बेलिना थापा
लमजुङ । सैनिक श्रीमती संघको सहयोगमा लमजुङमा एक सामुदायिक विद्यालय निर्माण गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त बेलघारीमा रहेको रत्न प्राविको विद्यालय भवन निर्माण गरिएको हो । संघले आफ्नै स्रोत र साधनमा निर्माण गरेको बिद्यालय बिहीबार समुदायलाई हस्तान्तरण गरेको छ ।
नवनिर्मित ६ कोठे भूकम्प प्रतिरोधी बिद्यालय भवनको बिहीबार एक समारोहका बिच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री र सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै सैनिक श्रीमती संघका अध्यक्ष रीता क्षेत्रीले सानो सहयोगले बालबालिकाको भबिष्य उज्जवल बनाउन मद्दत मिल्ने बताउनुभयो । २०४० सालमा स्थापना भएको सैनिक श्रीमती संघले बाढी पहिरो र भूकम्पलगायतका प्रकोपबाट पीडितलाई सहयोग गर्दै आएको क्षेत्रीले बताउनुभयो । संघले काठमाडौंमा गरेको सांस्कृतिक कार्यक्रमबाट आएको १४ लाख रुपैयाँ बस्ती पुननिर्माण र ऐतिहासिक धरहरा पुननिर्माणका लागि सहयोग गरेको जानकारी दिनुभएको थियो ।
भारते, अर्चलबोट र भोटेवडारका विद्यार्थीले अध्ययन गर्दै आएको सो विद्यालय पुननिर्माणपछि स्थानीय खुशी भएका छन् । पहिरोका कारण बेलघारी बजारका थुप बस्ती सरेपछि विद्यालयमा हाल ४० जना विद्यार्थीमात्रै अध्ययनरत छन् । कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालय निर्माणका लागि नेपाली सेनाको पशुपति प्रसाद गण र लायन्स क्लबको समेत सहयोग रहेको छ ।
Comment Here!