महिला खबर

पुरस्कार थाप्दै थारु महिला
बुटवल । रुपन्देहीको सैनामैना कुश्मागाउँका थारु महिलाले राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार पाएका छन् । समूह बनाएर विभिन्न उद्यमशील काममा लागेका महिलाले ७० हजार रुपैयाँको स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । पश्चिमाञ्चलका सबै समूहलाई जित्दै यी महिलाले पुरस्कार जितेका हुन् ।
साझेदारीमा सञ्चालित लघु उद्यम गर्ने र महिला सशक्तिकरणमा उत्कृष्ट काम गरेकाले उनीहरू पुरस्कृत भएको हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत अनन्त सिलवालले बताए ।
उनीहरूलाई कृषि राज्यमन्त्री राधिका तामाङ र हेफर ईन्टरनेश्नलका कार्यकारी निदेशक डा.तीर्थ रेग्मीले पुरस्कार हस्तान्तरण गरे ।
६ वर्षअघि जयदुर्गा महिला समूह गठन गरेर उनीहरूल सामूहिक उद्यम गर्दै आएका थिए । समूहमा आवद्ध २९ महिलामध्ये २८ जना थारु र एक जना मधेसी सदस्य छन् ।
निम्न वर्गका यी महिलाले सामूहिक च्याउ खेती गर्ने, प्रांगारिक मल बनाउने, व्यावसायिक तरकारी खेती र घाँस खेती गरी आफ्नो जीवनस्तरमा उल्लेख्य सुधार ल्याएका छन् । समूहकी अध्यक्ष शारदा शर्मा चौधरीले सामूहिक रुपमा काम गरेकाले सफलता हात लागेको प्रतिक्रिया दिइन् ।
Comment Here!