सर्मिला बुढाथोकी
दोलखा । दोलखा भीमेश्वर नगरपालिकाकी ९३ वर्षीया जानुका पाण्डेलाई विहान १० बज्नुअघि नै चरिकोटस्थित कृषि विकास बैङ्को गेटमा भेटियो । जीवनको अन्ततिर एक्लो जीवन विताईरहेकी पाण्डेको गुजारा सरकारले दिएको बृद्ध भत्ताबाट भै रहेको छ ।
‘जीवनको यो क्षणमा न सहारा छन्, न आम्दानीका कुनै श्रोत नै त्यसैले सरकारले दिएको भत्ता मेरा लागि सहारा र सबैकुरा भएको छ’ पाण्डेले भनिन् । बृद्धा पाण्डेलाई पैसा लिन सदरमुकामको बैङ्कसम्म आईपुग्न भने निक्कै समस्या हुने गरेको रहेछ । बृद्धा भत्ता दिएर सरकारले हामीजस्तो सहाराविहिन बृद्धबृद्धालाई बाँच्ने आघार त दिएको छ, तर पैसा लिन सहज नभएकोले समस्या हुन्छ, पाण्डेले गुनासो गरिन् ।
सरकारले यस्तो पैसा घरमै दिने व्यवस्था गरिनुपर्ने उनको राय छ । बृद्धा भत्ता बापतको चौमासीक ८ हजार रुपैयाँ बुझेकी पाण्डेले तिहार खर्च टर्ने बताइन् ।

बृद्धभक्ता लिन बैङ्कमा पुगेका बृद्धबृद्धा
भीमेश्वर नगरपालिका कै ९३ वर्षीया मोदा शाही दसैंका बेला बृद्ध भत्ता नपाए पनि तिहार भने राम्रैसँग मनाउन सकिने अश रहेको बताइन् । दसैंमा बृद्धभत्ता नपाएपछि टिका थाप्न आउनेलाई पैसा दिन नसकेको उनको गुनासो छ । उनले पनि बृद्धबृद्धालाई ताेिकएको समयमा घरमै भत्ता दिने व्यवस्था गरे राम्रो हुने बताउँछिन् ।
चरिकोटस्थित कृषि विकास बैङ्कमा खुशी र उत्साहसँगै पुगेका भीमेश्वर नगरपालिका की ७२ वर्षीया सुमिला श्रेष्ठ सरकारले चौमासीक रुपमा उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ताबाट तिहार खुशीसँग मनाउने योजना सुनाइन् । ‘दसैंको बेला आउनु पर्ने भत्ता ढिला गरी आयो त्यसैले अव तिहार भने रमाईलो गरी मनाउने सोचमा छ’ सुमिलाले भनिन् । बृद्ध भत्ता लिन अलि सहज गरेर घरमै दिने व्यवस्था भए सरकारलाई बुढाबुढीको आर्शिवाद लाग्ने उनले बताइन् ।
दोलखा भीमेश्वर नगरपालिकामा जेष्ठ नागरिक १ हजार २५ जना, एकल महिला ५ सय २० जना र जेष्ठ नागरिक दलित १ सय १३ जना रहेका छन् । उनीहरू सबैको अपेक्षा बृद्ध भत्ता सजिलो गरी पाउनुपर्ने बताउँछन् । भीमेश्वर नगरपालिकाका अधिकृत माधव सुवेदीले बृद्धबृद्धालाई सहज ढङ्गले रकम उपलब्ध गराउनु पर्ने भएपनि बिभिन्न समस्याको कारण त्यो सम्भव नभएपछि कृषि विकास बैङ्क मार्फत रकम उपलब्ध गराउन लागेको बताए । पाँच वर्षअघिदेखि भीमेश्वर नगरपालिकामा नमुनाको रुपमा सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत दिन लागिएको र अहिलेसम्म खासै समस्या नदेखिएको सुवेदीको दावी छ । बैङ्कबाट रकम दिने व्यवस्था गर्दा बृद्ध बृद्धालाई रकम लिन आउन केही समस्या भएको तर अन्य कुरामा भने झमेला नभएको सुवेदीले बताए ।
Comment Here!