दिन हुँदैनथ्यो । दिनमा घरको काममा सहयोग नगर्ने, साँझमा जाँडको नसामा घरमा आएर श्रीमतीसँग झगडा गर्ने चेतबहादुरको नियमित काम नै हुन्थ्यो । पैसाजति श्रीमानले जाँडरक्सीमा खर्च गर्ने भएकाले छोराछोरी पढाउन धौधौ हुन्थ्यो । तर, अहिले चेतबहादुरले जाँडरक्सी छोडेका छन् । श्रीमती ताराको निरन्तरको प्रयास र प्रेरणाले गर्दा उनले कुलतबाट मुक्ति पाएका हुन् ।

श्रीमानले दुव्र्यसन छाडेसँगै परिवारमा खुसीका दिन आएको तारा बताउँछिन् । उनी भन्छिन्, ‘पहिला म घरबाहिर जाँदा उहाँ गाली गर्नुहुन्थ्यो, महिला बाहिर निस्कन हुँदैन भन्नुहुन्थ्यो, तर अहिले आफैँले घरको काम गरेर मलाई गाउँमा हुने हरेक छलफल, गोष्ठी, समारोह र अन्य कार्यक्रममा पठाउनुहुन्छ ।’ उनले थपिन्, ‘पहिला घरबाट मात्र होइन, गाउँ–समाजले पनि महिला बिग्रन लागे, बढी जान्ने भए भन्नेजस्ता कुरा गर्थे । अहिले सबैले कुरा बुझेका कारण आफूहरूलाई सहज भएको छ ।’

श्रीमान् जाँडरक्सीको कुलतमा फसेका कारण दुःख पाउने कमला र तारा मात्र थिएनन् । मैनतडाकै खुसी नेपाली पनि दिनहुँजसो श्रीमान् दानसिंह नेपालीको कुटाइ खाएर दिन बिताउँथिन् । बिहानैदेखि दानसिंह गाउँ जाने, तास खेल्ने अनि साँझ घर आएर खुसीलाई कुट्ने गर्थे । दिनहुँको यस्तो कलहले छोराछोरीमा समेत नकारात्मक असर परेको थियो । खुसी भन्छिन्, ‘दिनहुँ रक्सी खाएर आएर कुट्नुहुन्थ्यो ।’ तर, खुसीको चतुर्‍याइँले गर्दा अहिले दानसिंहलाई नयाँ जीवन नै मिलेको छ । उनले सधैँका लागि कुलत छाडेका छन् । खुसी भन्छिन्, ‘अहिले त गाउँ पनि जानुहुन्न, घरको काममा सघाउनुहुन्छ, पहिले बुहारी भएर गाउँ जानुहुन्न, बाठो हुनुहुन्न भन्ने मेरो श्रीमान् अहिले आफैँ मलाई गाउँको हरेक क्रियाकलापमा पठाउनुहुन्छ ।’ दानसिंहले कुलत छोडेदेखि खुसीको परिवारमा खुसी छाएको छ ।

जिल्लाका धेरै महिला श्रीमान् दुव्र्यसनमा फसेका कारण पीडित छन् । पुरुषको जाँडरक्सीकै कुलतका कारण दिनहुँ महिला घरेलु हिंसाका घटनाहरू सहन बाध्य छन् । तर, मैनतडाका महिला भने आफ्ना श्रीमानलाई कुलतबाट छुटाउने अभियानमा छन् । सोही अभियानअन्तर्गत उनीहरू आफ्ना श्रीमानलाई जाँडरक्सीको कुलतबाट मुक्त गराउन सफलसमेत भएका छन् ।

महिला अधिकारको क्षेत्रमा कार्यरत सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम)ले सञ्चालन गरेको आधारशिला तालिममा सहभागी भएपछि महिलामा यो साहस आएको हो । वामको तथ्याङ्कअनुसार महिलाले दिएको प्रेरणा, सल्लाह, सुझाव र सम्झाइबुझाइ गरेकै कारण दुई सय ३५ जना पुरुषले जाँडरक्सी छोडेका छन् ।

वाम संस्थाका अध्यक्ष यामुना नेपालीले महिलाको सक्रियताका कारण पुरुषले जाँडरक्सी र धुम्रपानको कुलत छोडेको बताइन् । उनका भनाइमा महिलाले व्यक्तिगत तथा सामूहिक रूपमा दुव्र्यसनमा फसेका पुरुषलाई सम्झाइबुझाइ गरेर कुलत छोड्न प्रेरणा दिने गरेका छन् । आफूहरूले सञ्चालन गरेको आधारशिला तालिमले महिलाको मात्र नभएर पूरै गाउँ नैै परिवर्तन भएको उनको भनाइ छ । अज्ञानताका कारण पहिला हिंसा सहेर बसेका महिलाले अब आएर आफैँले नै घरमा श्रीमानलाई परामर्श दिएर कुलतबाट छुटाउन थालेको संस्थाले जनाएको छ । रिसले कुनै काम नगर्ने भन्दै यामुना भन्छिन्, ‘हरेक श्रीमतीले राम्रोसँग परामर्श दिएर सम्झाउन सके श्रीमानहरू कुलतबाट बाहिर आउन सक्छन् ।’

(सञ्चारिका फिचर सेवा)
(गीता, सुर्खेतकी पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: