सृजना अर्याल
चितवन । ‘पढ्न निकै धोको थियो, तर छोरीले पढ्नु हुँदैन भनेर पढ्नै दिएनन्’ उमेरले छ दशक नाघिसक्दा नारायणगढकी मायादेवी जोशीले यस्तो गुनासो गर्दै थिइन् ।
नारायणगढमा आयोजित महिला जेष्ठ नागरिक वक्तृवकला प्रतियोगितामा जोशीले आफ्नो विगत फरर भनिन् । रातो सारीमा सजिएर आएकी ६२ वर्षीया जोशीलाई डोर्याउँदै पोडीयमसम्म पु¥याएर हातमा माइक्रोफोन थमाउन नपाउँदै बोल्न सुरु गरिहालिन् । पढ्न नपाएकोमात्रै हैन उनले विवाहपछि पाएको कहर पनि सुनाइन् ।
नारी अभ्युदय केन्द्र नारायणगढले जिवन एक अनुभूति शिर्षकमा वक्तृवकला प्रतियोगिता आयोजना गरेर बृद्धाहरूका लागि यो मेसो जुटाइदिएको थियो ।
विवाहपछि चर्को बुहार्तन त छँदै थियो, त्यसमाथि लगातार २ छोरी जन्मेपछि घरपरिवारबाट धेरै तिरस्कार खेप्न प¥यो उनले, तरपनि भनिन् ‘छोरी नै सम्पति हो गहना हो ।’ सिलसिला मिलाएर उनको बोल्ने कला र प्रस्तुतिले प्रतियोगितामा पहिलो पनि भइन् ।
आफ्ना जीवनका भोगाइ र अनुभव साटेर क्षेत्रपुरकी ७२ वर्षकी धौमाया श्रेष्ठ दोस्रो र ६५ वर्षकी गंगा पोखरेल तेस्रो भए । वक्तृवकला प्रतियोगितामा ६० वर्ष देखि ८८ वर्ष उमेरसम्मका ३५ जना महिला जेष्ठ नागरिक सहभागी थिए ।
कार्यक्रममा धेरै महिलाले आफ्नो विगत सुनाए । रदपुरकी ७२ वर्षीया नन्दकला चापागाई १४ वर्षको उमेरमा आफू कान्छि श्रीमती भएर भित्रिएको केही समयपछि नै फेरी श्रीमानले तेस्रो विवाह गर्दा पाएको दुःखको वर्णन गरिन् । आफूहरूले भोगेका कडा वुहार्तनका कथा सुनाइरहँदा उनीहरूले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । अधिकासंका परेला ओस्सिएका थिए ।
कार्यक्रममा लामो समय प्राध्यापन पेशामा रहेकी साहित्यकार गायत्री श्रेष्ठ निर्णायकको भुमिकामा थिइन् । श्रेष्ठले स्नातकोत्तर पास गरेपछि विवाह गरेपनि नेवारी भाषा बोल्न नजानेकाले विवाहपछिका केहीवर्ष निकै समस्या झेलेको सुनाइन् ।
कार्यक्रमकी प्रमुख अतिथि समाजसेवी गौरीदेवी प्रधानले पनि विवाहपछि खाना पकाउन नजान्दा र घाँस दाउराको अनुभव नहुँदा भोग्नु परेको पीडाका बारेमा सुनाइन् । नेपाली काँग्रेसनिकट नेपाल महिला संघकी केन्द्रिय सदस्य प्रधान २००७ सालको आन्दोलनमा समेत सक्रिय थिइन् । उनले कमजोर भावले महिलालाई नहेर्न समेत सुझाइन् ।
उमेर ढल्कँदै जाँदा शारिरीक अवस्था कमजोर हुने हुनाले जेष्ठ नागरिकलाई सम्मानको भावनाले हेर्नुेपर्नेमा कार्यक्रममा बोल्ने अन्य बक्ताले जोड दिए ।
केन्द्र नारायणगढकी अध्यक्ष मन कुमारी सेनले जेष्ठ नागरिकका विचार र जिवन भोगाईबाट सिक्नुपर्ने जिवन उपयोगी कुराहरू वाहिर ल्याउने उद्देश्य प्रतियोगिताको रहेको बताइन् ।
Comment Here!