पत्रकार महिलाको संख्या २५ प्रतिशत


पत्रकार महिलाको पेशागत अवस्थाका बारेमा अध्ययन प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति :2016-11-09 17:08:45

महिला खबर
ललितपुर । नेपालका पत्रकार महिलाको पेशागत अवस्थाका बारेमा देश भरी गरिएको नेपालमा पत्रकार महिला नामक अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ। सन्चारिका समूह नेपालले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा नेपालमामा श्रमजीवी पत्रकार महिलाको संख्या २५ प्रतिशत रहेको देखाएको छ। समूहले सर्वेक्षण गरेका ९ सय ७ वटा सञ्चारगृहमा ७ हजार ६ सय ५० पत्रकार कार्यरत छन्। तीमध्ये श्रमजीवी पत्रकारमा पुरूष ५ हजार ७ सय ११ जना छन् भने महिला १ हजार ९ सय ३९ जना अर्थात् २५.३ प्रतिशत छन्। पत्रकारितामा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ ।

bimochan
समूहका अनुसार अध्ययनका क्रममा राजधानी र मोफसलका गरी कूल ९ सय ७ सञ्चारगृहको सर्वेक्षण गरिएको थियो। तीमध्ये छापा सञ्चारगृह ५ सय ३१, रेडियो ३ सय ६, टेलिभिजन ३१ र अनलाइन ३९ थिए । सर्वेक्षण गरिएका सञ्चारगृहमा काठमाडौं उपत्यकाका सञ्चारगृह ९.४ प्रतिशत र उपत्यका बाहिरका सञ्चारगृह ९०.६ प्रतिशत छन्। सर्वेक्षणमा सहभागी कूल १ हजार १ सय ४३ पत्रकार महिलामध्ये २३ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा र ७६ दशमलव ४ प्रतिशत उपत्यका बाहिर कार्यरत छन्।

अध्ययनमा सहभागीमध्ये ६२.१ प्रतिशत रेडियोमा कार्यरत रहेको उक्त प्रतिवेदनमा उल्लेख छ। पत्रकार महिलामध्ये छापामा २२.६ प्रतिशत, टेलिभिजनमा १०.७ प्रतिशत र अनलाइनमा ७ प्रतिशत कार्यरत छन्। पत्रकारितामा ब्राहमण/क्षेत्री समुदायका महिला ५८.६ प्रतिशत छन्।
पत्रकार महिलामध्ये ४१.८ प्रतिशतले स्नातक तह अध्ययन गरेका र यी मध्येपनि २१.९ प्रतिशतले पत्रकारिता अध्ययन गरेका छन्।

पत्रकारिताका माथिल्ला पदमा पत्रकार महिलाको उपस्थिति चिन्ताजनक रहेको प्रतिवेदनले औंल्याएको छ। वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको संख्या औलामा गन्न सकिने उल्लेख छ। वरिष्ठ संवाददाता/ब्यूरो प्रमुखमा २.९ प्रतिशत, सम्पादकमा ८.१ प्रतिशत र प्रकाशक वा व्यवस्थापकका रुपमा २.७ प्रतिशत महिला कार्यरत छन्। सबैभन्दा बढी ४१.५ प्रतिशत पत्रकार महिला समाचार वा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन्। यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता/उपसम्पादक पदमा काम रहेको प्रतिवेदनमा उल्लेख छ ।

४६.५ प्रतिशत पत्रकार महिला मिश्रित बिटमा काम गर्ने गरेको पाइयो। यस्तो अवस्था उपत्यकाबाहिर बढी देखिन्छ। पत्रकार महिलाले टिभी र रेडियोमा समाचार वाचनदेखि रिपोर्टिङसम्मको जिम्मेवारी निभाएका छन्।

थोरै पत्रकार महिलाले मात्र राजनीति, अर्थ, अन्तर्राष्ट्रियलगायतका बिटमा काम गर्ने अवसर पाएका छन्। राजनीति र समसामयिक बिटमा ३ प्रतिशत, अर्थ र बाणिज्यमा २.५ प्रतिशत र अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा ०.८ प्रतिशत पत्रकार महिलाले काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ। पदोन्नतिमा पत्रकार महिलाको अवस्था उत्साहजनक देखिंदैन। सर्वेक्षणमा सहभागीमध्ये ४७.४ प्रतिशत पत्रकार महिलाले आफूले काम थालेपछि पदोन्नति भएको जानकारी दिए भने ३५.६ प्रतिशतले नभएको बताए। यस कारण समेत निराश भएर उनीहरूले पेशा छोडेको या परिवर्तन गरेको देखिएको छ। तलब, राम्रो अवसर, संस्थामा काम गर्ने वातावरण, पारिवारिक समस्या, शिक्षालगायतका कारणले पनि पत्रकार महिला आफू कार्यरत संस्था परिवर्तन गरेका छन्। सबैभन्दा बढी २७.१ प्रतिशतले तलबलाई संस्था परिवर्तन गर्नुको मुख्य कारण बताएका छन्। यस्तै, पहिलाभन्दा राम्रो अवसर पाएकाले संस्था परिवर्तन गरेको बताउने पत्रकार महिला २१.३ प्रतिशत छन्।

dsc_0305
पत्रकारको पदोन्नति हुन निकै लामो समय लाग्ने सर्वेक्षणले देखाएको छ । सरकारी सञ्चारमाध्यमको नियमअनुसार पदोन्नतिका लागि महिलालाई कम्तीमा दुई वर्ष र पुरूषलाई कम्तीमा तीन वर्ष सो पदमा काम गरेको हुनुपर्ने व्यवस्था छ। तर, यति वर्ष काम गर्ने बित्तिकै पदोन्नति पाइन्छ भन्ने छैन। योग्यता पुगेका स्थायी पत्रकारले समेत माथिल्लो पद खाली नभएसम्म पदोन्नति पाउ“दैनन्।

कार्यस्थलको वातावरण महिलाका लागि अनुकूल नभएको र सहकर्मी तथा अग्रजहरुबाट पत्रकारले महिलास“ग उचित व्यवहार नगर्ने गुनासा आइरहेका बेला अनुसन्धानले पछिल्लो समय यसमा सुधार हुँदै गएको देखाएको छ। अधिकांश उत्तरदाताले (७३.३ प्रतिशत) आफ्ना सहकर्मीले सहयोगी व्यवहार गरेको बताएका छन्। अग्रज तथा वरिष्ठहरुको व्यवहारलाई भने आधाभन्दा कमले मात्रै राम्रो ठानेका छन्। ४१ प्रतिशत सहभागीले अग्रज तथा वरिष्ठहरुको व्यवहारबारे बोल्न चाहेनन्।

सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको छ। सर्वेक्षण गरिएका ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको बताए। यो समस्या उपत्यकामा भन्दा बाहिर बढी छ। न्यूनतम तलब नपाउनेमध्ये ८४.१ प्रतिशत पत्रकार महिला उपत्यका बाहिर छन्। यस्तै, अध्ययनमा ५७.८ प्रतिशत पत्रकार महिलाले मात्रै नियमित रुपमा तलब पाएको बताए।

धेरैजसो पत्रकार महिलालाई यातायातको असुविधाले काम गर्न अप्ठेरो परेको छ । सर्वेक्षणमा ५६.२ प्रतिशत महिलाले यातायातको असुविधा हु“दा समस्या खेप्नुपरेको बताए। राति ड्युटी गर्नेहरूलाई कार्यालयदेखि घरसम्म लाने/लैजाने व्यवस्था नहु“दा समस्या परेको छ। अनलाइन, छापा र रेडियोमा काम गर्नेका तुलनामा टेलिभिजनमा काम गर्नेहरूले यातायातको सुविधा बढी पाएका छन्।

अध्ययनबाट रेडियोमा कार्यरत कूल पत्रकारमध्ये ४६.५ प्रतिशत पत्रकार महिला छन्। रेडियोमा कार्यरत महिला र पुरूष पत्रकारको कूल संख्या २ हजार ५ सय ६२ छ। छापामाध्यममा कार्यरत कूल ४ हजार १ सय २६ पत्रकारमध्ये ४०.६ प्रतिशत पत्रकार महिला छन्। यस्तै, नेपालभरका टिभीमा कार्यरत ७ सय ४९
पत्रकारमध्ये ११.३ प्रतिशत महिला छन्। अनलाइनमा कार्यरत कूल २ सय २३ पत्रकार मध्ये १.६ प्रतिशत पत्रकार महिला छन्।
सञ्चारगृहको तथ्यांकअनुसार १ हजार ९ सय ३९ पत्रकार महिलामध्ये ब्राह्रमण/क्षेत्री समुदायका ४४.६ प्रतिशत छन्। यस्तै, आदिवासी जनजाति समुदायका २४.५ प्रतिशत, मधेशी समुदायका ६.६ प्रतिशत, दलित समुदायका ६.३ प्रतिशत र अन्य समुदायका १७.९ प्रतिशत छन्।

सञ्चारमाध्यमका व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिला थोरै रहेको प्रतिवेदनमा उल्लेख छ। देशभरका कूल ५३ प्रधान सम्पादकमध्ये ११.३ प्रतिशत मात्र महिला छन्। यस्तै, ३७ कार्यकारी सम्पादक/प्रबन्ध सम्पादकमध्ये १०.८ प्रतिशत र ८ सय ९४ सम्पादकमध्ये १५.१ प्रतिशत महिला रहेको अध्ययनबाट देखिएको छ।

सर्वेक्षणमा सहभागी ६६ प्रतिशत सञ्चारगृहले आफूस“ग श्रमसम्बन्धी नीति रहेको बताए। अधिकांशले श्रम नीतिअन्तर्गत साप्ताहिक बिदा र घर बिदा दिइएको जनाएका छन्। यस्तै, नियुक्ति पत्र, चाडपर्व बिदा, सुत्केरी बिदा, यातायात सुविधा र स्वास्थ्य बिमाको व्यवस्था पनि भएको बताएका छन्। श्रम अभ्यास तथा नीति अवलम्बन नगर्ने सञ्चारगृहको प्रतिशत १९.७ छ। सर्वेक्षण गरिएका १४.४ प्रतिशतले त्यसबारे खुलाउन चाहेनन्।

छुट्टै लैङ्गिक नीति लागू गर्ने मामलामा सञ्चारमाध्यमको अवस्था ज्यादै कमजोर छ। अध्ययनमा आधाभन्दा बढी (६१.६ प्रतिशत) सञ्चारगृह/माध्यमले छुट्टै लैङ्गिक नीति नभएको बताए।

पत्रकारका संघसंस्थाहरूमा पत्रकार महिलालाई नेतृत्व तहमा ल्याउनको लागि केही व्यवस्थाहरूको प्रयोग शुरु गरिएको छ।

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघका ७४ वटा जिल्ला शाखामध्ये कुनै पनि जिल्ला शाखाको अध्यक्षमा महिलाको नेतृत्व छैन। प्रतिष्ठान शाखा अन्तर्गत चार वटा शाखामा महिलाको नेतृत्व छ।

पत्रकारका संघसंस्थाले पत्रकार महिलाको सशक्तीकरण र समावेशीकरणका लागि छुट्टै लैङ्गिक दस्तावेज बनाएका छैनन्

आधाभन्दा बढि ५१.३ प्रतिशत पत्रकार महिला पत्रकारिता गरिरहन चाहन्छन्। सर्वेक्षणमा सहभागीमध्ये १९.६ प्रतिशत पत्रकार महिलाले भने पेशा परिवर्तन गर्न चाहेको बताए।

सन्चारिका समूह नेपालले दुई वर्ष लगाएर गरेको उक्त अध्ययन प्रतिवेदन बुधवार सूचना तथा सन्चार मन्त्रालयका सचिव दिनेश थपलियाले एक कार्यक्रमका वीच सार्वजनिक गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले यो अध्ययन प्रतिवेदन नीति बनाउन मन्त्रालयलाई धेरै सहयोग मिल्ने प्रतिक्रिया दिनुभयो। यसैगरि पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले अध्ययन प्रतिवेदनले पत्रकार महिलाको संख्या बढेको देखाएको छ जुन निकै सकारात्मक भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै सन्चारिका समूहकी पुर्व अध्यक्ष बबिता बस्नेतले यो अध्ययन प्रतिवेदन पत्रकार महिलाका बिषयमा बोल्ने आधिकारीक दस्तावेज भएको स्पष्ट पार्नुभयो। कार्यक्रममा सन्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले यो अध्ययन प्रतिवेदनले देशभरीका पत्रकार महिलाको सामाजिक,आर्थिक व्यवसायिक अवस्थालाई उजागर गरेको बताउनुभयो । देशभरि कार्यरत पत्रकार महिलाको अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता भएकोले यस अनुसन्धान गरिएको उहाँ बताउनुभयो। ‘नेपालमा महिला पत्रकारको अवस्था थाहा पाउन हामीले यो अध्ययन गरेका हौं’ उहाँले भन्नुभयो। कार्यक्रममा नर्वेली दुतावासका बरिष्ठ सल्लाहकार कमला बिष्टले अवस्थामा सुधार देखिएपनि गर्नुपर्ने काम अझै धेरै रहेको बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: