महिला समानताको कुरा अधिकारमामात्र हैन संस्कार र संस्कृतिमा समेत हुनुपर्छ परम्परागत संस्कार संस्कृतिमा महिलापुरुष बीच समानताको अभियान सुरु भए अधिकारमा समानताको कुरा स्वतः स्थापित हुन्छ।
सर्मिला बुढाथोकी

श्रीमतीकाे बरखीमा रहेका वाशिष्ठगुरु भण्डारी
दोलखा। सामान्यतया हिन्दुहरूमा श्रीमानकाे मृत्युपछि श्रीमतीले काजक्रिया गरेर जिन्दगीभर सेतो लुगा लगाउने चलन छ। श्रीमानको मृत्युपछि श्रीमतीले वर्ष दिनसम्म चोखो खाने, पुजा आजा गर्न नहुने, धार्मिक परम्परा अनुसार बरखी बार्ने चलन नौलो होईन। तर यहीनेर श्रीमतीको मृत्युपछि श्रीमानले मरेका पाँचदिन नुनमात्रै नखाए पुग्छ। अरु केहीपनि गर्नुपर्दैन। बरु धेरैजसोलाई श्रीमतीको मृत्युको १३ दिनपछि नै अर्को विवाह गर्नतिर लाग्ने गरेको आरोप लाग्दै आएको छ। त्यसैले श्रीमतीको मृत्युपछि श्रीमानले बरखी बारेको घटना हाम्रो समाजमा विरलै सुन्ने गरिन्छ।
झन् श्रीमतीकै नाममा वर्ष दिनसम्म सेतो कपडा लगाएर परम्परा अनुसार तिथी श्राद्ध समेत श्रीमानले गर्नु भनेको त यो समाजको लागि विल्कुलै अनौठो हो। समाजको यो चलनलाई र परम्परागत मान्यतालाई चिर्दै दोलखा मेलुङका वाशिष्ठगुरु भण्डारीले आफ्नी श्रीमतीको बरखी बारिरहेको छन्।
श्रीमतीको मृत्युपछि उनी सेतो पहिरनमामात्र छैनन्, विधिपुर्वक जुठो समेत बारिरहेका छन्। ३७ वर्ष अघि वैवाहिक जीवनमा बाँधिएका भण्डारीले गत भदौमा आफ्नी ५५ वर्षीया श्रीमती इन्दिरा वाशिष्ठ भण्डरीलाई गुमाए। १३ दिनसम्म उनले धार्मिक परम्परा अनुसार सम्पूर्ण विधि सम्पन्न गरे।
अहिले उनी सेतो पहिरनसहित विधिपुर्वक जुठो समेत बारिरहेका छन्। भण्डारी भन्छन्– ‘श्रीमतीकोे सम्मानमा सेतो पहिरन लगाएको हुँ, यसले समानतासँगै नारीको सम्ममान गर्नुपर्छ भन्ने भावना सबैमा विकास गर्छ भन्ने विश्वास लिएको छु। हुन त आजभोली बाबुआमाको तिथी श्राद्ध नगर्नेहरू पनि धेरै छन, तर परम्परा प्रति आस्था राख्नेहरूले श्रीमतीको बरखी बार्दा पनि कुनै असर गर्दैन।’
कुनै बाध्यताका कारण श्रीमतीको नाममा बरखी बार्ने र विधिपुर्वक जुठो बार्नेकाम उनले गरेका हैनन्। उनका ६ जना छोरी र एक छोरा छन्। भण्डारीका छोराले पनि आमाको काज किरिया र विधि पुर्वक जुठो समेत बारी रहेका छन्।
‘श्रीमानको अगाडि मृत्यु हुँदा श्रीमतीले पतिब्रता भएर सबै विधि पुरा गर्छन, मेरो श्रीमतीको अगाडि मृत्यु भएकोले मैले पत्नीब्रता बनेर सबै विधि गरिरहेको छु’ भण्डारीले भने। १७ वर्षीय छोरा काठमाडौंमा अध्ययन गरिरहेको र आमाको तिथी श्राद्ध गर्न छोराले नभ्याउँदा मासिक आफैँले गर्ने गरेको भण्डारीले बताए।
जिल्ला हुलाक कार्यालय दोलखामा नासु सुब्बामा कार्यरत भण्डारी विगत देखिनै नागरिक अधिकार र लैंगिक समानताको विषयमा सक्रिय छन् जसको पुष्टि उनको यो पछिल्लो अभियानले गरेको छ।
महिला अधिकारको कुरा चलिरहेको यो बेला समानता अधिकारमामात्र हैन संस्कार र संस्कृतिमा समेत हुनुपर्ने भण्डारीको धारणा छ। परम्परागत संस्कार संस्कृतिमा समेत महिला पुरुष बीच समानताको अभियान सुरु गरिने हो भने अधिकारमा समानताको कुरा स्वतः स्थापित हुने भण्डारीको विश्वास छ।
आफ्नो गुरु खिलहरी पौड्यालले पनि श्रीमतीको मृत्यु हुँदा सेतो पहिरन लगाएर बरखी बारेको देखेकाले त्यसैको प्रेरणामा आफूले पनि श्रीमतीको सम्मानमा सेतो पहिरन लगाएर बरखी बारेको भण्डारीले बताए। उनले भने – यो कुनै नौलो अभियान हैन हिन्दु धर्मले निर्दिष्ट गरेको संस्कार हो।
Comment Here!