महिला खबर
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले नपाली राजनीतिमा सहकार्यको थालनी गरेकाे बताउनुभएको छ । सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा बुधवार आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले विसं २०४६ को जनआन्दोलनदेखि नेपाली राजनीति सहकार्यको व्यवहारिक थालनी गर्न अग्रसर हुनुमा गणेशमान सिहंको भूमिकाले सम्भव भएको बताउनुभयो ।
राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले युवा अवस्थादेखि नै एक निर्भिक व्यक्तित्वको पहिचान बनाउनु भएका सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित भएको अल्याउनुभयो ।
नयाँ संविधानको भावनालाई आत्मसात् गरी प्रभावकारी कार्यान्वयनका लागि लोकतान्त्रिक शक्तिबीच सहमति हुनु जरुरी रहेको उहाँको भनाइ थियो । संविधान कार्यान्वयनको माध्यमबाट लोकतन्त्र र राष्ट्रियताको जगमा सामाजिक–आर्थिक विकासको अभियानमा जुट्न सबैलाई आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका नेता तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गर्नुभएको थियो । १२ बुँदे शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई सम्मान गरिएको हो ।
Comment Here!