महिला खबर
दोलखा। जिल्ला कारागारमा कैद सजाय भोगीरहेका ६८ जना कैदी बन्दी मध्ये ३० जना जर्वजस्ति करणी अभियोगका रहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हाल कारागारमा रहेका मध्ये झण्डै आधा कैदी बन्दी बलात्कारका आरोपी छन्।
मानव अधिकार तथा सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको न्यायमा पहुँच सम्बन्धि मानव बेचविखन र यौन हिंसाको अवस्थाका बारेमा सरोकारवालाहरुसँग गरेको छलफलमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले यो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। गत आर्थिक वर्षमा जर्वजस्ति करणीका १४ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा मानव बेचविखनको घट्ना भने एउटामात्रै दर्ता भएको उहाँले बताउनुभयो। गैरसरकारी संसथाका तर्फबाट जिल्लाको खरीढुङ्गा, मागापौवा र किर्नेटारमा राखिएको जाँच केन्द्रबाट ३ सय ९४ जना बालबालिकाको उद्धार गरिएको तथ्याङ्क आएपनि प्रहरीमा भने जम्मा एउटामात्रै मानव बेचविखनको उजुरी दर्ता हुनु विडम्वना भएको महिला तथा बालबालिका कार्यालय दोलखाको प्रमुख लक्ष्मी ढकालले बताउनु भयो।
प्रतिष्ठानले दोलखाको भीरकोट र जफेमा न्यायमा पहुँच कार्यक्रम अर्न्तगत युवा निगरानी र बाल निगरानी समूह गठन गरी सामाजिक नक्साङ्कन मार्फत गाविसमा महिला तथा बालकालिकाको अवस्था, समस्या न्युनिकरणको उपाय र सरोकारवाला निकायसँग समन्वय गर्दै आएको जिल्ला संयोजक सर्मिला चौहानले बताउनु भयो।
त्यसैगरी समूहले घर दैलो कार्यक्रम अर्न्तगत पहिलो चरणमा ३ सय घर धुरीमा गई मानव बेचविखन तथा यौन हिंसा सम्बन्धि कानुनी प्रावधानको बारेमा जानकारी गराएको चौहानले जानकारी दिनुभयो। छलफलमा युवा निगरानी समूह जफेका सदस्य गणेश भण्डारीले भूकम्पपीडितले राहतको रकम बुझेपछि रक्सी पिउने र यसले घरेलु हिंसा बढेको भन्दै प्रहरीले विशेष निगरानी गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी भीरकोटका युवा निगरानी समूहका सन्तोष कार्कीले चेतनाको अभावले बालविवाह बढेकाले त्यस तर्फ सरोकारवाललाई सचेत गराउनुभयो।
Comment Here!