हिलारीको हारः पितृसत्ता बदल्ने अभियान विफल


प्रकाशित मिति :2016-11-09 17:04:14

दीपेश केसी

Dipesh Kcस्वतन्त्रताको २३० वर्षपछि अमेरिकाले महिला राष्ट्रपति पाउने धेरैको अनुमान गलत सावित भयो । विश्वका धेरै शक्तिशाली मुलुकले महिला नेतृत्व पाइसक्दा समेत विश्व महाशक्ति अमेरिकाले अझै महिलाको नेतृत्व पाउन सकेन । अवसर आएको थियो तर डेमोक्रयाट राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको पराजयसँगै खेर गयो । अब अमेरिकाले महिला राष्ट्रपति पाउन कति समय कुर्नुपर्ने हो यकिन गर्न सकिँदैन । विश्वका धेरै विकासोन्मुख देशले महिला नेतृत्व पाइसक्दा पनि अमेरिकाले इतिहास कोर्न सकिरहेको छैन । बरू नेपालले महिला राष्ट्रपति पाइसक्यो । बेलायतमा महिला प्रधानमन्त्री, जर्मनीमा महिला चान्सलर भइरहँदा अमेरिकामा पनि महिला राष्ट्रपति चयन भई विश्वभरका महिलाका लागि नयाँ हौसला मिल्ने अपेक्षा पूरा भएन ।

महिलाको युग

अधिकांश पितृसत्तात्मक समाज रहेको विश्व मातृसत्तात्मक युगतर्फ बढेको र महिलाको युग प्रारम्भ भएको विश्लेषण गर्नेहरू नभएका होइनन् । दास समान व्यवहार हुँदै सुधारका नाममा चुलोचौकामा सिमित गरिएका महिलाहरू संघर्षमा खरो उत्रदै नीतिनिर्माण तहको उच्च ओहदामा पुग्ने क्रम बढ्दो छ । तर, पितृसत्तात्मक प्रणालीमा महिला नेतृत्वमा पुगेपनि खासै फरक नपर्ने तर्क गर्नेहरू उत्तिकै छन् ।

जे होस् विश्वका कमजोर देखि शक्तिशाली देशहरूमा महिलाहरू देश हाँक्ने स्थानसम्म पुगेका छन् । नतिजा वर्तमानमा देखिएपनि यसका पछाडि निकै आरोह अवरोहका कथा व्यथा छन् । कुनै समय यस्तो थियो महिलाहरूले उम्मेदवार बन्ने त परै जाओस् मतदानको अधिकार समेत पाउँदैन थिए । महिला आन्दोलनले महिलालाई मतदानको अधिकार दिलायो । उम्मेदवार बन्ने अधिकार समेत विस्तारै प्राप्त भयो । महिला आन्दोलनमा आएको लहरले उनीहरूलाई राजनीतिको उच्च ओहदासम्म पुर्‍याउने मार्ग कोर्‍यो ।

h1

श्रीलंकामा सिरमाभो बन्दरानायके सन् १९६० मा विश्वकै पहिलो महिला प्रधानमन्त्री बनिन् । सन् १९७४ मा अर्जेन्टिनामा इसाबेल पेरोन पहिलो राष्ट्रपति बनिन् । बेलायतमा सन् १९७९ मा मार्गरेट थ्यार्चर प्रधानमन्त्री बनेर आइरन लेडी कहलिइन् । इन्दिरा गान्धीले बलियो प्रधानमन्त्रीका परिचय बनाएकी थिइन् । बेनजीर भुट्टो पाकिस्तानमा प्रभावशाली प्रधानमन्त्री बनेकी थिइन् । यद्यपि दुवै नेता मारिए । संकटका समयमा समेत देश हाँकेर महिलाले प्रभाव देखाएको इतिहास साक्षी छ ।

लैंङ्गिक स्वतन्त्रता र समानताका दृष्टिले सुदृढ अवस्थामा रहेको अमेरिकामा महिलाले शासन सत्तामा पुग्ने प्रयास धेरै अघिदेखि गरेका थिए । हिलारी स्वयंले सन् २००८ मा प्रयास गरेपनि आफ्नो दलबाट आधिकारिक उम्मेदवार चयन हुन सकिनन् । अन्तिम समयमा बाराक ओबामाले बाजी मारेका थिए । सन् २०१६ मा भएपनि कट्टरपन्थी उम्मेदवार डोनाल्ड ट्रम्पबाट पराजित भइन् । विगतमा महिलालाई अवहेलना गरेको, तुच्छ शब्द बोलेको देखि यौन र्दुव्यवहार गरेको आरोप खेपेपनि ट्रम्पले हार्नुपरेन । उदारवादी धारकी हिलारी दक्षिणपन्थी धारका ट्रम्पलाई ह्वाइट हाउस पुग्नबाट रोक्न सकिनन् । आधा जनसंख्या महिला भएपनि हिलारीले महिला मतदाताबाट अपेक्षाकृत समर्थन बटुल्न नसकेको प्रमाण हो यो । महिला हुँदैमा महिलाले अनिवार्य महिलालाई मतदान गर्ने परिपाठी विकसित देशमा पनि नरहेको पुष्टि गर्‍यो अमेरिकी चुनावको नतिजाले ।

hillary

अमेरिकामा महिला राष्ट्रपतिका उम्मेदवार विगतमा पनि थिए । मुख्य दलहरूबाट उम्मेदवार बन्ने प्रयास गरेका थिए तर सफल भएनन् । हिलारीले डेमोक्रयाट पार्टीबाट आधिकारिक उम्मेदवार बन्न सफल भएर मुख्य दलबाट राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएर इतिहास कोरिसकेकी थिइन् । उनी निर्वाचित भएर अर्को इतिहास कोर्नबाट चुकिन् । हिलारी जुन उचाईसम्म पुगेर रोकिइनन् त्यसले राजनीतिमा अगाडि बढ्न खोज्ने महिलाका लागि भविष्यमा हौसलायुक्त मार्ग चाहिं कोर्‍यो । एक्काइसौं शताब्दी महिलाको युग हो भन्ने सन्देश प्रवाह गर्न सफल भइन् ।

भेदभावमाथि प्रहार
कुनैपनि ऐतिहासिक घटनाले समाजमा रहिआएको बेथिती र असमानताको पर्खाललाई धक्का दिन्छ । हिलारी जहाँसम्म पुगिन् त्यसले लैङ्गिक असमानतामाथि धक्का बन्यो तर उनी जहाँ रोकिइन् त्यसले पक्कै पनि केही निराशा चाहिं छायो । कतिपय देशमा महिला उच्च नेतत्व तहमा पुग्न अझै संघर्ष गर्न बाँकी छ भन्ने सन्देश दियो । राजनीतिक उपल्लो तहदेखि समाजको तल्लो तहसम्म महिलाले धेरै संघर्ष गर्न बाँकी नै रहेछ ।

हुनत कुनैपनि देशको नेतृत्वमा महिला पुग्दैमा महिलामाथिको अन्याय, विभेद र असमानता पूर्ण रूपमा अन्त भइहालेको छैन । इन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनेपछि त्यहाँका महिला ‘अनर किलिङ’ अर्थात् इज्जतको रक्षाका नाममा परिवारका सदस्यबाट मारिन छाडेनन्, बेनजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेपछि पनि धार्मिक अतिवादीहरूबाट सामाजिक नियम उल्लंघन गरेको आरोपमा महिलाहरू ढुङ्गाले मारिन छाडेनन् । नेपालमा विद्यादेवी भण्डारी राष्ट्रपति बनेपनि भ्रुणदेखि बुढ्यौलीसम्म महिलामाथि प्रहार हुने क्रम रोकिएको छैन । बालविवाह शिक्षाबाट विमुख बनाइनेदेखि असमान ज्यालाको समस्या छँदैछ ।

h2

विकसितदेखि विकासोन्मुख देशमा महिला नेतृत्वमा पुगेपनि महिलामाथि सदीयौंदेखि चलिआएको भेदभावमा पूर्णविराम लागेन । कम गर्न चाहिं महिलाहरूले कदम चाले । उनीहरू शासन सत्तामा पुगेबाट बाँकी महिलामाथि हौसला बढ्यो ।

नेतृत्वमा पुग्नु र सफलतम नेतृत्व गर्नु महिलाका लागि असम्भव होइन, तर निकै कठिन छ । अमेरिकी चुनावले यही सन्देश प्रवाह ग¥यो । पितृसत्तात्मक मानसिकता बोकेको समाजमा महिलाका लागि कुनैपनि उच्च स्थान कठिनतम हुनेगर्छ । महिलालाई त्यस्तो समाजले विश्वास गरिहाल्दैन । संगठित रूपमा महिलाको आत्मबलमाथि ठेस पुर्‍याउने कार्यहरू देखिनेगरेको छ । यसै वर्ष ब्राजिलकी पूर्व राष्ट्रपति डिलेमा रूसोफा पद त्याग्न वाध्य भइन् । कोरियाली राष्ट्रपति पनि विवादमा छिन् । महिला नेतृत्व विवादमा पर्नुले गलत सन्देशहरू प्रवाह भइरहे ।

लैंङ्गिक आन्दोलन

h3
महिलाहरू नेतृत्वमा पुगेपछि लैंङ्गिक समानताको आन्दोलनले गति लिँदै गएको छ । कुनैपनि देश र विश्व सभ्यता अझ समृद्ध हुनका लागि लैंङ्गिक समानता अनिवार्य छ । यो महिलाको मात्र नभई पुरूषको समेत हितमा छ । महिला शिक्षित र विवेकशील भएको घरपरिवार र समाज समृद्ध छन् । समाजको समृद्धीका लागि लैंङ्गिक समानतामा जोडबल हुनुपर्छ ।

समानतालाई कुनै महिलासँग मात्र जोडेर हेर्दा समस्याहरू आएका छन् । पुरूषले पनि लैंङ्गिक समानता आफू र समग्र समाजको हितका लागि हो भन्ने महशुश लिने अवस्था हुनुपर्छ । यसको अभाव विश्वका धेरै समाज र देशमा देखिन्छ । लैंङ्गिक समानताको आन्दोलन महिलामा मात्र सिमित गर्दा समस्या आएका छन् जसमा सुधारको आवश्यकता छ ।

महिला आन्दोलनमा उदारवादीदेखि उग्रवादी धारसम्म देखिन्छ । बिसौं शताब्दीमा सिमन दी बबर जस्ता उग्रवादी धारका प्रवर्तक समेत हावी भए । पितृसत्तात्मक समाजले महिलालाई यौनतृष्णा मेटाउने वस्तुका रूपमा प्रस्तुत गर्ने गरेको कडा तर्कसहित पितृसत्तात्मक समाजमाथि आक्रोश पोखिन् बबरले ।

बबरभन्दा भिन्न उदारवादी धारका महिलावादीले लैंङ्गिक समानताका लागि पुरूषहरूको भूमिका समेत हुने तर्क राखे । भिन्न विचारहरूले महिला आन्दोलनलाई परिपक्व बनाउँदै लग्यो । यस्तै परिपक्व आन्दोलनले विश्वका धेरै देशहरूमा महिलाहरू राज्यको विभिन्न निकायहरूमा आफ्नो स्थान बनाउन थाले । विकसित या विकासोन्मुख देशहरूमा राज्यको नीतिनिर्माण तहमा महिलाको सहभागिता बढ्दै गयो । उदारवादीहरूको अभियानले सार्थक परिणाम हासिल गर्दै गयो ।

h4

कुनैबेला महिला पुरूषलाई उपल्लो तहमा पुर्‍याउने भर्‍याङमा सिमित थिए । श्रीमान् या छोरालाई सफल बनाएको श्रेय लिएर खुशी हुनुपथ्र्यो । स्वयं हिलारी क्लिन्टन फष्ट लेडी थिइन् । बिल क्लिन्टनलाई राष्ट्रपति बनाउन सफल पत्नीको भूमिका निभाएकी थिइन् । उनलाई बिल क्लिन्टनको उम्मेदवारको नजरले हेर्नेहरू पनि थिए । हिलारीले नभई बिलले अमेरिका चलाउँछन् भन्ने चर्चा चलाएर महिलाको क्षमतालाई कमजोर बनाउन खोजियो । कुनैपनि महिलाको सफलतामा पुरूषलाई बढी जोडेर हेर्ने संस्कार पितृसत्तात्मक सोचको कारण हो । यो लैंङ्गिक असमानतालाई कायमै राख्न चाहनेको शैली हो । यस्तो प्रवृत्ति विकसित देखि विकासोन्मुख समाजसम्म देख्न सकिन्छ । नेतृत्वमा पुगेका महिलाको संघर्षका कथाहरू ओझेलमा पारिन्छ । महिलाको सफलतालाई पुरूषको देन जस्तो देखाइन्छ ।

महिला र पुरूष एउटा रथको दुई पाङ्ग्रा हुन् । ठिकठाक र समान गतिमा चल्न पाङ्ग्रा सन्तुलित भई गन्तव्यतर्फ गुड्छ । यही मार्गमा लैंङ्गिक समानताको अभियान चल्नसके महिला नेतृत्वले सार्थक परिणाम दिन सक्छ । हिलारीको सत्तारोहरण विश्वभर लैंङ्गिक समानता अभियानमा आइसब्रेक हुने आधार बन्नसक्थ्यो । विश्वले एउटा महतवपूर्ण अवसर गुमायो । विकासोन्मुख देशमा मात्र नभई अति विकसित देशमा समेत महिलालाई मुख्य पदमा पत्याइहाल्ने संस्कार विकास नभइको बुझ्न सकिन्छ । पितृसत्तात्मक प्रणालीमा महिलाको स्थान मजबुत हुन सक्दैन । महिलामा समेत पितृसत्तात्मक मानसिककता हावी हुन्छ । लोकतान्त्रिक प्रणालीमा हार र जीत स्वाभाविक हो । तर, अमेरिकी चुनावको नतिजामा पितृसत्तात्मक प्रभावलाई बेवास्ता गर्न सकिँदैन । जसले महिलालाई नेतृत्व दिइहाल्ने इच्छाशक्ति देखाएन । पितृसत्ता बदल्ने दिशामा आइसब्रेक हुन सकेन । हिलारी हार्दा हार्दै पितृसत्तामाथिको धक्का एकपटक फेरि फिक्का देखियो । असफलताले पाठ पढाउँछ । एक युगमा एकपटक कुनै न कुनै बेला इतिहास कोर्ने अवसर आउला । त्यसको लागि निरन्तरको प्रयास र प्रतिक्षा नै मुख्य हो । [email protected]

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: