सर्मिला बुढाथोकी
दोलखा । ‘मैले नयाँ जीवन पाएँ’ चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको बेडमा मुस्कुराईरहेकी रामेछाप फर्पुकी ४० वर्षीया सीता तमाङले भनिन् ।

विरामीसँग शल्यक्रियामा संलग्न डा विनोद दंगाल
मङ्गलवार पाठेघरको ट्युमरको शल्यक्रियापछि आराम गरिरहेकी सीताले भनिन् ‘अहिले ५० केजीको भारी विसाउँदाको आनन्द महशुस भइरहेको छ ।’ तल्लो पेटको पीडाका कारण कात्तिक २० गते अस्पताल भर्ना भएकी उनको पेटबाट झण्डै २ केजीको ट्युमर निकालिएको अस्पतालका मेडिकल डाईरेक्टर डा विनोद दंगालले बताए । ‘अस्पताल आउँदा सीताको अवस्था निकै नाजुक थियो, शल्यक्रियाबाट झण्डै २ केजीको ट्युमर निकालेका छौ, अब विरामीको अवस्था सामान्य छ’ डा दंगालले भने । सीताको पाठेघरको ट्युमर भित्रै कुहिईसकेकाले अस्पताल ल्याउन २/४ दिन ढिला भएको भए बचाउन कठिन हुनसक्ने डा दंगालदले बताए ।
सीताको पाठेघरको ओभरीमा झण्डै २ केजी तौलको ट्युमर तीन फन्का घुमेको अवस्थामा रहेकोले यो शल्यक्रिया निकै कठिन खालको भएको डा दंगालको भनाई छ ।
तीन महिनादेखि पेट दुख्ने, खान मन नलाग्ने, जरो आउने जस्ता समस्याले पीडित सीतालाई गाँउमै धामीझाँक्री लगाएर राखिएको थियो । तर रोग ठिक नभएपछि छोराहरूको जोडबलमा उनी उपचारका लागि प्रस्तावित चरिकोट अस्पताल आएकी हुन् । ‘आमा विरामी भएपछि सुरु सुरुमा घरमै धामीझाँक्री लगाएर राखियो, तर जति गर्दा पनि ठिक नभएपछि दाजु मिनराज र मेरो जोडबलमा उपचारका लागि चरिकोट ल्याईएको हो’ आमालाई उपचारको लागि अस्पताल लिएर आएका साईला छोरा सोम मोक्तानले भने ।
सम्पूर्ण उपचार खर्च र औषधि निःशुल्क भएकाले सहज भयो सोमले बताए । खर्च लाग्ने भएको भए उपचार गर्न कठिन हुने उनको भनाइ थियो । अस्पतालका मेडिकल डाईरेक्टर डा दंगालका अनुसार सीताको शल्यक्रिया काठमाडौँको टिचिङ अस्पतालमा गरिएको भएपनि कम्तिमा ५० हजार खर्च लाग्ने थियो । प्रस्तावित चरिकोट अस्पतालमा सम्पूर्ण उपचार खर्च निःशुल्क हुने भएकाले विशेषगरी गरिव तथा विपन्न ग्रामीण विरामीले सुविधा पाएको उनले बताए । धामीझाँक्रीको भर परेर तीन महिनासम्म पीडा खपेर बसेकी सीताले रोग लागेपछि झारफुक या धामी झाँक्रीको भर नपरी तत्काल उपचारको लागि अस्पताल जानुपर्ने कुरा बल्ल बुझिन् । ‘म धामी झाँक्रीको भरमा बसेको भए अहिले आफ्नो परिवारसँग खुशी साटेर बस्न सक्ने थिईनँ’ सीताले भनिन् । परिवारको बुद्धिमताले आफूले नयाँ जीवन पाउन सकेको उनले बताइन् ।
Comment Here!