महिला खबर
पोखरा । सामाजिक विकृतिको रुपमा रहेको बोक्सि प्रथाविरुद्धको चलचित्र अग्दिदहनको छायांकन सकिएको छ । बोक्सी कुप्रथा अन्त्यको महाअभियानकालागि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानद्धारा निर्मित अग्निदहन चलचित्रको अन्तिम दृश्यमा सोही चलचित्रकी पात्र सुनाखरी परियार माइलीलाई सूचना तथा संचार सचिव दिनेश कुमार थपलियाले सम्मान गरेर छायांकनको समापन गरिएको हो ।
कास्कीको हेम्जामा रहेको गौरीशंकर उच्च माविको प्रागणंमा आयोजित सुनाखरी परियार माइली सम्मान कार्यक्रममा बोल्दै संचार सचिव थपलियाले सामाजिक विकृतिका रुपमा रहेको अन्धविश्वासका आडमा मौलाइरहेका कुप्रथालाई चलचित्रले समावेश गरेको भन्दै बोक्सी प्रथा उन्मुलनमा चलचित्र सफल हुने विश्वास व्यक्त गर्नुभयो । थपलियाले हरेकको मन र मष्तिस्कमा गडेर बसेको कुसंस्कारको विऊलाई जरैदेखि नउखलेसम्म नागरिक बीचको असमानता र भेदभाव अनि हिंसाले सामाजिक न्यायमा खलबल पुर्याउने बताउनुभयो ।
गैह्रसहकारी संस्था महासंघका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले महिलामाथिको चरम हिंसाको पराकाष्ठाको रुपमा मौलाइरहेको बोक्सी प्रथालाई उन्मुलन गर्न फिल्मले बोकेको सन्देश निकै प्रभावकारी हुने बताउनु भयो ।
चलचित्र निर्देशक घनश्याम लामिछानेले समाजमा व्याप्त अवैज्ञानिक सोचको जरैदेखि निर्मूल गर्नु र समाजलाई प्रभावित पार्दै आएका विषय बस्तुसँगै मानवीय स्वास्थ्य र मनोविज्ञानलाई चलचित्रको मेरुदण्ड बनाएको जानकारी दिनुभयो । बोक्सीको नाम दिएर उत्पन्न मनोवैज्ञानिक असर र त्यसले सृजनाका गरेका डरलाग्दा परिस्थितीलाई वैज्ञानिक तरीकाबाट चिरफार गर्न चलचित्र सफल भएको लामिछानेले दावी गर्नुभयो ।
जागरण प्रतिष्ठानका अध्यक्ष एवं निर्माता कोविद शरण उपाध्यायले चलचित्रलाई देशैभरीका विकट गाउँमा पु¥याएर सचेतना फैलाउने बताउनुभयो । उपाध्यायले भन्नुभयो ‘बोक्सा बोक्सी कुप्रथा अन्त्यकालागि संवैधानिक तथा कानुनी व्यवस्था रहेपनि व्यवहारिक रुपमा पीडितको न्यायमा पहुँच हुन सकेको छैन, पीडकले उन्मुक्ति पाइरहेका यस्ता प्रथा उन्मुलन हुन सकेको छैन ।’
प्रभावकारी कानुन कार्यान्वयन, मानव मानवप्रतिको सकारात्मक दृष्टिकोण र सचेतनाबाट मात्रै यसको अन्त्य गर्न सकिने तर्फ चलचित्रले ध्यान दिएको उहाँले बताउनुभयो । अभियानमार्फत आगामी १५ वर्ष भित्र नेपाललाई बोक्सी मुक्त देश घोषणा गर्ने सोच प्रतिष्ठानले लिएको उहाँको भनाइ थियो ।
२६ दिनमा छायांकन सकिएको अग्निदहनमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, ताराबहादुर गुरुङलगायतको अभिनय रहेको छ भने लोकमणि पौडेलको कथा, दीर्घ गुरुङको छायांकन रहेको छ । चलचित्रलाई नारायणगढ, सौराहा, हेटौंडा, कास्कीको अस्ताम, पोखरा, काठमाडौंमा छायाकंन गरिएको छ ।
Comment Here!