महिला खबर
काठमाडौं। रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन यसवर्ष पनि गर्न नपाइने भएको छ । पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले उक्त दर्शन गर्न नपाउने भएका हुन् ।
हरेक वर्ष भाइटीकाको दिनमात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए । भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा मन्दिर वरपरका पर्खाल आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिएको थियो ।
गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने काम भइरहँदा पुरातत्व विभागले मापदण्ड विपरीत पुनःनिर्माण भएको जनाउँदै भदौ १३ गतेदेखि तत्काल पुनःनिर्माण रोक्न निर्देशन दिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम हुन नसकेकाले सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ, गत वर्ष पनि यसरी नै टीका लगाइएको हो ।”
Comment Here!