अमेरिकी चुनावमा महिला मुद्दा


प्रकाशित मिति :2016-10-28 10:56:24

संयुक्त राज्य अमेरिकामा आउँदो नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावमा महिला अधिकारको विषय सम्भवतः पहिलोपटक निकै पेचिलो बनेको छ। यसपालि निर्णायक मतदाता महिला नै हुने ठानिएको छ। तर पारिश्रमिक र रोजगारीमा लैंगिक विभेद, प्रजनन् अधिकार, लैंगिक हिंसाजस्ता अमेरिकी महिलाका वास्तविक मुद्दामा खासै बहस हुन सकेको छैन।

संयोग कस्तो परेको छ भने पहिलोपटक महिला राष्ट्रपतिको प्रबल दावेदारका रुपमा डेमोक्र्याटिक पार्टीकी हिलारी रोधम क्लिन्टन भिड्दैछिन्। अर्कोतिर उनका प्रतिस्पर्धी  रिपब्लिकन पार्टीका डोनल्ड जे. ट्रम्प महिलाकै कारण अत्यधिक विवादमा मुछिएका छन्।

गम्भीर मुद्दा

महिलालाई अवसर दिलाउने मामिलामा अमेरिका अगाडि रहे पनि महिलाका केही गम्भीर मुद्दाहरु अझै सम्बोधन हुन सकेका छैनन्। रोजगार क्षेत्रमा अहिले पनि महिलालाई प्रवेश गर्न र माथिल्ला पदहरूमा पुग्न समस्या छन्।

महिला मुद्दा उठाउनुको आवश्यकता स्पष्ट पार्दै हिलरीले आफ्नो वेबसाइटमा भनेकी छन्, ‘जुन कुराले महिलालाई राम्रो गर्छ, त्यसले अन्ततः अमेरिकालाई पनि राम्रो गर्छ भन्ने मेरो दृढ विश्वास छ।’

पारिश्रमिकमा देखिएको लैंगिक विभेद अन्त्य गर्ने प्रतिबद्धता हिलरीको छ। न्यूनतम पारिश्रमिक वृद्धि उनको अर्को मुद्दा हो। अमेरिकामा न्यूनतम पारिश्रमिकमा काम गर्ने कामदारमध्ये दुई तिहाइ संख्या महिलाको छ।

त्यसमा वृद्धि गर्नसके पारिश्रमिकमा देखिएको लैंगिक खाडल पुर्दै लाखौं महिलालाई गरीबीबाट बाहिर निकाल्न सकिने हिलरीको दावी छ।

तलबी बिदा, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा, महिलामाथि हुने हिंसा अन्त्य, सामाजिक सुरक्षाको संरक्षण र अभिवृद्धि, महिलाको स्वास्थ्य र प्रजनन् अधिकार संरक्षणजस्ता मुद्दालाई हिलरीले प्राथमिकतामा पारेकी छन्।

अमेरिकामा मात्रै नभइ संसारभरिकै महिलाको अधिकार प्रवर्द्धनका लागि काम गर्ने उनको अर्को प्रतिबद्धता छ।

ट्रम्पले भने महिलाका विषयलाई खासै महत्व दिएका छैनन्। उल्टै महिलाको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका छन्।

कार्यस्थलमा बालस्वास्थ्य सेवा उपलब्ध गराउन रोजगारदातालाई प्रोत्साहनस्वरुप सहुलियत दिने र सुत्केरी महिलालाई छ साताको तलबी बिदा दिने विषय भने उनले समेटेका छन्।

प्राथमिकता

अर्को दशकभरि साढे २ करोड नयाँ रोजगारी सिर्जना गर्ने गरी अर्थतन्त्र मजबुत बनाउने घोषणा गरेका ट्रम्पको प्राथमिकता नै आर्थिक र आप्रवासी मुद्दा हुन्।

पछिल्लो समय महिला सरोकारका विषयभन्दा उम्मेदवार र उनका परिवारलाई महिला र यौनसँग जोडेर सञ्चारमाध्यममा भएका बहसप्रति असन्तुष्टि बढ्न थालेका छन्। महिला सरोकारका विषयमा बढी प्रश्नहरू सोध्न सञ्चारमाध्यमलाई पनि दबाब पर्न थालेको छ।

द न्यूयोर्क टाइम्सले जनाएअनुसार ‘अक्रस विमन्स लाइभ्स’ र ‘दि फुलर प्रजेक्ट फर इन्टरनेशनल रिर्पोटिङ’ लगायतका महिला सञ्चारसम्बन्धी संस्थाले अभियान नै चलाएका छन्। उनीहरूले सामाजिक सञ्जाल ट्वीटरमा ‘आस्क अबाउट विमन’ ह्यासट्याग राखेर बहस थालेका छन्।

महिलालगायत मुस्लिम र हिस्प्यानिक भनिने स्प्यानिश बोल्ने ल्याटिन अमेरिकी मूलका अमेरिकी अल्पसंख्यक समूहहरूप्रति ट्रम्पको राम्रो धारणा देखिंदैन।

अपाङ्गलाई उडाएको विषय होस् वा पूर्व ‘मिस युनिभर्स’ एलिसिया मचाडोलाई उनको तौल र आवरणलाई लिएर बङ्गुरको अनुहार भएको चलचित्रको कार्टुन पात्र ‘मिस पिगी’भनी गरेको टिप्पणी, यी अमेरिकी राष्ट्रपतिको दावेदारलाई सुहाउने कुरा नभएको आलोचकहरुको भनाइ छ।

चर्चित टेलिभिजन अनुहार समेत रहेका घरजग्गाका ठूला व्यापारी ट्रम्पको सन् २००५ को एक भिडियो सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिए।

उक्त भिडियोमा उनले महिलाहरुप्रति आफ्नो यौन व्यवहारलाई लिएर आपत्तिजनक टिप्पणी गरेका छन्। आफूले चाहेमा जोसुकै महिलालाई जे पनि गर्न सक्ने र चर्चित व्यक्ति भएकाले महिलाहरुले पनि त्यसो गर्न दिने गरेको उनले भिडियोमा उल्लेख गरेका छन्।

तीव्र आलोचना भएपछि ट्रम्पले माफी माग्दै ‘कोठाभित्रको गफ’ भएकाले गम्भीरतापूर्वक नलिन आग्रह गरे। तर महिलामाथि कहिल्यै दुर्व्यवहार नगरेको ट्रम्पको दावी सेलाउन नपाउँदै उनले थप झट्का बेहोर्नु परेको छ।

आरोप

केही सातायतामात्रै झण्डै एक दर्जन महिला ट्रम्पले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगाउँदै सञ्चारमाध्यममा खुलेर आएका छन् ।

हिलरीका पति पूर्व राष्ट्रपति बिल क्लिन्टनका यौन विवादका मुद्दा चर्काउने रणनीति ट्रम्पका लागि प्रत्युत्पादक सावित भएको देखिन्छ।

यद्यपि ट्रम्पले ती आरोप अस्वीकार गर्दै आएका छन्।

ट्रम्पको चुनावी अभियानमा यौन दुर्व्यवहारसम्बन्धी आरोपको ठूलै भेल आएको छ, जसलाई थेग्न उनलाई हम्मे हम्मे परेको छ।

त्यसो त ट्रम्पका कट्टर समर्थक रहेका, खासगरी श्रमजीवी वर्गका मतदाताहरु यस्ता आरोपले ट्रम्पप्रतिको आफूहरुको धारणामा कुनै परिवर्तन नआउने बताउँछन्। उनीहरू धेरै पुराना कुरालाई यतिबेला कोट्याउनुको तुक नरहेको र ती सबै विपक्षी र सञ्चारमाध्यमले रचेको झुटो प्रचार ठान्छन्।

ट्रम्पको विवादास्पद छविका कारण केही रिपब्लिकन नेताहरुले उनको साथ छोड्न थालेका छन्। त्यस्तै तटस्थ मतदाता, खासगरी महिलाहरू  हिलरीतिर खिचिंदै छन्।

ट्रम्प यो हिमपहिरोबाट बाहिर निस्कन नसके उनको राजनीतिक यात्रा पनि त्यसैमा पुरिने कतिपयको भनाइ छ। खासगरी महिला मतदातालाई विश्वासमा नलिएसम्म ‘श्रमजीवी वर्ग’का मतदाताले मात्रै उनलाई उद्धार गर्न सक्ने देखिंदैन।

(केही अघिसम्म कान्तिपुर दैनिकसँग आबद्ध रहेकी पत्रकार धिताल हाल न्यूयोर्क स्टेट, अमेरिकामा बसोबास गर्दछिन्।)

बीबीसीबाट साभार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: