यमुना खनाल
लहान । लहान अस्पतालमा सरसफाई कर्मचारी भएपनि सरसफाई नहुँदा अस्पताल भित्र अत्यधिक फोहोेर हुने गरेको छ । अस्पतालका सरसफाई कर्मचारीले आकस्मिक कक्षसमेत सफा नगरेपछि बिरामी कुरुवा महिलाहरू आफैंले अस्पताल सफा गर्ने गरेका छन् । लहान अस्पतालमा स्वस्थ्य मान्छे पनि दिनभरी बसेर फर्किने हो भने बिरामी भएर फर्किनु पर्ने अवस्था रहेको उनीहरूले बताए ।
श्रीमान्को उपचार गराउन आएकी सिरहा कजरा जिझौलकी पवन देबीले अस्पतालको आकस्मिक कक्ष समेत दुर्गन्धित भएपछि सँधै आफूहरूले सफा गर्ने गरेको बताईन् । उपचार गराउन आएकी कटाहाकी फुल कुमारी यादब भन्छिन् ‘अस्पताल दुर्गन्धित हुन्छ, आफैंले सफा नगरे बिरामी भईन्छ सफा नगरेर के गर्ने ?’
अस्पतालका शौचालयहरू प्रयोग गर्न सकिने अवस्थामा छैनन् । अस्पताल भित्र पस्नेवित्तिकै शौचालय गनाएर नाक थुन्नु पर्ने अवस्था छ ।
१५ शैयाको लहान अस्तालमा नीजि श्रोतबाट ५० शैया भन्दा बढी सेवा दिईरहेकाले समस्या भएको अस्पताल प्रशासन बताउँछ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुुनिल कुशवाहा सरसफाई कर्मचारी भएपनि अटेर गरेर राम्ररी काम नगर्ने हुँदा अस्पताल फोहोर भएको बताउँछन् । अस्पताललाई सुधार गर्न खोज्दा केही समय अगाडी आफूमाथि कर्मचारीबाटै हुलहुज्जत भएकाले काम लगाउन नसकिने लाचारी उनले देखाए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट काज सरुवा लिएर गएको र अस्पताल बिकास समितिका अध्यक्ष आठ महिनादेखि बिरामी भएर अस्पताल आउन नसक्दा कर्मचारीले बिभिन्न क्षेत्रको संरक्षणमा अटेर गर्ने गरेकाले सेवाग्राहीलाई सास्ती खप्नु परेको उनको भनाइ छ ।
Comment Here!