ईश्वर साउद
कैलालीको दुर्गौली, भगतपुरकी हीरा चौधरी र वीरबहादुर चौधरी ज्यालादारीमा काम गर्छन् । उनीहरू एकै किसिमको काम गर्छन्– इँटा/सिमेन्ट/गिटी बोक्ने, सिमेन्ट र बालुवा मिलाउने आदि । तर, उनीहरूले पाउने ज्याला भने फरक छ । हीराले दिनको दुई सयदेखि साढे दुई सय रुपैयाँ पाउँछिन् भने वीरबहादुरले तीन सयदेखि साढे तीन सय रुपैयाँ ।
‘बिहानदेखि साँझसम्म हामी पुरुषसँगै काम गर्छौँ, तर ठेकेदारले ज्याला दिँदा पुरुषको भन्दा महिलालाई कम दिने गरेको छ,’ हीराले भनिन् ।
ज्यालामा काम गर्ने टीकापुर, कोठारपुरकी अनारकली चौधरीलाई महिलालाई किन कम ज्याला दिएका हुन् भन्ने कुरा थाहा छैन । उनले भनिन्, ‘ठेकेदार पुरुष भएकाले महिलालाई कम पैसा दिएका हुन् कि ।’
‘हामी महिला र पुरुष एउटै काम गर्छाैँ, तर ज्याला पाउँदा पुरुषले बढी पाउँछन्, महिलाले कम पाउँछौँ,’ टीकापुर– ९ शक्तिनगर शिविरकी फूलवसिया चौधरी भन्छिन् । उनलाई लाग्छ, ‘महिलाले पुरुषसरहको काम गर्न सक्दैनन् भनेर हो कि ? कि महिला सोझा हुन्छन्, जति दिए पनि मान्छन् भनेर पो हो कि ?’
उनले जानेको एउटै कुरा के छ भने यति लामो समयसम्म ज्यालादारीमा काम गर्दा उनले कहिल्यै पनि पुरुषबराबर ज्याला पाएकी छैनन् ।
शक्तिनगरकी रेशमली चौधरी ज्यालामा काम गर्ने सिलसिलामा धेरै ठाउ“ चहारिन् । उनी २२ वर्षदेखि घर, सडक, पुल तथा कल्भर्ट बनाउने काम गर्दै छिन् । जे र जहाँ काम गरे पनि पुरुषले भन्दा कम ज्याला पाएकोमा उनलाई चित्त बुझेको छैन । उनी सम्झिन्छिन्, ‘बिहानदेखि सा“झसम्म अटवारी चौधरी र रामफल चौधरीसँगै काम गथ्र्याैँ । एउटै काम गथ्र्याैँ । तर, उनीहरूको जति ज्याला कहिले पाइनँ । उनीहरूले एक सय ५० रुपैयाँ पाएका बेला मैले ८० रुपैयाँ पाउँथेँ । पछि उनीहरूले दुई सय रुपैयाँ पाउन थाले, मैले सय मात्र । अहिले मैले जति काम गरे पनि दुई सय ५० रुपैयाँभन्दा बढी ज्याला पाउँदिनँ । अटवारी र रामफले त्यही काम गरेबापत तीनदेखि साढे तीन सय रुपैयाँ पाउँछन् ।’
बीस वर्षदेखि टीकापुरमा पेटी ठेकेदारको रूपमा काम गर्दै आएका ठेकेदार भिखरलाई काम एउटै भएपछि ज्याला पनि समान हुनुपर्ने हो जस्तो त लाग्छ । तर, उनले पनि बराबर ज्याला दिएका छैनन् । ‘यो हामीले बनाएको नियम होइन, पहिलेदेखि नै चलिआएको हो । हामीले त्यहीअनुसार ज्याला दिइरहेका छौँ,’ भिखर भन्छन् ।
पन्ध्र वर्षदेखि टीकापुरमा ठेकेदारी गर्दै आएका आशाराम कुस्मीले मिस्त्री काम गर्ने महिला र पुरुषलाई त बराबर ज्याला दिइरहेका छन् । ‘अरूलाई चाहिँ काम एउटै भए पनि महिला र पुरुषलाई ज्याला फरक–फरक दिन्छु । त्यत्रो धेरै फरक त छैन । महिलालाई एक दिनको दुई सयदेखि दुई सय २५ रुपैयाँसम्म दिन्छु भने त्यही काम गर्ने पुरुषलाई तीन सयसम्म दिने गरेको छु । हामीले काम थाल्नुभन्दा पहिले पनि महिला र पुरुषले बराबरी ज्याला पाउँदैनथे,’ आशाराम भन्छन् ।
कृषि मजदुर सङ्गठनले समान काम गर्ने मजदुरको ज्याला समान हुनुपर्नेलगायतका माग गर्दै २२ वटा जिल्ला प्रशासन कार्यालयमा ०७० वैशाख १२ गते मागपत्र बुझाएको थियो । त्यसमा महिला कृषि मजदुरलाई सुत्केरी बिदा दिनुपर्नेलगायतका माग थिए ।
‘ज्ञापनपत्र बुझाएको झन्डै एक वर्ष पुग्न लाग्दासमेत यसबारे सुनुवाइ भएको छैन,’ सो सङ्गठनकी केन्द्रीय सदस्य फूलमाया खत्रीले भनिन् ।
लामो समय मजदुरको अगुवाइ गरेका रामप्रसाद चौधरी भन्छन्, ‘हामीले त समान कामको समान ज्याला हुनुपर्छ भनेर ०५४ देखि नै आवाज उठाएका हौँ । अहिलेसम्म पनि महिला र पुरुषले बराबरी ज्याला नपाउनु विडम्बनाको कुरा हो ।’
मजदुर सङ्गठन क्युपेक नेपालका कैलाली अध्यक्ष टीकाराम श्रेष्ठका विचारमा कुनै–कुनै काम त पुरुषले भन्दा महिलाले बढी गर्छन् । उनी पनि समान कामको समान ज्याला पाउनुपर्ने माग गर्छन् ।
नेपालको अन्तरिम संविधानले सबै नागरिकलाई समान मानेको छ । समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव नगरिने कुरा पनि त्यसमा उल्लेख छ । महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव नगरिने कुरा संविधानमा स्पष्टसँग लेखिएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले १८ डिसेम्बर १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन विषयक अभिसन्धि १९७९ पारित गरेको थियो । यो अभिसन्धि पालना गर्ने वचन नेपालले दिइसकेको छ ।
कानुन बने पनि कार्यान्वयन नहुने चलनबारे नागरिक समाज टीकापुरका संयोजक फिरुलाल चौधरी भन्छन्– पहिलो कुरो त काम लगाउने मानिसको दृष्टिकोणमा भर पर्छ । दोस्रो कुरो, सरकारले ऐन–कानुन लागू भए–नभएको हेर्नुपर्छ । उनी देशका सबैजसो ठाउँमा श्रम अदालत नभएकाले, मजदुरमा चेतना नभएकाले र उनीहरू सङ्गठित नभएकाले पनि यसो भएको ठान्छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे भन्छन्, ‘समान काम गरेबापत समान ज्याला दिनुपर्छ । महिला र पुरुषले गर्ने काम एउटै छ, तर ज्याला फरक दिइएको छ भने कसैले उजुरी हालेको खण्डमा त्यस्तो काम गराउने ठेकेदारहरूलाई कारबाही गरिन्छ ।’
घिमिरेका अनुसार पहिलोपटक त्यसो गर्नुहुन्न भनी काम गराउने व्यक्तिलाई सम्झाइबुझाई गरिन्छ । उसले अटेर गरेमा कारबाही गरिन्छ ।
कुरा जे–जस्तो भए पनि एउटै काम गर्ने पुरुषलाई बढी र महिलालाई कम ज्याला दिने चलन निरन्तर चलिरहेको छ ।
(ईश्वर साउद टीकापुर एफएम कैलालीका पत्रकार हुन् ।)
Comment Here!