“जब हिलारी क्लिन्टनले गल्र्याम्म अँगालो हाल्नुभयो…”


प्रकाशित मिति :2016-11-04 10:48:05

८ नोभेम्बरमा हुने निर्वाचनले अब अमेरिकाको नेतृत्व कसले गर्ने भन्ने निर्धारण गर्ने छ । अहिलेसम्म अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारद्वय हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धीका रूपमा हेरिएको छ । तिनै क्लिन्टनलाई सन् २०११ मा मानव बेचविखनविरुद्धकी अभियन्ता चरिमाया तामाङले भेट्ने अवसर पाएकी थिइन् । हिरो एक्टिङ टु इन्ड मोडर्न डे स्लेभरी अवार्ड लिन अमेरिका पुग्दा तामाङले क्लिन्टनलाई भेटेकी हुन् । 

charimaya-367x330

नेपाल फर्किएर आएका सुरुका केही समय मलाई झन् गाह्रो भयो । विभिन्न संस्थाले हामीलाई सहयोग गरे पनि धेरैले अझै स्वीकार गरिसकेका थिएनन् ।

धेरैको धारणा हुन्थ्यो, ‘यिनीहरू आफ्नै इच्छाले भारतीय कोठीमा काम गरेर फर्किएका हुन् ।’ तर, हाम्रा विवशता आफ्नै थिए, आफ्नै समस्या थिए ।

त्यसो त हामीले काम गर्न थालेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले पनि हाम्रो कामको सम्मान गर्न थालिसकेका थिए । हामीले आलोचनाको कुनै वास्ता गरेका थिएनौँ, आफ्नो काम लगातार गरिरहेका थियौँ । काममा ध्यान दिएकाले पनि नेपालमा हाम्रो परिचय अझ फराकिलो बन्दै गएको थियो ।

अर्कोतिर अन्तर्राष्ट्रिय संघसंस्थाले पनि हामीलाई प्रोत्साहन दिइरहेका थिए, र हाम्रो कामको प्रशंसा गरिरहेका थिए । यसले मेरो पनि परिचय फराकिलो बन्दै गएको थियो । सन् २०११मा अमेरिकी सरकारले मलाई आधुनिक दासताविरुद्धको नायक–२०११ (हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी अवार्ड २०११ ) सम्मान दिने भयो । यसले मलाई मात्र होइन, हाम्रो संस्थालाई पनि धेरै फाइदा पुग्यो ।

यो सम्मान अमेरिका सरकारले विश्वमा मानव बेचविखनविरुद्ध काम गरिरहेका देश र ती देशका व्यक्तिलाई दिने गरेको थियो । अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको एउटा विभागले यी सबै काम गर्दो रहेछ । सन् २०११ मा त्यो सम्मानका लागि दश देश छनोटमा परेका रहेछन् । तीमध्ये एउटा थियो– नेपाल ।

नेपालमा कसले कस्तो काम गरिरहेको छ भनेर यहाँ नै अमेरिकी दूतावासले सर्वे गरेको रहेछ । त्यसका लागि अनुसन्धानमा विभिन्न प्रक्रिया हुँदा रहेछन् । यहाँको अमेरिकी दूतावासले त्यो वर्षका लागि हाम्रो समूह शक्ति समूह पनि छानेको थियो । संस्थासँगै म पनि उहाँहरूको अनुसन्धानमा परेकी रहेछु ।

एकदिन दूतावासमा एउटा मिटिङ राखिएको रहेछ, त्यसमा सहभागी हुन मलाई निमन्त्रणा आयो । त्यहाँ हामी सातजनालाई बोलाइएको रहेछ । यो फ्रेबुअरीको घटना हो । हामीलाई बोलाउनुको कारणबारे ब्रिफिङ गरियो । त्यसपछि दूतावासले हाम्रोबारे विभिन्न निकायबाट बुझ्न थालेछ । त्यही वर्ष मेमा मलाई खबर आयो– यो सम्मानका लागि तपार्इं छानिनुभएको छ, अमेरिका जानुपर्छ, तयारी गर्नुहोला ।बेचविखनमा परेर पनि एकल प्रयासमा अपराधीलाई सजाय दिलाउन सफल भएकाले र यही क्षेत्रमा काम गरिरहेकाले म छनोटमा परेकी रहेछु ।

charimaya tamang

मलाई यो सम्मान धेरै अर्थमा ठूलो उत्साह र प्रोत्साहन थियो । अमेरिकी दूतावासले भनेअनुसार मैले अमेरिका जाने कार्यक्रम तय गरेँ ।
यो क्षेत्रमा काम गर्नेका लागि अमेरिकी सरकारले दिने यो अवार्ड सबैभन्दा ठूलो सम्मान थियो । यसले मलाई मात्र होइन, मेरो संस्था र हामी सबै नेपालमा काम गरिरहेका संस्थालाई थप प्रोत्साहन मिलेको थियो । त्यति मात्र होइन, मजस्ता सर्भभाइभरका लागि यो जीवनको उज्यालो देखाउने बाटो थियो ।

यात्रामा कहिलेकाहीँ उत्प्रेरक पनि चाहिने रहेछन् । उत्प्रेरकले तपाईंलाई अझ द्रूत गतिमा अगाडि बढ्न प्रेरणा दिँदो रहेछ । मेरो लागि तामाङ समुदायले गरेको सम्मान होस् या नेपाल सरकारले दिएको सम्मान नै किन नहोस्, सबैले अझ अगाडि बढाउन सहयोग गरे । यस्ता सम्मानले नै मलाई यात्रामा एक पाइला अगाडि पु¥याए । एसियाको नोवेल पुरस्कार मानिएको रोमन म्यागासेसे पुरस्कार शक्ति समूहले सन् २०१३ मा पाउँदा पनि किन नहोस्, म उत्साहित भएँ । संस्थाको उद्देश्य र मैले जीवनमा बनाएको लक्ष्य भेट्न यस्ता पुरस्कारले नै साथ दिने रहेछन् ।

अमेरिका यात्राका लागि म तयार भएँ । अमेरिकी दूतावासका सर-म्याडमले मसँगै अमेरिकासम्म पुग्ने एकजना व्यक्तिको नाम र नम्बर मलाई दिनुभएको थियो । मैले उहाँलाई सम्पर्क गर्न खोजेँ । तर, उहाँसँग अन्तिम दिनसम्म पनि सम्पर्क हुन सकेन । अमेरिकामा चाहिँ मेरा लागि एकजना दोभाषे हुनुहुन्छ र उहाँ नै मलाई विमानस्थलमा पिकअप गर्न आउनुहुन्छ भन्ने जानकारी पहिले नै पाइसकेको थिएँ ।
त्यसअघि नै थाइल्यान्ड, पाकिस्तान, बंगलादेश गइसकेकी भएकाले मलाई विमानस्थलमा कुनै झन्झट व्यहोर्नुपरेन । तर, अमेरिकाका लागि त्यो लामो यात्रा थियो ।

त्रिभुवन विमानस्थलमा विमानको बोर्डिङ पास लिइसकेर म विमानमा पुगेँ । अन्तिमपटक अमेरिकी दूतावासका कर्मचारीले दिनुभएको सरलाई फोन प्रयास गरेँ । अघिल्ला दिनहरूमा नलागेको फोन त्यतिवेला लाग्यो । उहाँ पनि विमानमा नै हुनुहुँदो रहेछ । मैले गएर उहाँलाई भेटेँ । पछि बैंककको ट्रान्जिटमा उहाँले मलाई सहयोग गर्नुभयो ।

वासिङ्टन डिसीको विमानस्थलमा पुग्दा हवाई यात्रा सुरु गरेको नै दुई दिन भइसकेको थियो । मैले मेरो झोलामा अनार लगेकी थिएँ । फलफूल लैजान पाइँदैन भन्ने त थाहा थियो, तर भुसुक्कै बिर्सिएर मैले लगेजमा राखेकी रहेछु । काठमाडौं विमानस्थलमा त केही समस्या भएन, तर त्यहाँका अधिकारीले मलाई अनार देखेपछि सोधपुछ गर्नुभयो । अनार झिकेर फालेपछि म त्यहाँबाट बाहिर निस्किएँ । त्यहाँ मलाई लिन मेरा लागि दोभाषेको काम गर्ने सर तारानाथ निरौला आइसक्नुभएको रहेछ । उहाँ न्युयोर्कको एउटा विश्वविद्यालयमा प्राध्यापन गर्नुहुँदो रहेछ । उहाँले गाडीमा राखेर मलाई होटेलसम्म पु-याउनुभयो ।

वासिङ्टनको त्यो होटेलसम्म पुग्दा पनि मलाई त्यति उत्साह थिएन । म एक्लै अमेरिका पुगेकी थिएँ । त्यसैले पनि अलिक निरास थिएँ । विमानको लामो यात्राले होला, शरीर पनि थाकेको थियो । मलाई त्यो सम्मान ठूलो हो भन्ने त थाहा थियो, तर त्यसैका कारण म उति उत्साहित पनि भएकी थिइनँ । त्यसो त नेपालमा हुँदा कसैले पनि ‘यति ठूलो सम्मान पाउन लागिस् बधाई छ’ भनेका पनि थिएनन् । अफिसमा सामान्य तयारी गरेर मात्र म वासिङ्टनसम्म पुगेकी थिएँ । त्यहाँ जानका लागि मैले सय डलर साटेर लगेकी थिएँ । त्यसैले पनि के हुने हो भन्ने कौतुहल थियो ।

अरू दश देशबाट पनि त्यहाँ मानिसहरू बोलाइनुभएको रहेछ । उहाँहरूलाई पनि मलाईजस्तै सम्मान दिन लागिएको रहेछ । तर, मलाई त्यो होटेलमा बसुन्जेल थकथकी लागिरह्यो । मनमा त्यहाँ भएको खर्च यता नेपालमा गर्न पाएको भए हुन्थ्यो भन्ने लागिरह्यो । म नेपालबाट त्यहाँ पुग्दा लाखौँ खर्च भइसकेको थियो । त्यहाँ त्यत्तिको भव्य होटेलमा बस्दा पनि यही कुरा मेरो मनमा खेलिरह्यो । त्यति पैसा नेपालमा जनचेतना बढाउनका लागि मात्रै खर्चिन पाएको भए पनि धेरै हुन्थ्यो, उपलब्धि हुन्थ्यो भन्ने लागिरह्यो ।

तर, के पनि हो भने मैले त्यहाँ धेरै कुरा सिक्न पाएँ । तारानाथ सरले मलाई त्यहाँका पर्यटकीय स्थलमा मात्र पु¥याउनुभएन, उहाँले विभिन्न मन्त्रालयमा पनि पु-याउनुभयो । म र अन्य देशबाट गएका प्रतिनिधिले त्यहाँको महिला मन्त्रालयमा पनि पुग्ने अवसर पायौँ ।
हामीलाई सम्मान दिने कार्यक्रम २७ जुनमा थियो । म बिहानै उठेर तयार भएँ ।

बिहान हामीलाई कार्यक्रम सुरु हुनुभन्दा केही पहिले कार्यक्रमस्थल लगियो । त्यहाँ एउटा ठूलो हल रहेछ । त्यहाँ लगेर हामीलाई हाम्रो सिट देखाइयो । ‘तपार्इंहरू यो यो सिटमा बस्ने हो,’ त्यहाँ हामीसँग जानुभएका अधिकारीले भन्नुभयो । त्यो हल अत्यन्त ठूलो थियो । केही बेर त्यहाँ बसेपछि हामीलाई बाहिर निकालियो ।

बाहिर अर्को कोठा रहेछ । हामीलाई त्यही कोठामा राखियो र कार्यक्रमबारे बताउन थालियो । म ध्यानपूर्वक कार्यक्रमबारे सुनेर बसिरहेँ । केही बेरमा त्यहाँ तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन आउनुभयो ।

उहाँ कोठामा पस्नेबित्तिकै हामी सबैजना आदरभावका साथ उठ्यौँ । त्यसपछि त्यहाँ हाम्रो फोटो सुटिङ सुरु भयो । उहाँले हामी सबैसँग कुरा पनि गर्नुभयो । फोटोसेसन हुँदा उहाँले हाम्रो कामको प्रशंसा पनि गर्नुभएको थियो ।

तर, त्यहाँ धेरै बेर हामी उहाँसँग कुरा गर्न पाएनौँ । केही बेरमै उताको कोठाबाट घन्टी बज्यो । हामी सबै पछाडिको ढोकाबाट छिरेर भित्र गयौँ । अघि देखिएको कोठाका खाली सबै कुर्सी भरिएका थिए । मैले त्यस्तो कार्यक्रममा त्यति ठूलो जमात पहिलोपटक देखेकी थिएँ । त्यो त एउटा मानवसागर नै थियो । म त्यो देखेर अचम्ममा परेँ । आँखाको डिलले पनि नभ्याउने ठूलो हल थियो । त्यस्तो व्यवस्थित कार्यक्रम होला भन्ने त मैले सुरुमा सोचेकी पनि थिइनँ ।

हामी कोठाबाट भित्र मात्र के छिरेका थियौँ, त्यहाँ ठूलो स्वरमा ताली बज्न थाल्यो । तालीको फोहोरा छुटेकोजस्तो भयो । एकातिर कार्यक्रमका सञ्चालक हामीबारे भनिरहेका थिए भने अर्कोतिर हलमा सुनिएको ताली अत्यन्त ठूलो आवाजमा थियो । मैले आफू कहाँ छु भनेर विश्वास नै गर्न सकिरहेकी थिइनँ । मेरा आँखा रसाउन थालिसकेका थिए । तर, मैले आफूलाई नियन्त्रण गरेँ । आँसु बग्न दिइनँ, त्यो माहोलमा आफूलाई झन् शक्ति प्रदान भएको मलाई महसुस भयो ।

मलाई अचम्म लाग्छ, त्यतिवेला मैले थप संघर्ष गर्ने प्रतिबद्धता गरिरहेकी थिएँ । झट्ट सुन्दा यो कुरा कसैलाई पनि पत्यार नलाग्न सक्छ, तर त्यो हलमा मेरो एउटै उद्देश्य भनेको नेपालमा फर्किएर थप संघर्ष गर्नु र यहाँका भएका अन्य घटनालाई कम गर्नु हो भन्ने मनमा गुन्जिरहेको थियो ।

त्यहाँ दश देशका प्रतिनिधिमध्ये नौजना मात्र पुगेका थियौँ । भारतकी प्रतिनिधि हुनुहुन्थेन । मलाई सात नम्बर दिइएको थियो । म त्यही नम्बरमा बसेँ । मैले त्यो दिनका लागि भनेर नेपाली पोसाक लगाएकी थिएँ । सारीमा सजिएकी थिएँ म । अरू देशका प्रतिनिधिले पनि आ–आफ्नो देशकै पोसाक लगाउनुभएको थियो । अघिल्लो दिन आयोजकले पनि हामीलाई औपचारिक ड्रेसमा आउन अनुरोध गरेको थियो ।
संयोग, त्यो दिन मेरो र हिलारी क्लिन्टनको कपडाको कलर मिल्यो । सुरुमा उहाँलाई देख्दा मैले यो कुराको ख्याल गरेकी थिइनँ । तर, जब हामी भित्र छिरेर हलमा बस्यौँ, मलाई यो कुरा अचानक मनमा आयो । यसले म झन् खुसी भएँ ।

त्यहाँ हलमा हुँदा अर्कै महसुस हुँदो रहेछ । मुटुको ढुकढुकी पनि बढ्दो रहेछ । हुन त म त्यसअघि पनि अन्य सम्मान कार्यक्रममा गएकी थिएँ, सम्मानित भएकी थिएँ । तर, त्यहाँको त्यो अनुभूति झन् फरक थियो ।केही समयमा नै त्यहाँ औपचारिक रूपमा कार्यक्रम सुरु भयो । हामी सबैलाई मञ्चमा बोलाइयो । हामीलाई बोलाउँदा शरीर अत्यन्त तात्न थाल्यो । आफ्नै शरीरमा के भइरहेको छ भन्ने मैले बुझ्न सकिनँ ।

एक–एक गरी हामीलाई मञ्चमा बोलाइयो । मञ्चमा पुग्दा स्टेजको अगाडि पर्दामा हाम्रोबारे बनेको डकुमेन्ट्री प्रदर्शन भइरहेको थियो । मेरो पालो आयो । जब उद्घोषकले मेरो नाम बोलाए, तब मेरो शरीर झन्झन् तात्न थाल्यो । अचानक शरीर काँप्न पनि थालेको थियो ।

अगाडि मेरो प्रोफाइल वाचन भइरहेको थियो । हिलारी क्लिन्टन मलाई सम्मान दिन अगाडि बढ्नुभयो । म देब्रेपट्टि थिएँ । सञ्चालक मेरो नाम लिएर बोलिरहँदा मैले आफूलाई सम्हाल्नै सकिनँ । त्यहाँ नै ढल्छु किजस्तो भयो । भित्र शरीर अत्यन्त चिसो भएको जस्तो महसुस भयो ।

त्यति नै वेला हिलारी क्लिन्टनले मलाई गल्र्याम्म अँगालो हाल्नुभयो । म झसंग भएँ । मेरो देब्रो कुममा उहाँको पाखुरा थियो । त्यसपछिको केही समय मैले केही थाहा पाइनँ । त्यति वेला मैले म बेचबिखनमा परेको र मुम्बईको कोठीमा पु¥याइएको सम्झिएँ । त्यहाँ मैले आत्महत्या गर्न चाहेको कुरा अचानक मेरो मनमा आयो । म झन् लल्याकलुलुक भएँ । तर, केही बेरमै मैले आफूलाई सम्हालेँ । क्लिन्टनले केही बोल्नुभयो जस्तो लाग्छ । म फेरि होसमा फर्किएँ । चिसो भएको मेरो शरीरले फेरि ताप लियो ।

‘ओहो, म त यहाँ सम्मान गर्ने कार्यक्रममा पो छु त,’ मैले मनमनै सम्झिएकी थिएँ ।त्यतिवेला मैले हिलारीको अनुहारमा हेरेँ । उहाँ मुस्कुराउँदै मलाई नै हेरिरनुभएको थियो । उहाँले केही बोलेको जस्तो पनि लाग्यो । तर, मैले उहाँले भनेको कुरा केही पनि बुझिनँ । उहाँको आँखाको भाव भने म बुझ्न सक्थेँ । ती आँखा सायद भन्दै थिए, ‘तिमीले धेरै राम्रो काम गरेकी छौ, नआत्तिइकन अगाडि बढ ।’ म उहाँको आँखामा हेरिरहेकी थिएँ । उहाँको हात भने मेरो अगाडि बढिसकेको रहेछ । मैले पनि दुवै हात अगाडि बढाएँ । र, लिएँ, ‘आधुनिक दासताविरुद्धको नायक– २०११’को सम्मानपत्र । मैले हातमा त्यो सम्मानपत्र मात्र के लिएकी थिएँ, ममाथि क्यामराका फ्ल्यास झन् धेरै चम्किन थाले ।

त्यो सम्मानपत्र लिएर म बस्ने ठाउँमा फर्किंदा पनि ममाथि बनेको वृत्तचित्र चलिरहेको थियो । हलमा तालीको गडगडाहट कम भएको थिएन । मैले भने मेरो विगत सम्झिरहेकी थिएँ । सबै बिर्सेर अब झन् सशक्त रूपमा अगाडि आउनुपर्छ भन्ने मलाई मनमा लागिरहको थियो ।
कार्यक्रम सकिएपछि हामी फेरि होटेलमा फर्कियौँ । मैले होटेलमा फर्किंदा पनि त्यहाँको कार्यक्रमको भव्यताबारे सम्झिइरहेँ । त्यहाँ व्यवस्था गरिएको सुरक्षाले मलाई अचम्ममा पारेको थियो । त्यतिवेला मेरो मनमा नेपालमा पनि यस्तो कार्यक्रम गर्न सकिएला र भन्ने मनमा खेलिरहेको थियो ।

अहिले म टिभीमा हेर्दा हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको निर्वाचनमा होमिएको सुन्छु । उहाँ अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना अत्यन्त बढी भएको पनि सुन्छु । यी कुरा सुन्दा मलाई त्यही घटना याद आउँछ, जतिवेला म हिलारीको अँगालोमा थिएँ ।

(नयाँ पत्रिकाबाट साभार गरिएको)

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: