आफ्नो अस्तित्वको खोजीमा शहरका जीवन


प्रकाशित मिति :2016-11-06 14:08:20

यौनकर्मी महिलाले म यौनकर्मी महिला हुँ, हामी किन र कसरी यौनकर्मी बन्यौं, समस्या केके छन्, राज्यले हाम्रो लागि यस्तो कानुन बनाओस भनेर खुलेर पैरवी गर्न सक्ने स्थितिमा छैनन् । किनकी यौन मनोरञ्जन लिन जाने पुरुषलाई कानुन लाग्दैन, दिने महिलालाई कानुन लाग्छ ।

प्रतिमा शर्मा
pratima-sharmaपछिल्लो ९ महिनामा काठमाडौं काठक्षेत्रका महिला र काठमाडौं शहरभित्र दैनिक जीवन गुजाराका लागि बिभिन्न समस्याको जोखिम उठाउँदै अनौपचारिक मनोरञ्जनका क्षेत्रमा काम गरिरहेका करिब ४९५ महिला र पुरुष यौनकर्मी, समलिंगी—महिलापुरुष र टीजीसँग भेटघाट, छलफल, अन्तरक्रिया, तालिम र मनोविमर्श गर्ने अवसर पाएँ । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, सुरक्षा र परिवारको न्यानो मायालगायतका बिभिन्न अवसरबाट पछाडि पारिएका यी समूहसँग नजिकबाट छलफल गर्ने यो अवसर अत्यन्तै महत्वपूर्ण रह्यो मेरो लागि । यही छलफलबाट उनीहरूको कथा, व्यथा, समस्या र उनीहरूले भोग्दै आएको पीडा कति दर्दनाक छ भन्ने कुरा अनुभूत गरें ।

case-studyअनौपचारिक मनोरञ्जन र यौन व्यवसायको क्षेत्रमा काम गर्दैगर्दा भोग्नुपरेका पीडा, बेदना र अनुभवलाई केर्दै जाने हो भने संसारकै ठूलो महाकाव्य बन्छ । अलिखित महाकाव्यको सचित्र कथा सुन्ने यात्रामा सहभागी हुने, आफूले जानेका शसक्तिकरणका उपाय साटासाट गर्ने, मनोविमर्श र अधिकारमुखी अवधारणाबाट नेतृत्व विकास गर्न

तेस्रोलिंगी र महिला यौनकर्मीहरू बिचार, भावना, सपना र कथाव्यथाका धनी छन् । बिचार, भावना, सपना र कथाव्यथाका धनी समूहसँग भलाकुसारी र छलफल गर्न पाउनु मेरो जीवनको अति महत्वपूर्ण समयमध्येको एक थियो यो समय पनि । नौ महिनामा नजिकबाट उनीहरूको पीडा, समस्या र अवस्थालाई नियाल्न खोजें, आफूलाई त्यही स्थानमा राखेर अनुभूत गर्न खोजें र श्रद्धाले पटकपटक भावुक बनें ।

तालिम, गोष्ठी र अन्तरक्रियाको क्रममा लैंगिकतामा आधारित हिंसा प्रभावित महिला र तेस्रोलिंगीले प्रश्न सोधे, आफ्नो परिवार, गाउँघर र समाजबाट तिरस्कृत भएपछि हामी कहाँ बस्ने ? घरबाट रित्तै निकालिएपछि नाना, छाना, खाना, शिक्षा र स्वास्थ्यकालागि काम गरेर पैसा कमाउने अभिलाषा लिएर शहर आएँ, कुनै काम पाइएन, अब आफू पनि मर्ने र बच्चालाई पनि मार्ने की, जे काम पाइन्छ त्यही गरेरै भएपनि आफू र आफ्नो सन्तानलाई बचाउने ? हामी यो देशका नागरिक होइनौ ? खोई कहाँ छ सरकार ? हामीलाई लैंगिक न्याय कसले दिने ? कसले सुन्ने हाम्रो समस्या ? यो तालिममा आएर दिन बिताएँ, तपाईले पैसा दिनुभएन भने साँझ आफ्ना नानीलाई के खुवाउने ? यही परिवेशलाई लाभको रुपमा उपयोग गर्छन, यौन सन्तुष्टी पुरा गरेपछि उल्टै अपशब्द बोल्दै लान्छना लगाएर पैसा नदिईकन भाग्छन् यौनपिपासुहरू । कहाँ उजुरी गर्ने मेरो श्रम लुटियो, म माथि हिंसा भयो, मलाई गालिबेइज्जती गर्यो भनेर ???

म यी प्रश्नहरु सुनेर नतमस्तक भएँ । आफूले सहेको घरेलु हिंसा, काम गर्ने थलोमा भएको लैंगिक हिंसा र प्रहरीबाट भएको ज्यादति तथा अपमान सुनाउँदै रुँदै गरेकी महिलाको नजिक गएर समानुभूति प्रकट गर्नु बाहेक मबाट अरु के नै हुन सक्छ र ?

यस्तो अवस्थामा विवशताले गरेको यौन व्यवसाय, बाध्यताले गरेको अनौचारिक मनोरञ्जनका काममा आत्मसम्मानको महसुस गरेका छैनन् । महिला हुनुमा, आमा बन्नुमा, र तेस्रो लिंगी हुनुमा आफैमाथि दोष दिन्छन्, आत्मलान्छना लगाउँछन् र बेचैन हुन्छन् उनीहरू । आफ्नो विगत विर्सनका लागि र आफू र आफ्नो व्यवसाय सम्हाल्ने उपायकारुपमा चुरोट र रक्सी रोजेको उनीहरू बताउँछन् ।

सरकार र शान्ती सुरक्षा कायम राख्ने प्रहरीलाई यही प्रश्न तेसाईदिएँ मैले । कुन चै सरकार, मन्त्री र प्रहरीले नखाइ मर, बच्चालाई मार तर अनौपचारिक मनोरञ्जन तथा यौन मनोरञ्जनको क्षेत्रमा काम नगर भन्न सक्छ र ? लाछी सरकार न त वैकल्पिक आयआर्जनका अवसर दिनसक्छ ।

तालिमकी अर्को सहभागीले भनिन्, ‘घरबाट निकालिएपछि राम्रो जागिर पाइन्छ की भनेर शहरमा आएँ, नयाँ ठाउँमा आफ्नो दैनिकी गुजार्न केही न केही काम त चाहियो, तर कहाँ पाउनु काम ? कसले दिनु काम ? यो शहरमा आफ्नो भन्ने कोही छैन, केही दिन घर बनाउने ठाउँमा गएर ढुङ्गा बोकें, त्यो काम पनि सकियो । अनि अरु काम के गर्नु ? घरमा भाडा माझ्ने, घर सफा गर्ने र लुगा घुने काम खोज्दै हिँडें, त्यो पनि पाइन । बाध्य भएर यो धन्दा शुरु गरें । हो नत प्रतिष्पर्धी शिक्षामा सहभागी हुन पाउनु, न त जग्गाजमिन छ तरकारी लगाएर बेच्न, न समाजद्वारा स्वीकृत काम पाउनु, न राजनीतिकदलको सहयोग न त संघसंस्थाले सँधै पाल्न सक्ने । मर्नुभन्दा बहुलाउन निको भनेर म यो पेशामा लागें, तर मेरो मन खुसी छैन ।’

p1

यसरी घरबाट तिरस्कृत भएको व्यक्ति, जोसँग दैनिक गुजाराका लागि न्युनतम आर्थिक उपाय छैन, जसलाई उसको परिवारबाट आर्थिक सहयोग हुँदैन, तिनै व्यक्तिको बिशेष व्यवस्थाका लागि सरकारसँग प्रभावकारी योजना छैन । अर्को एक जनाले सोधे, यस्तो अवस्थामा हामीले आफ्नो दैनिक जीवनका आधारभुत तथा अत्यावश्यक कुरा कसरी पुरा गर्ने ? राज्यका सेवाप्रदायक निकाय विशेषगरी प्रहरी, स्वास्थ्य, शिक्षा र न्याय दिने अड्डाले किन हतोत्साही बनाउँछन् हामीलाई ? किन लैंगिकमैत्रीपूर्ण वातावरण सिर्जना गर्दैनन् घरदेखि राज्यसम्म ? हामीलाई बाटोमा हिँडेको देख्दैमा प्रहरीले समातेर हिरासतमा लैजान्छन् । बिना अपराध किन समातिन्छ हामीलाई ? तथानाम गाली गरेर उल्टै चर्को जरिवाना तिराउँछन् प्रहरी चौकीमा । हाम्रो सुरक्षाको प्रत्याभुत कसले गर्ने ? के हामीप्रति राज्यको कुनै दायित्व छैन ? तालिममा उठान भएका यी प्रश्नहरु धेरै नै व्यवहारिक र मार्मिक छन् ।

हाम्रो समाजमा तेस्रोलिंगी र महिला यौनकर्मीलाई बाहिरबाट हेर्ने नजर र उनीहरूप्रति आम मानिसको धारणा जे छ त्योभन्दा अत्यन्तै फरक छ उनीहरूको वास्तविक यथार्थ र जीवनशैली । समाज एउटै हो, शरीर एउटै हो, चाहना, भौतिक तथा जैविक आवश्यकता सबै उस्तै हुन्छ, तर किन परिवार, समाज र राज्यले अर्कै नजरले हेर्छ ? कहिले मानवता नै बिर्सेर निर्जिव वस्तुसरह व्यवहार गर्छ त कहिले यौनतृप्तिको साधनमात्र मान्छ । मन, विचार, भावना र विवेकहीन प्राणी सरह सबै प्रकारका मानवीयता गुमाएर चरम दुव्र्यवहार गर्छ । एउटा मानिस अर्को मानिसबाट यसरी हेपिनु पर्दा, घृिणत हुनुपर्दा र अपमानित हुनुपर्दा कैयन पटक मर्दै बाँचेको अनुभव छ यौनकर्मी महिलालाई । हरेक व्यक्ति फरक छ । त्यसैले उनीहरूका अनुभव पनि फरकफरक छन् । केही तेस्रो लिंगी अधिकारकर्मीको रुपमा बाहिर आउन सकेका छन्, सार्वजनिक जीवनमा आएका छन् तथापि ठूलो संख्या अझ बाहिर आउन सकेको छैन । तर महिला यौनकर्मी अझै बाहिर आउन सकेका छैनन् । आफ्नो मुद्दामा पैरवी गर्न सक्ने शुन्यप्राय छन् ।

अनौपचारिक मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाले काम, दाम र सुरक्षाका लागि पैरवी गर्दै आएका छन्, तर यौनकर्मी महिलाले म यौनकर्मी महिला हुँ, यो समाजमा हामी किन र कसरी यौनकर्मी बन्यौं, हाम्रा समस्या केके छन्, राज्यले हाम्रो लागि यस्तो कानुन बनाओस भनेर खुलेर पैरवी गर्न सक्ने स्थितिमा छैनन् किनकी यो समाज पुरुष प्रधान समाज हो, यौन मनारञ्जन लिन जाने पुरुषलाई कानुन लाग्दैन, दिने महिलालाई कानुन लाग्छ, लिन जाने पुरुषको बदनाम हुँदैन, दिने महिलाको बदनाम हुन्छ, लिन जाने पुरुषलाई परिवार, समाज र राज्यले स्वीकार गर्छ, तर दिने महिलालाई अस्वीकार गर्छ र समाजबाट उठीबास लगाउँछ ।

भोक, प्यास, माया, नाना र जैविक आवश्यकता सबैको लागि उत्तिकै आवश्यक छ । बस्ने बास, शिक्षा, औषधीउपचार र मनोरञ्जन सबै व्यक्तिको लागि अपरिहार्य छ । त्यसैगरी सबैले रोजगारको अवसर पाउनु, राज्यको सेवा, सुबिधा पाउनु सबैको नैसर्गिक अधिकार हो । यी आधारभुत तथा नैसर्गिक अधिकारको प्रयोग गर्नबाट बञ्चित गराइने पारिवारिक अभिप्राय, सामाजिक ढाँचा र राज्यको नीति नै मानव अधिकारको बर्खिलापमा छ ।

हो हरेक व्यक्ति फरक हुन्छ (Every individual is different) । रुप—रंग, स्वभाव, तन—मन, सोचाइ, बिचार आदिइत्यादीमा फरक हुन सक्छ, तर मानवीय आवश्यकता, जैविक चाहना, संवेगात्मक र भावनात्मक सोचाई र मायाममता सबैको लागि आवश्यक हुन्छ । तेस्रो लिंगी र महिला यौनकर्मीको पनि मानवीय आवश्यकता, जैविक चाहना, संवेगात्मक र भावनात्मक सोचाई र मायाममता विना बाँचुन् भनेर कसरी परिकल्पना गर्न सकिन्छ ? तर यो पुरुषप्रधान समाजले त्यो पनि कल्पना गरेको छ । लैंगिक भेदभावमा परेका महिलालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारबिना बाँच्न सक्ने बस्तुको रुपमा ग्रहण गरेर सोही व्यवहार गर्दै आएको छ यो समाजले । राज्यसंयन्त्र स्वयंले हिंसा प्रभावित व्यक्तिको आधारभुत आवश्यकता र मानव अधिकारको उलंघन गरेको छ ।

महिला यौनकर्मी र तेस्रो लिंगीको जैबिक तथा भौतिक आवश्यकता, भावना, वास्तविक समस्या र उनीहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधाप्रति सम्पूर्णरुपमा राज्य उदासिन भएर हिंसा प्रभावित व्यक्तिप्रति न्याय हुनै सक्दैन । अरु मानिसको जस्तै मन र भावना हुन्छ उनीहरूको पनि, अरु मानिसलाई जस्तै जैविक चाहना, प्रेम, आत्मसुरक्षा, औषधीउपचार र सुरक्षित बास, गाँस, नाना, शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता चाहिन्छ । तर लिंगकै आधारमा आफ्नो परिवार र समाजबाट लैैगिक हिंसा, भेदभाव र लान्छना लगाएर घर र समाजबाट तिरस्कृत भएका व्यक्तिप्रति राज्यको कुनै जिम्मेवारी छैन ? यसरी घर र समाजबाट निकालिएपछि कहाँ बस्ने ? के लगाउने ? के खाने ? बिरामी हुँदा औषधिउपचार कसरी गर्ने ? कसरी पढ्ने ? छोराछोरीलाई कहाँ राख्ने, के खुवाउने ? के आफ्ना नागरिकप्रति राज्यको र राजनीतिक दलको कुनै जिम्मेवारी छैन ?

p2

आधारभुत आवश्यकता पुरा गर्नकालागि कामको खोजीमा भौतारिन्छन् हिंसा प्रभावित महिला, बाँच्नको लागि ठूलो जोखिम उठाउँछन् ।
उनीहरूका प्रश्नको प्रतिउत्तरमा राज्य, समाज र परिवारले लैंगिक समानताको वातावरण बनाउनु, लैंगिक न्याय स्थापना गर्नु, आयआर्जनका वैकल्पिक अवसरको सिघ्र व्यवस्था गर्नु र सीपमुलक तालिममा महिलालाई बढीभन्दा बढी संलग्न गराएर आयआर्जन हुने काममा संलग्न गराउनु, यौनकर्मी र तेस्रोलिंगीका समस्या सम्बोधन हुने कानुन र नीति निर्माण गरेर सिघ्र लागु गर्नु आवश्यक छ ।

तेस्रोलिंगी र महिला यौनकर्मीको वास्तविक समस्या, चाहना र अवस्था एउटा सामान्य मानिसले सांचेभन्दा धेरै नै फरक, मार्मिक र पीडादायी छ । छलफल र अन्तरक्रियाको शीलशीलामा मलाई कैयन पटक उनीहरूले प्रश्न गरे, तपाई त अधिवक्ता पनि हो नी, के साँच्चै हाम्रो देशमा लोकतन्त्र आएको छ ? के अरु मानिसको जस्तै हाम्रो मानवअधिकार छैन ? के हाम्रो लागि घरेलु हिंसा र लैंगिक हिंसाविरुद्ध संविधान र कानुनमा कुनै व्यवस्था छैन ? के हामी राज्यका नागरिक होइनौ ? यसरी उनीहरू प्रश्न गर्दै गए । कैयनपटक निशब्द बनाए मलाई उनीहरूका प्रश्नले ।

छलफलका क्रममा प्रस्तुत गरिएका उनीहरूका यथार्थ घटना, कथाव्याथा र वास्तविक जीवन सुन्दा म अनुत्तरित भएँ र मैले पनि प्रश्न गरें यो कस्तो लोकतन्त्र रहेछ जहाँ पीडा सुनिँदैन, तर पीडामा भएकाहरू माथि शक्तिको बर्दी ओडेर अर्को पीडा दिइन्छ ? यो पीडा परिवारबाट दिइएको छ, समाजबाट दिइएको छ र राज्यका बिभिन्न अवयवबाट दिइएको छ । २१ औं शताब्दीमा पनि लैंगिकताकै आधारमा घर, समाज र राज्यबाट भेदभाव र हिंसा गरिन्छ, लान्छना लगाईन्छ, शोषण, दमन र अत्याचार गरिन्छ भने अब कहिले पाउने न्याय ?

भविष्यमा के बन्न चाहानुहुन्छ ? अहिले तपाईले गर्दै आएको पेशासँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ? मैले छलफलका क्रममा महिला यौनकर्मीलाई सोधें । आफ्नो जीवनको सबैभन्दा दुखदायी क्षण सम्झिँदै कमला (नाम परिवर्तित)ले भनिन्, ‘खान पुग्ने परिवारकी छोरी थिएँ, क्याम्पस पढाउने प्रोफेसर भनेर सानले बिहे गरिदिए बाआमाले, इज्जतसाथ राम्रो दाइजो पनि दिए, तर अहिले मेरो बच्चा र मेरो पेटको लागि म बाध्य भएर यो काम गर्दै आएकी छु । दुनियासँग डराईडराई भए पनि बाँच्नैका लागि काम गर्नुपर्छ । तर केही मान्छेले पैसा नदिई उल्टै लान्छना लगाएर जान्छन्, कसैले दुइचार पैसो दिन्छन् । कहिले ग्राहक पाइन्छ, कहिले पाइदैन । आज तपाईले बोलाएर आएँ, ग्राहक छुटे, साँझ कसरी छाक टार्ने ? महिनाको अन्त्यमा घरभाडा कसरी तिर्ने ? थाहा पाए भने घरबेटीले निकाल्छन्, आफन्तले छिछि गर्लान्, अब तपाई आफै भन्नुस म कसरी खुसी हुनसक्छु यो पेशामा ?’

उनलाई सुम्सुम्याउँदै फेरी अर्को प्रश्न सोधे ? श्रीमान्को कमाई राम्रो होला नी, घर खर्चको लागि पैसा दिनुहुन्न र ? उनले भनिन्, मलाई घरबाट निकालेको ४ बर्ष भयो, बच्चालाई पाल्न, पढाउनको लागि र आफू बाँच्नको लागि मैले काम खोजिरहेकी थिएँ, यसै शीलशीलामा म साथीको संगतबाट यो पेशामा आएँ । अरु काम नपाएपछि के गर्नु मीस, मर्नुभन्दा बौलाउनु ठीक । राज्यले आफ्ना नागरिकलाई न क्षमता अनुसारको काम दिन्छ, न काम अनुसारको दाम दिन्छ । न सुरक्षा दिन्छ न त पाएको काममा इज्जत दिन्छ । यो कस्तो विडम्बना ….।

गोष्ठीमा सहभागी भएका महिला यौनकर्मीहरू लैंगिक हिंसाबाट प्रभावित व्यक्ति नै थिए । तेस्रो लिंगी, बालविवाह भएका, घरबाट निकालिएका, बहुविवाहमा परेका, श्रीमानले हेला गरेका, बेचबिखनमा परेका, मसाज पार्लर, होटेल तथा डान्सबार र रेष्टुरेन्टमा काम गर्दै गरेका, रोजीराटीको लागि यौनमनोरञ्जन दिएकाहरू थिए । आफ्नै रहर र शोखले यो पेशामा आउने महिलासँग भेट्ने अवसर पाइन मैले । परिवेशले यौनकर्मी बनाइएकाहरूसँग धेरै भलाकुसरी गरें । छोराछोरी र आफ्नो पेट पाल्नको लागि, आफैले पढ्न वा छोराछोरीलाई पढाउनको लागि, घरभाडा तिर्न, लुगालत्ता किन्न, औषधी उपचार गर्न आदि खर्चको जोहो गर्ने शीलशीलामा बाध्यभएर यौनकर्मी बनेका धेरै व्यक्तिसँग कुरा गरें । सबै हिंसा प्रभावित व्यक्ति यौनकर्मी बनेका छैनन् भने सबै यौनकर्मी हिंसा प्रभावित पनि होइनन् ।

p3

मर्न सकिएन, बाँच्नको लागि आफुसँग जे छ, त्यही बेच्ने त हो । एक जना महिलाले भनिन् । शहरमा बाँच्न कठीन छ । शहरीया जीवन अलिक तडकभडक भएन भने हेपिन्छ । आर्थिकरुपमा कमजोर भएकै कारणले लैंगिक हिंसाको शिकार हुनु पर्‍यो । त्यसैले परिवारिक इगोका कारण पनि आर्थिकरुपमा आफ्नो स्थिती राम्रो बनाउनु पनि उनीहरूको मनसाय रहेछ तथापी पहिलो प्राथमिकता आफू बाँच्नु र सन्तानलाई बचाउनु नै रहेछ ।

लैंगिकतामा आधारित हिंसाका कारण घर र समाजबाट विस्थापित बनाइएका महिला र तेस्रोलिंगीमध्ये केही बाध्यताले यौनकर्मी बनेका छन् । केही स्वइच्छाले यो पेशामा आएका होलान् । रक्षा नेपालले गरेको अध्ययन अनुसार ९८ प्रतिशत यौनकर्मी महिलाले आफू बाध्यभएर यो काम गरेको बताएका छन् । अन्दाजी पाँच हजार यौनकर्मी रहेको अनुमान गरिएको छ । परिवार, समाज र राज्यले सम्वेदनशील भै सोच्नुपर्ने कुरा के हो भने लैंगिकतामा आधारित हिंसा प्रभावितहरू नै बढी यो पेशामा आएको देखिन्छ चाहे उनीहरू महिला यौनकर्मी हुन वा तेस्रो लिंगी, जसलाई परिवार, समाज र राज्यले उपेक्षा गरेको छ उनीहरूको जीवन निकै कठिन छ ।

यौनमनोरञ्जनलाई बंैसको उन्मादसँग जोडेर हेर्ने पुरानो शैली हो । यौनकर्मीहरूले आफूले मनोरञ्जन लिनका लागि यो काम छनोट गरेका छैनन् । त्यसैले हिंसाप्रभावित र तेस्रो लिंगीको वास्तविक समस्या विश्लेषण नै नगरीकिन राज्यले कथित कारबाहीको नाममा बेइज्जती गर्नु केबल महिला र तेस्रोलिंगीप्रति आममानिसको पूर्वाग्रही धारणाको उपज हो जसको कारण यौनकर्मी र तेस्रो लिंगीहरू ठूलो समस्यामा परेका छन् । आममानिसको मात्र होइन, नेपाल प्रहरीको समेत पूर्वाग्रही धारणा छ । प्रहरीकै कारण बाटोमा खुल्लारुपमा हिड्न समेत कठिन छ यौनकर्मी र तेस्रोलिंगीलाई ।

सतप्रतिशत महिला कुनै न कुनै हिंसाबाट प्रभावित छन् । ३ जनामा एक जना महिला शख्त प्रभावित छन् । त्यसैले परिवारबाट अपहेलित, समाजबाट तिरस्कृत र राज्यबाट उपेक्षित भएका महिला जसले रोजगारका अरु माध्यम र अवसर पाउन सकेनन्, उनीहरूमध्येका केही बाध्य भएर यौनपेशामा आएका छन् । तेस्रोलिंगीको समस्या पनि त्यही हो । नेपालमा यौन व्यवसायलाई गैरकानुनी मानिन्छ तथापी कानुनको डण्डी र बीयो जसको हातमा छ, तिनै मध्येका अधिकांश व्यक्ति नै यस व्यवसायका लाभान्वित समूह पनि रहेछन् । यौनमनोरञ्जनका लागि पनि उनीहरूनै जाने, रीस उठ्यो भने यौनमनोरञ्जन दिनेलाई पक्रेर कानुनीकठघरामा ल्याउने पनि उही नै । गजबको अलिखित अभ्यास रहेछ हामीकहाँ ।

महिला अधिकारको खोल ओढेर हरेक घर र समाजमा पितृसत्ताको अभ्यास गरेको नौलो होइन । आधारभुत मानव अधिकारको मसीले कोरेका अक्षरलाई साक्षी राखेर राज्यकै बिभिन्न निकायबाट मानव अधिकारको उल्लंघन गर्नु कत्तिको जायज हो ? । दुःखको कुरा सामाजिक घटनामाथि राज्य उदासिन भएको र हिंसालाई मौनसमर्थन गरेको पाइन्छ । त्यसैगरी प्रहरीले कहिले यौनमनोरञ्जनका लागि प्रयोग गर्ने भने कहिले शान्ती, सुरक्षा, संस्कार र कानुनको बचावटका नाममा विना पुर्जी पक्राउ गरेर थुनामा राख्ने, अश्लिल शब्द बोल्ने, ठूलो रकम माग गर्ने, लान्छना लगाउने, मानसिक पीडा दिने, तर्साउने आदि गर्ने गरेका छ । यस्तो नीति र व्यवहार समस्या समाधानको उपाय होइन ।
जोखिमपूर्ण कामका लागि उद्यत गर्ने विशेष कारण, अवस्था र परिवेशको निराकरण नगरीकन व्यक्तिव्यक्तिलाई सजाय दिनु भनेको थप मानसिक यातना, भावनात्मक र शारीरिक हिंसा गर्नु हो । आयआर्जनको वैकल्पिक व्यवस्था विना जबरजस्ती कामबाट बाहिर आउन दबाव दिनुले आफ्नो र बालबालिकाको हातमुख जोर्ने र पढाउने बाटो नै बन्द गर्न खोजिएको छ ।

माथि उल्लेखित समस्या समाधानको लागि यौन व्यवसायमा किन संलग्न भए ? कस्तो व्यवस्था भएमा जोखिमपूर्ण काम गर्न निरुत्साही हुन्छन् ? आदि बिषयमा अध्ययन गरेर व्यवहारिक र प्रभावकारी योजना बनाउन जरुरी छ । फलस्वरुप हिंसा प्रभावितलाई गास, बास र शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्न सकियोस, हरेक मानिसले सम्मानजनक जीवन पाउन सकोस, शक्तिको बर्दी पनि हिंस्रक नबनोस् र हिंसा प्रभावितलाई सम्मानजनक किसिमले गास, बास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्न प्रेरणा मिलोस् ।

तेस्रो लिंगी र हिंसा प्रभावित महिला तथा जोखिमपूर्ण अवस्थामा भएका महिलाको लागि राज्यको तर्फबाट बिशेष व्यवस्था खोइ ? लिंगका आधारमा घरबाट हेला, भेदभाव, हिंसा र तिरस्कृत भएर बाहिरिन बाध्य बनाईका व्यक्तिको शिक्षा, स्वास्थ्य, सुरक्षाबास र रोजगारको व्यवस्था गर्नुपर्ने दायित्व राज्य स्वयंको हो । आफ्नो दायित्व पुरा नगर्ने परिवार र राज्य द्वोषी हो, यौनकर्मी महिला कसरी द्वोषी हुनसक्छ ? लैंगिक भेदभाव र हिंसा गर्ने परिवार र आफ्नो नागरिकलाई उपेक्षा गर्ने राज्यले नै यसको जिम्मेवारी लिनु पर्छ ।

एक थरीले भन्छन् जहाँ माग छ त्यहाँ सप्लाई हुन्छ त अर्को थरीले भन्छन् जहाँ सप्लाई छ त्यहाँ माग हुन्छ । यौन मनोरञ्जन पनि माग र सप्लाई जस्तौ भएको छ । हरेक कुरा आवश्यकताले जन्माउछ । घरघरमा भएका लैंगिकहिंसालाई सुन्यमा झार्ने, समविकासको अवधारणामा व्यापक जनचेतना अबिधृद्धी गर्ने, नीति तथा कार्यक्रम र बजेट लैंगिकमैत्री बनाउने, रोजगारका अवसर उपलब्ध गराउने, हिंसाप्रभावित महिला तथा तेस्रो लिंगीलाई साना व्यवसायको लागि सीप विकास तालिम र व्यावसाय अनुदानको व्यवस्था गर्ने, हरेक हिंसा प्रभावितलाई अर्को व्यवस्था नहुदासम्म सुरक्षाबासको व्यवस्था गर्ने, गोपनीयता, शिक्षा, स्वास्थ्य आदिको सुनिश्चत गर्ने लगायतका धेरै काममा सरकार र नेपाल प्रहरीले ध्यान नदिएसम्म पक्रेर २८ दिनसम्म हिरासतमा राख्नु, जरिवाना तिराउनु र आतातायी बनाउनु समस्या समाधानको उपाय होइन । लैंगिकतामा आधारित हिंसा र घरेलु हिंसालाई दुनियाबादी हिंसाबाट हटाई फौजदारी अपराधभित्र पार्ने, घरेलु हिंसा न्युनिकरण र लैंगिक समानताको लागि बनाईएका कानुन र त्यसको कार्यबिधिलाई तुरुन्छ गा.बि.स., नगरपालिका, प्रहरी चौकी र सबै न्यायिक निकायमा सिघ्र सर्कुलर गर्ने, न्याय सम्पादन गर्नेहरुका लागि लैंगिक सम्बेदनशिलताका बिषयमा क्षमता अभिबृद्धी तालिम चलाउनु, धार्मिक तथा संस्कारको व्याख्या गरिएका पुस्तक, स्कुल र क्याम्पसका पाठ्यक्रम, बिज्ञापन, चलचित्र, टेलीसिरियल सबै क्षेत्रमा लैंगिक समानताका कथा, बिषयबस्तु र सन्देश बनाउनु जरुरी छ ।

कानुन व्यवसायी शर्मा महिला अधिकारको क्षेत्रमा सक्रिय छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: