प्रकाश सिंह

कोल्टी जैलुकी१८ वर्षीया विमला बोहोरा महिनावारी भएपछि छाउगोठमा
बाजुरा । कोल्टी जैलु बस्ने १८ वर्षीया विमला बोहोरा महिनावारी भएका बेला छाउगोठ बस्न लागेको तीन वर्ष भयो । कक्षा १२ मा पढिरहेकी विमला घरमा बस्दा देउता रिसाउने अन्धबिश्वासका कारण महिनावारी भएका बेला सातदिन गोठमा बस्ने गरेको वताईन् ।
चारैतिर सिस्नोको झाडी, खहरे खोलाको छेउमा उनी बस्ने छाउगोठ छ । त्यो छाउगोठमा महिनाको सात दिन उनले विताउनुपर्छ । बिमला गाउँकी अलि जान्ने र पढेकी किशोरी हुन् । उनी आफै छाउपडी गोठमा बस्नु हुँदैन् भनेर अरुलाई भन्छिन्, विद्यालयमा पनि छाउ गोठमा बस्नु हुँदैन् भनेर पढेकी र सुनेकी पनि छन्, तर उनी आफैँ भने छाउगोठमा बस्न बाध्य छिन् ।
‘अरुलाई छाउपडी गोठमा बस्नु हुदैन भनेपनि घरमा भने आफू देउता रिसाउने अन्धविश्वासका कारण गोठमा बस्न बाध्य छु’ उनले भनिन् ।
सोही गाउँकी सुनतकली बोहोरा गाउँकी सामाजिक अगुवा महिला हुन्, गोठमा बस्नु हुँदैन भनेर अभियान चलाउँछिन्, तर उनी आफूपनि छाउगोठमा बस्ने गरेको बताइन् ।
समाजले घरमा बस्दा देवीदेउता रिसाउने अन्धबिश्वासले बाध्य भएर गोठमा बस्ने गरेको उनको भनाइ छ । कोल्टीलाई एक गैरसरकारी संस्था र गाबिसको पहलमा छाउपडी मुक्त घोषणा गरिएको हो । कागजमा घोषणा भयो, तर गोठमा बस्दै गरेका छौ, सोही गाविसकी स्वास्थ्य स्वयंसेविका बिस्नकला विकले वताईन् ।

विमलालाई महिनावारी भएपछि उनका आफन्त टाढाबाट पानी दिँदै ।
गोठमा बस्दा सर्प, किरा, फट्याङ्गरा र बस्ने राम्रो र सफा नहुँदा बिभिन्न संकट बेहेर्नु परेको आठ कक्षामा अध्ययनरत शुशिला बोहोरा वताउँछिन् । ‘महिनावारी भएको बेला गोठमा बस्ने चिन्ताले निकै सताउँछ, नबसौं कही केही होला भन्ने चिन्ता हुन्छ, बाध्य भएर बस्नुपर्छ’ उनले थपिन् । महिनावारी भएका बेला घरमा बस्दा देवीदेवता दोष छ भन्ने परम्परागत मान्यताले गोठमा बस्दै आएको मोतीकला बोहोराले वताईन् ।
शिक्षित महिला, स्वास्थ्यकर्मी र अधिकारकर्मी नै छाउगोठमा बस्ने गरेका छन् ।
‘गोठमा बस्नु हुँदैन भनेर प्रचार गर्नेहरू आफै गोठमा बस्ने गरेका छन्, परिर्वतन भएको भनेर देखाउँछन्, तर वास्तविकता पुरानै छ’ स्वास्थ्यकर्मी धनी थापाले वताईन् । स्वास्थ्यकर्मीलाई त गोठमा बस्नु हुँदैन, पर्दैन भन्ने थाहा छ, तरपनि गोठमा बस्ने गरेको उनले थपिन् ।
जिल्लामा सात वटा गाबिस छाउपडी गोठ मुक्त भएका छन् । बुढीगंगा, जयबोग्शवरी, बाह्रबिस, कुल्देबमाडाैं, कैलाशमाडौं, आटिचौर, बह्रमतोला गाबिस र अन्य गाविसका केही वडाहरू छाउपडी गोठ मुक्त भईसकेका छन् ।
छाउपडी गोठ मुक्त अभियानका लागि जिल्लामा सरकारी तथा गैर सरकारी संस्थाले थुप्रै खर्च गरिरहेको महिला तथा वालवालिका कार्यालय बाजुराले जनाएको छ । छाउपडी गोठ मुक्त अभियानका लागि चेतना फैल्याउन भन्दै साहस, एचआरसि, पिसवीन, युनिसेफ, सेभ द चिल्ड्रेनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले काम गरिरहेका छन् । त्यस्तै महिला तथा वालवालिका कार्यालय, जिल्ला विकास समिति र गाविसले समेत यो अभियानमा रकम खर्च गरिरहेका छन् ।
Comment Here!