यमुना खनाल

छोराछोरीसँगै गीता र प्रकाश मल्लिक
सिरहा । धनगडी नगरपालिका प्रकाश मल्लिक र गाीता मल्लिकलाई आफूहरूको विवाह कहिले भएको थियो थाहा छैन । विवाह गर्दा मल्लिक दम्पत्तिलाई विवाह भनेको के हो ? त्यो पनि थाहा थिएन । आफूले विवाह गरेको श्रीमान् कस्ता छन् ? आठ वर्षपछिमात्र देखिन् गीताले । प्रकाशले पनि आफ्नी श्रीमतीलाई आठ वर्षपछि नै देखे ।
तराईमा बसोबास गर्ने डोम समुदायमा छ महिना देखि दश वर्ष उमेरका केटाकेटीको विवाह गर्ने चलन अहिले पनि कायमै रहेको डोम समुदायका अगुवा रामचन्द्र मरिक बताउनु हुन्छ । ‘जन्मेको छ महिनादेखि नै आमा बाबुले छोरा छोरीको जोडा खोज्छन् , आमा बाबुकै निर्णयमा सानै उमेरमा विवाह पनि गरि दिन्छन्’ मरिक भन्छन् । विवाह गर्दा प्रकाश दश वर्षका थिए भने गीता आठ वर्षकी ।
प्रकाश र गीता श्रीमान् श्रीमतीले एक अर्कालाई विवाह भएको आठवर्षपछि मात्र देखे । विवाह भएको आठ वर्षपछि दुरागमन भयो । प्रकाशले गीतालाई आफ्नो घरमा ल्याए । ( सानैमा विवाह गरिदिने अनि आठ दश वर्षसम्म केटाकेटी आआफ्नैघरमा बसेपछि फेरी विवाहको जस्तै साईत जुराएर दुलहीलाई दुलाहाले आफ्नो घर ल्याउनुलाई दुरागमन भनिन्छ )
प्रकाश अहिले २३ वर्षका भए भने गीता २० वर्षकी । गीताले १५ वर्षको उमेरमा पहिलो सन्तान जन्माईन् । उनीहरूका अहिले पाँच वर्षकी एक छोरी र तीन वर्षका एक छोरा छन् । शारीरिक परिपक्वता बिना नै आमा बनेकाले गीता सहजै सुत्केर िहुन सकिनन् । गीतालाई डाक्टरले कम उमेरमा नै बच्चा जन्माएकोले आमा र बच्चा दुबैलाई खतरा छ भने । भाग्यबस जीबनमरणको दोसाँधबाट डाक्टरको प्रयासले गीता र छोरीलाई बचाए ।
गीता भन्छिन् ‘आफै बच्चा थिएँ, बच्चाले बच्चा जन्माउन गाह्रो त भई हाल्छ नि केही थाहा थिएन ।’ सानैमा विवाह गर्ने चलन नराम्रो भएको गीता बताउँछिन् । प्रकाशले पनि श्रीमतीका कुरामा सहमति जनाउँदै भने, ‘अब परम्परा जे भएपनि हामी हाम्रा छोराछोरीको विवाह उमेर पुगेपछिमात्र गरिदिन्छौं ।’
उनी भन्छन् , ‘ विवाह आफूले मन पराएको र मन मिल्नेसँग गर्ने हो, हामीले एक अर्कालाई त आठ वर्षपछिमात्र देख्यौं, विवाह त परिपक्व भएपछि गर्ने हो, हाम्रो त खेल्ने उमेरमै विवाह भयो । ‘आमा बाबुले हेरेर विवाह गर्दा छि केटा केटीले मन पराएनन् भने दुबैको जिन्गदी बर्बाद हुन्छ ।’
सानैमा तेरो विवाह भईसक्यो भन्दा आफूलाई तनाब हुने गरेका उनले सुनाए । श्रीमती देखेको छैन ,जिन्दगी कट्छ कि कट्दैन, कस्तो छ ?मन पर्छ पर्दैन ? धेरै चिन्तामा बस्नु परेको उनी बताउँछन् ।
डोम समुदायमा मात्र होईन बालविवाह अन्य समुदायमा पनि छ । तर डोम समुदायको परम्परा नै हो भने अन्यको चाहि अन्य कारण बाल विवाह हुने गरेको देखिन्छ ।
प्रकाश र गीताको जस्तै लहान नगरपालिकाकी एक बालिकाको ७ कक्षामा पढ्दै गर्दा १४ वर्षको उमेरमा विवाह भयो । आमा बाबुले खान्दानी घरको केटा, धन सम्पत्ति धेरै छ, छोरीलाई सुख हुन्छ ,पढेको पनि छ भनेर सानै उमेरमा विवाहको कुरा अघि बढाए ।
केटीले पढ्दै गरेकाले पढे लेखेरमात्र विवाह गर्ने, अहिले नै नगर्र्ने जवाफ दिईन् । उनलाई दाजुले पनि साथ दिए । सानैमा बहिनीको विवाह नगरि दिन अनेक आग्रह गरे । तर आमाबाबुले तेरो बहिनीमात्र हो,त आफ्नो छोरीको निणर्य गर, हाम्रो छोरीको हामी आफै निर्णय गर्छौ भन्दै कड्किए । आमा बाबुको अघि उनीहरूको केही चलेन ।
केटा पक्षले विवाहपछि माईतीमै बसेर जति पढ्यो त्यतिसम्म पढाउने भनेर परिवारलाई फुस्ल्यायो । यतिमात्र होईन केटाले धेरै पढेको र सम्पन्न छ भनेर परिवारलाई जालमा पार्यो । उनले विवाह नगरी सुख पाईनन् । उनी विवाह गर्न बाध्य भइन् ।
विवाह भएको एकदुई महिनासम्म परिवारले अति नै माया गरे । ससुराले त झन् धेरै माया गरेको देखेर उनी दंग थिईन् । तर यो खुशी धेरै दिन टिक्न सकेन । ससुराको माया त फाईदाका उठाउन देखावटी रहेछ । ससुराले बुहारीलाई माईत पठाएर छोरालाई बिदेश पठाई दिए । माईतैबाट एसएलसी पास गर्नु भनेर पठाएका ससुरा छोरालाई बिदेश पठाएपछि घरैबाट पढ्नु भन्दै लिन पुगे ।
त्यसपछि उनी घर आईन् । एक दुई महिनासम्म स्कुल पनि गईन् । त्यसपछि उनलाई ससुराले नराम्रो नजरले हेर्न थाले । स्कुल जाँदा सरसँगै लागेकी छस भन्दै चरित्र माथि आरोप लगाए । स्कुल जानुपर्दैन भनेर दिनहुँ झगडा हुन थाल्यो । उनले बुहारीमाथि यौन शोषण गर्ने पटक पटक प्रयास पनि गरे, तर उनको प्रयास सफल हुन दिईनन् बुहारीले ।
ससुराले गरेको हर्कतबारे उनले आफन्त र समाजमा भनिन् । दर्जनौ पटक समाजमा पन्चायती पनि भयो । ससुराले पन्चायतीमै कान पक्डेर माफी पनि मागे । तर ससुराले घिन लाग्दो हर्कत दोहोर्याई रहे ।
ससुराले आफूमाथि गरेको व्यवहारबारे उनले फोन गरेर श्रीमानलाई भनिन् । श्रीमान्ले आफू घर नफर्कन्जेल माईती मै बस्न भनेऽ तर बिदेशबाट आएपछि उनले बाबुको कुरा सुने र लिन गएनन् । श्रीमान आएको थाहा पाएपछि उनी घर गईन । घर जाने बित्तिकै उनलाई दिएका गरगहना श्रीमान्सहित परिवारले खोसे । गाली गलौज गरेऽ खान दिएनन् । उनले त्यो पनि सहेर बसिन् ।
तर उनीमाथिको अन्याय यतिमै रोकिएन । उनलाई त झुक्याएर भारत लैजान लागिएको रहेछ । यो रहस्य थाहा पाएपछि उनी माईती आईन् । परिवारलाई सबै कुरा बताईन् । त्यसपछि उनले अदालतमा सम्बन्ध बिच्छेदको निबेदन दिईन् । दुई वर्ष अघि अदालतले सम्बन्ध बिच्छेद पनि गरिदियो । अहिले उनी माईती मै बस्दै आएकी छन् । उनका ससुराले आफ्नो सम्पत्ति जति अशिंयार बाहेकका आफन्तका नाममा नामसारी गरिसकेकाले उनले अंश पाईनन् ।
‘छोरीको राम्रो भविष्यका लागि भनेर पढिरहेकी छोरीको सानैमा विवाह गरिदियौं, तर आफ्नै आँखा अगाडी छोरीले यसरी पीडा भोगेको देख्दा अहिले आफूहरूलाई जिउँदै मरे जस्तो लाग्छ’ पछुताउँदै उनकी आमाले भनिन् ।
१८ वर्षकै उमेरमा छोरीको घरबार उजाडियो । यसको दोषी आफूहरू भएपनि परिणाम छोरीले भोग्नु परेकोमा उनीहरूलाई असह्रय भएको छ । समयमै बुद्धि नपुर्याउँदा अहिले पाठ सिकेंर पछुताउनुबाहेक अर्को बाटो नरहेको उनकी आमा भन्छिन् ।
सिरहाको अर्नामा प्रपि गाबिसको एउटा टोलमा यो वर्षमात्रै १० वटा बाल विवाह भएका छन् । बालविवाह न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको अधिकारकर्मी बिनोद बिसुन्के बताउछन् । शिक्षा र चेतना नभएकालेमात्र होईन ,शिक्षित र पढेलेखेकाबाटै बालविवाह भइरहेकाले नियन्त्रण चुनौतीपूर्ण रहेको बिसुन्कको अनुभव छ ।
दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक समेत रहेका बिसुन्केले आफ्नो संस्थाले बढी बालविवाह हुने डोम समुदायमा यसबारे जनचेतना बढाउन जिल्ला भरीका डोम समुदायलाई संगठित गरी परिचालन गर्ने, सबै धर्मका धर्मगुरुहरुबाट बालविवाह बारे प्रष्ट गर्ने तयारी गरिरहेको बताए ।
बालविवाह भईरहेपनि नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक श्याम ज्ञवली बताउँछन् । बालविवाह गैरकानुनी भएपनि सबै तयारी भईसकेपछिमात्रै प्रहरीलाई थाहा हुने हुँदा प्रहरीले रोक्न नसक्ने उनको तर्क छ । बालविवाह न्युनिकरण लागि कागजमा लेखेको कानुन भन्दा समाज नै अग्रसर बन्नुपर्ने ज्ञवाली बताउछन् ।
Comment Here!