महिला खबर
म्याग्दी । व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिले म्याग्दीमा महिला उद्यमीशीलताको अवस्थाबारे छलफल गरेको छ ।
उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँचजना सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्थाका बारेमा छलफल गरेको हो ।
म्याग्दी, पर्वत र कास्कीमा महिला उद्यमीले सञ्चालन गरेका उद्योगका अवस्था, उद्योग सञ्चालनका क्रममा आइपरेका नीतिगत समस्या र सम्भावनाका विषयमा छलफल र निरीक्षण गरी टोलीले संसद् र उद्योग मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाएको छ ।
टोलीले बेनी नगरपालिका हाडेभिरस्थित साझा सुविधा केन्द्रमा सञ्चालित हिमाली अल्लो कपडा उद्योग र गणेशटोलमा लद्युउद्यमीले उत्पादन गरेका सामान बिक्रीका लागि सञ्चालित सौगात कोसेली घरको निरीक्षण गरेको थियो ।
यसक्रममा उद्यमीहरूले दर्ता प्रक्रिया सहज बनाएर सबै लद्युउद्यमीलाई कानुनी दायरामा ल्याउनुपर्ने र सहुलियत ब्याजदरमा ऋण पाउने नीतिगत व्यवस्था र प्रविधिमा सहयोग गर्न टोलीलाई सुझाव दिएका छन् ।
टोलीलाई घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मीरादेवी अधिकारीले म्याग्दीमा लघुउद्यमको अवस्था र सम्भावनाका विषयमा जानकारी गराउनुभएको थियो । करिब १० वर्ष म्याग्दीमा सञ्चालन भएको लघुउद्यम विकास कार्यक्रम मार्फत दुई हजार ३८ जनाले विभिन्न सीप तथा आयआर्जनमूलक तालिम लिएका छन् ।
तालिम लिएकामध्ये हाल एक हजार ३०७ जना मात्रै सक्रिय रहेको जिल्ला लघुउद्यमी समूह सङ्घको तथ्याङ्क छ । स्थानीय सीप, स्रोत र साधनमा आधारित साना उद्योगको म्याग्दीमा प्रशस्त सम्भावना भएपनि व्यावसायिक रुपले अघि बढ्न लगानी र पुँजीको अभाव भएको लघुउद्यमीले बताएका छन् ।
Comment Here!