अधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन्


घरेलु कामदारका लागि विदेसिने महिलाको पीडा

प्रकाशित मिति :2016-11-11 11:40:02

कार्तिक २५, २०७३- ‘उहाँ फोन नै गर्नुहुन्न । किन हो, थाहा छैन ?’

आफ्नो श्रीमानकाे कुरा गर्दा गोमा कुमारी वाइवा निराश भइन् । शिखरपुर २ मकवानपुरकी २७ वर्षीया वाइबाकी श्रीमान् दुई वर्षदेखि मलेसियामा छन् ।

‘खै के भन्नु ? बेपत्ता भएको हो भने उसका दाजुभाइसँग कुरा हुन्छ । मसँग मात्रै हुँदैन,’ उनले भनिन्, ‘मैले धेरैपटक गरेँ । कहिले बोलेनन् ।’

श्रीमानलाई मलेसिया पठाउँदा गोमा खुसी नै थिइन् । घरको आर्थिक अवस्था सुध्रेला भन्ने आशा थियो । उसले पैसा पठाउनु त के सम्पर्क नै नगरेपछि उनीले जीकेजीमा पढ्ने छोरी माइतीमा आमालाई जिम्मा लगाइन् । आफैं वैदेशिक रोजगारीमा जान काठमाडौं आइन् ।

‘खानुपर्‍यो । छोरीलाई पढाउनुपर्‍यो,’ काठमाडौं सिनामंगलमा भेटिएकी गोमाले भनिन्, ‘दु:ख गरेर सुख पाइन्छ भने किन विदेश नजाने ?’

उनी संयुक्त राष्ट्र इमिरेट्स (यूएई) मा घरेलु कामदार (हाउसमेड) मा जाने दिन पर्खिबसेकी छिन् ।

‘कम्पनीमा जाने रहर थियो । त्यसमा जान पाइनँ । धेरै पैसा पनि लाग्छ भन्ने भयो । घरको काममा जान पैसा पनि नलाग्ने रहेछ । अर्काको देशमा जान त डर लाग्छ नि,’ उनी भन्दै थिइन्, ‘त्यहाँ जान पाए महिनामा ३० हजार रुपैयाँ कमाउन सकिन्छ । हामी गरिबका लागि यो धेरै ठूलो हो ।’

गोमाका साथमा खजुरा २ नेपालगन्जकी २९ वर्षीया अजिता विक, दमक ८ झापाकी २८ वर्षीया ज्ञानु श्रेष्ठ, गरास ४ उदयपुरकी २६ वर्षीया दिलु मगर र कोरक ८ चितवनकी ३१ वर्षीया टीकामाया तामाङ पनि थिए ।

अजिताले यूएईको नाम पहिलोपटक सुनेकी हुन् । उनी ९ वर्षकी छोरी र ५ वर्षका छोरा घरमा सासूसुसुराको जिम्मा लगाएर उड्न लागेकी हुन् । श्रीमान् ग्रिलको काम गर्थे । महिनाको १०/१२ हजार रुपैयाँ खानामा मात्रै ठिक्क भएपछि उनले बच्चाहरूलाई पढाउनका लागि घरेलु कामदार बन्न जाँदै छिन् ।

‘घरको काम गर्न त दु:ख हुन्छ नि ?’ भन्ने प्रश्न खस्न नपाउँदै उनको जवाफ आइहाल्यो ।

‘दुख नगरी सुख कहाँ पाइन्छ र ?’ भन्दै थिइन्, ‘पीडित भएको, अलपत्र भएको समाचार त सुनेकी छु । यो सबै आआफ्नो नसिबको कुरो हो ।’

उनले आफूलाई घरको काममा जानका लागि मानसिक रूपमा तयार बनाइसकेकी छिन् । ‘सधैं कति अभावको जिन्दगी जिउनु,’ उनी भन्छिन्, ‘अभाव देखेर नै विदेश हिँड्ने कुरामा श्रीमान्सँग सल्लाह गरिनँ । काठमाडौं आएपछि मात्रै श्रीमान्लाई फोन गरेर विदेश जान लागेको बताएँ ।’

उदयपुरकी दिलुका लागि भने घरको काम नयाँ होइन । उनी १६ वर्षको उमेरमा कुबेतमा घरको काम गरेर फर्किसकेकी हुन् ।

‘मेरो पनि श्रीमानले राम्रोसँग घरजम गरिदिएको भए मलाई फेरि खाडीमा छिर्नुपर्ने अवस्था थिएन,’ उनले भनिन्, ‘कुबेतमा दुई वर्ष काम गरेपछि नेपाल आएँ । बिहे गरें । अब त फर्किनु पर्दैन होला भन्ने ठानेको थिएँ ।’

दिलुले सोचेको जस्तो भइदिएन । बिहे गरेपछि छोरो जन्मियो । श्रीमान् चार वर्षदेखि कतारमै छन् । तर, सम्पर्कमा आउँदैनन् ।

‘तीन वर्षदेखि हाम्रो सम्र्पक टुट्यो । मैले उहाँलाई बुझ्न सकिनँ । सम्झाउने प्रयास गर्दा बढी रिसाउने मात्रै । म माइतीमा आएर बसें,’ उनले भनिन्, ‘यहाँ बसेर कमाए पनि खाँदैमा ठिक्क भयो । कमसे कम बाहिर बस्दा एकमुष्ठ पैसा आउँछ । छोरालाई पढाउन सकिन्छ ।’
कोरक ८ चितवनकी ३१ वर्षीया टीकामाया तामाङको कथा पनि फरक छैन । श्रीमान् गतिलो नभइदिएकाले आफू खाडी छिर्नुपरेको उनले बताइन् ।

उनले २१ वर्षको उमेरमा साउदी अरबमा पाइला टेकेकी थिइन् । भारतको बाटो हुँदै दलालले साउदी लगेको थियो । ‘सुरुको तीन चार महिना त भाषा नै नबुझेर हैरान । बच्चासँग घुलमिल भएपछि छिटो भाषा सिक्न सजिलो भयो । ६ महिनापछि त अरबी भाषा खररै,’ भनिन्, ‘त्यसपछि आफ्नै घरमा काम गरेको जस्तो लाग्यो ।’

दुई वर्ष बसेर फर्केको ६ महिनापछि आफ्ना श्रीमान्लाई मलेसिया पठाएँ । मलेसिया गएको ६ महिनासम्म पैसा पठाएनन् । आफूले गरिजानेको काम भनेर फेरि साउदी नै गए । ‘५ वर्षसम्म एउटै घरमा काम गरेँ,’ भनिन्, ‘श्रीमान् मलेसिया जाँदा लागेको ऋण आफैंले तिरें । गाउँमा घडेरी किने । बस्नका लागि एकतले पक्की घर पनि बनाएँ ।’

त्यसको ७ वर्षपछि श्रीमान्सँग भेट भयो । ‘म साउदी । उनी मलेसिया,’ भनिन्, ‘उनले कहिले पनि पैसा जोगाएनन् । सबै तास र रक्सीमा सिध्याए ।’

साउदीबाट फर्केको ३ वर्षपछि फेरि यूएई जाने तयारीमा छिन् । ‘रहर होइन बाध्यता भइदियो,’ भनिन्, ‘श्रीमान्बाट भर छैन । दाजुभाइले पनि सल्लाह दिए । १५ वर्षको छोरो छ । उसलाई पढाउन लेखाउन पर्‍यो ।’

दमककी २८ वर्षीय ज्ञानु श्रेष्ठका श्रीमान् यूएईमै छन् । ज्ञानु कुबेतमा दुई वर्ष काम गरेर स्वदेशमै गरिखान किराना पसल चलाएर बसेकी थिइन् । ‘कुबेत हुँदा कहिले आफ्नो देश जाऊँ जस्तो हुने गर्दथ्यो,’ भनिन्, ‘देश आएपछि आम्दानी हुन्न । अनि विदेश जान पाए पनि हुन्थ्यो भन्ने हुने रहेछ ।’

श्रीमान्कै सल्लाहमा ज्ञानु दुबई जान लागेकी हुन् । ‘अब पहिलाजस्तो पनि होइन रहेछ । म्यानपावरले नै पठाउने भए केही भए समात्ने ठाउँ छ,’ भनिन्, ‘भारतबाट कुबेत जाँदा डर लाग्थ्यो । केही भए के गर्ने भन्ने चिन्ता थियो । अहिले मलाई केही डर लागेको छैन ।’


संस्थागत रूपमा पहिलोपटक यूएईमा घरेलु कामदार पठाउन थालेपछि म्यानपावरहरूमा इच्छुक उम्मेदवार बढेका छन् । ‘हामीले पहिलोपटक २० वटा भिसा पाएको थियौं । भिसा आएकालाई पठाउन थालेका छौं,’ श्ररोण म्यानपावरका सञ्चालक श्याम क्षेत्रीले भने, ‘१ सय ३ जना महिलाहरू हाम्रो रेकर्डमा आइसकेका छन् । जसमा अधिकांश खाडीबाट फर्केका घरेलु कामदारहरू नै हुन् ।’

संस्थागत रूपमा जानेको सबै खर्च म्यानपावरको नै हो । ‘उनीहरूलाई ३० दिनको आवासीय तालिम पनि नि:शुल्क हुन्छ,’ उनले भने, ‘हाउसमेडको सुरक्षाको प्रबन्ध पनि म्यानपावरले नै लिन्छ ।’

वैदेशिक रोजगार विभागले घरेलु कामदार पठाउन ३२ म्यानपावरलाई सूचीकरण गरेको छ । घरेलु कामदार पठाउने म्यानपावरले छुट्टै २५ लाख रुपैयाँ धरौटी बुझाएपछि मात्रै अनुमति दिएको विभागले जनाएको छ ।

‘हामीले यूएईमा रहेका एजेन्सीलाई पठाउने हो । ती एजेन्सीले नेपाली दूतावासमा १० हजार डलर धरौटी राखेका छन् । स्पोन्सरले पनि प्रतिकामदार तीन हजार दिराम धरौटी बुझाउनुपर्छ,’ घरेलु कामदार सरोकार समाजका महासचिव डीबी तामाङले भने, ‘संस्थागत रूपमा पठाउन सके अहिले अवैध रूपमा भइरहेको महिलाको तस्करी रोकिन्थ्यो ।’

साभार: कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: