सानैमा बिहे, उमेर पुगेपछि एक्लै


प्रकाशित मिति :2016-11-11 11:02:29

बाबुआमाले सानैमा छोरीको विवाह गरिदिनाले मधेसी समुदायका थुप्रै किशोरी पीडित छन् । उमेर पुग्दा–नपुग्दै केटाले अस्वीकार गर्न थालेपछि अहिले धेरैजसो यस्ता किशोरी माइतीमै बस्न बाध्य छन् ।

इन्दिरा खनाल

14953887_802758056531677_2794058977965936273_n
रूपन्देही । करौता– १ की मीना हरिजनको सात वर्षको उमेरमा दयानगर बगाहाका हरुद्वार हरिजनसँग विवाह भयो । विवाह भएर गौना भएको तीन वर्षपछि उनी घर निकाला भइन् । घर निकाला भएदेखि नै मीना माइतीमै छिन् । ‘कुनै झै–झगडा पनि भएको होइन, तर किन हो घरबाट निकाले । कारण थाहा छैन,’ मीना भन्छिन्, ‘घरमा आए मार्ने भनेका छन् ।’ उनका जुम्ल्याहा छोरा छन् ।

रूपन्देहीकै फरेनाकी मोबिना खातुनको ११ वर्षको उमेरमा विवाह भयो । दुई वर्षपछि श्रीमान्ले उनलाई घरबाट निकाले । त्यसपछि माइतीमै छिन् । सानो उमेरमा विवाह भएकाले न पढ्न पाइन्, न अब स्कुल जान सक्ने वातावरण छ । समस्यामा छिन् उनी ।

रूपन्देहीमा बालविवाहका कारण धेरै किशोरी पीडित छन् । तिनैमध्येकी हुन्– कम्हरियाकी पूजा साहनी । सात वर्षअघि सूर्यपूराका सुरेन्द्र साहनीसँग विवाह भए पनि उनले पूजालाई घर भित्र्याउन मानेनन् । एक वर्षअघि हुनुपर्ने गौना अहिलेसम्म भएको छैन । मधेसी समुदायमा छोरीको सानैमा विवाह गरेर केही समय माइतीमा छोडिदिने र उमेर पुगेपछि पुनः अन्माएर लैजाने प्रचलनलाई गौना भनिन्छ ।

14956044_802757786531704_1336096819660800348_n

अभिभावकले चाहेको बेलामा आफ्ना नाबालक छोरीको विवाह गरिदिने परम्पराले किशोरी पीडित छन् । विवाह के हो भनेर नबुझ्दै भएका विवाहले अधिकांश बालिका युवा अवस्थामा पुग्दा अलग हुन बाध्य छन् । कम्हरियाका सामाजिक अगुवा बालमुकुन्द हरिजन पुन्य पाइन्छ भनेर सानैमा कन्यादान गरिने चलनले बालिकाको बिहे चाँडै हुने गरेको बताउँछन् ।

जिल्लामा बालविवाह कायमै छ । पाँच वर्षअघि चुनौती नामक गैरसरकारी संस्थाले जिल्लाका बोगडी, सिपवा, बेतकुइया, पट्खौली, पजरकट्टी र सूर्यपुरा गाविसमा गरेको अध्ययनअनुसार ८९ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको पाइएको थियो । नेपालमा किशोरीको १८ वर्ष नपुग्दै हुने विवाहलाई कानुनले बन्देज गरेको छ । तर, कानुनबारे धेरै अभिभावक अनभिज्ञ छन् । चुनौतीको अध्ययनअनुसार समाजका आठ प्रतिशत मानिसलाई मात्रै १८ वर्ष नपुग्दै गरिने विवाह गैरकानुनी हो भन्ने जानकारी छ ।

बालविवाह तराईका दलित तथा विपन्न समुदायमा बढी छ । कतै रजस्वला नहुँदै विवाह गरिदिँदा पुन्य प्राप्ति हुने विश्वासले सानैमा विवाह गर्ने प्रचलन छ भने विपन्न समुदायमा कम उमेरमा विवाह गर्दा कम दाइजो दिए पुग्छ भन्ने बुझाइ छ । दाइजो कम दिए पुग्ने भनेर धेरै अभिभावक छोरीको कम उमेरमै विवाह गर्छन् । नौ प्रतिशतले छोरीको विवाहमा नगदी तथा जिन्सीको रूपमा दुई लाखभन्दा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । ८९ प्रतिशतले गहना, ७६ प्रतिशतले साइकल, २३ प्रतिशतले मोटरसाइकल र ११ प्रतिशतले दाइजोको रूपमा टीभीलगायतका अन्य सामान दिनुपरेको चुनौतीको अध्ययनले देखाएको छ ।

15027845_802757789865037_9189640304028499231_n

तराईमा छोरीको सानैमा विवाह गर्ने अनि गौना गर्ने प्रचलन पुरानै हो । धार्मिक विश्वासमा रहेको यो प्रचलनले मधेसी समुदायका महिला बढी पीडित छन् । लुम्बिनीका पत्रकार वीरेन्द्र मिश्रको पनि भनाइ उही छ । उनी भन्छन्, ‘मूल कुरा छोरी ठूलो भएर विवाह गर्दा बढी दाइजो दिनुपर्ने तथा रजस्वला नहुँदै विवाह गरे पुन्य मिल्ने भन्दै धेरै अभिभावक आफ्ना छोरीको सानै उमेरमा विवाह गर्छन् । जब उमेर बढ्दै जान्छ उनीहरूमा आउने परिवर्तनले समस्या ल्याउँछ ।’ पत्रकार मिश्र भन्छन्, ‘शिक्षा नभएसम्म यो कुप्रथा हटाउन गाह्रो छ, जनचेतना जगाउन सबै लाग्नुपर्छ ।’

मधेस मानवअधिकार गृह कपिलवस्तुका अध्यक्ष पत्रकार रवि ठाकुर तराईका दक्षिणी क्षेत्रमा अहिले पनि बालविवाहको ठूलो समस्या रहेको बताउँछन् । उनका भनाइमा बालविवाहले तराईका बालिका शिक्षाबाट वञ्चित छन् भने अभिभावक आर्थिक हिसाबले समस्यामा छन् । बालविवाहका कारण तराईमा बहुविवाह बढेको उनको भनाइ छ । पत्रकार ठाकुर भन्छन्, ‘धेरैजसो बालिकाको सानैमा विवाह हुन्छ । विवाह भएपछि सिन्दुर लगाउने चलन छ । उनीहरू सिन्दुर लगाएर विद्यालय जान मान्दैनन् ।’

बालविवाहले केटा पक्षभन्दा केटी पक्ष बढी पीडित हुन्छन् । मर्चवारका पत्रकार राजकुमार धवल भन्छन्, ‘केटा पक्षले विवाह गरेर गौना नगरे पनि निश्चित रकम दिएर उम्किन्छन् । तर, गौना बिग्रेको केटीको विवाह हुन समस्या हुन्छ । यस्ता किशोरीले मधेसी समुदायमा न्याय पाउने सम्भावना कम हुन्छ ।’

15032117_802757993198350_6505444111179028073_n

बालविवाहले अभिभावक समस्यामा पर्छन् । रूपन्देहीको कम्हरियाका साधु हरिजनले जेठी छोरी सुख्खन हरिजनको ११ वर्षको उमेरमा नवलपरासीको सुनवलमा विवाह गरिदिए । तर, केटाले मानसिक सन्तुलन ठीक नभएकी भन्दै घर निकाला गरेपछि सुख्खन अहिले माइतीमै छिन् । छोरीको घर बसाउन साधुले अनेकन उपाय गरे, तर पार लागेन । ‘दुई–दुईपटक चौकीमा गएँ, समाज बस्यो, केटाले लैजान मान्दैन,’ साधु दुःखेसो पोख्छन् ।

तीन लाख रुपैयाँ खर्च गरेर विवाह गरिदिएकी कम्हरियाकै रीता साहनी पनि अहिले समस्यामा छिन् । सात वर्षअघि छोरी पूजाको विवाह गरिदिएकी उनी गौना गर्ने समयमा केटाले नमानेपछि समस्यामा परेकी हुन् । गौनाको कुरा गर्दा आफूले मेलामा देखेको भन्दै चरित्रमा प्रश्न उठाएर गौना गर्न नमानेको रीता बताउँछिन् । रीताका ज्वाइँ सुरेन्द्र साहनीले गौना नगरेबापत तिर्नुपर्ने जरिवाना तिर्न तयार भएको बताए । जरिवानाबापतको रकम बुझेर केटा पक्षलाई उम्कन दिने पक्षमा रीता छैनन् । रीता भन्छिन्, ‘विवाह गरेकी आफ्नी श्रीमतीलाई लैजान्न भनेर अर्काको छोरीको इज्जतमाथि खेलवाड गर्न पाइन्छ ?’

विवाहबारे किशोरकिशोरीमा सामान्य जानकारी नहुँदै अभिभावकको बाध्यतामा गरिने विवाहले नै समस्या ल्याइरहेको छ । पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले गरेका प्रचारप्रसारका कारण बालविवाहलाई हेर्ने दृष्टिकोणमा केही फरक आएको भए पनि बालविवाह भने रोकिएको छैन ।

(संचारिका फिचर सेवा)
(इन्दिरा, रूपन्देहीकी पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: