महिला खबर
काठमाडौं। महिनावारी रोकिने समयमा महिलालाई बिभिन्न शारिरीक र मानसिक परिवर्तन आउँछ । महिनावारी रोकिने समयमा हार्मेनके घटबढका कारण धेरै रगत बग्ने, रिङ्गटा लाग्ने, धेरै आत्तिने, महिनाबारी घटबढ हुने समस्या देखिने हुँदा यसलाई सहज रुपमा बुझ्न नसक्दा महिलाले दुःख पाएका छन् ।
महिनावारी रोकिने समय र रोकिइसकेपछि आउने शारिरीक तथा मानसिक परिवर्तनका बारेमा महिलालाई जानकारी नहुँदा बिभिन्न समस्या हुने गरेको शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरोकारवालाले बताए ।
रजोनिवृत्ति सोसाइटी अफ नेपालको राष्ट्रिय सम्मेलनमा महिनावारी रोकिने समय अघि र पछि आउने परिवर्तनका बारेमा महिला अनभिज्ञ रहेकाले विभिन्न समस्या देखापरेको महिलाले विशेष ख्याल गर्नुपर्ने स्त्रीरोग विशेषज्ञले बताए ।
सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले मातृत्वका लागि महिनावारी महत्वपूर्ण भएकाले यस विषयमा अझै खुलेर बहस गर्नुपर्ने समय आएको औँल्याउनुभयो ।
उहाँले मन्त्रालयले आधारभूत स्वास्थ्यमा सबैको पहुँचका लागि पनि गम्भीर भई काम गरेको प्रष्ट पार्दै रजोनिवृत्तिका समयमा हुने परिवर्तनका बारेमा सबैलाई जानकारी भए त्यसकाकाण हुने समस्या कम गर्न सकिने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले रजोनिवृत्तिका समयमा देखिने परिवर्तलाई समस्याको रुपमा लिएर गरिने व्यवहारले महिला अप्ठेरोमा पार्ने गरेको चर्चा गर्नुभयो ।
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छाले सरकारले प्रजनन स्वास्थ्य र मातृ शिशुका लागि विभिन्न काम गरिरहेपनि अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउँदै ग्रामीण क्षेत्रका महिलामा महिनावारीबारे सहजरुपमा जानकारी लिने वातावरण अझै नबनेकाले यसतर्फ पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रजोनिवृत्ति सोसाइटी अफ नेपालका अध्यक्ष डा स्वराज राजभण्डारीले महिनावारी रोकिने कारण, यसका समस्याबारे जानकारी दिन शिविरहरू राख्दै आएको जानकारी दिँदै महिलाले यस्ता कुरा भन्न नसक्दा मानसिक चिन्ता बढने हुँनाले जनचेतना जगाउन सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा ३० भन्दा बढी स्त्रीरोग विशेषज्ञ सहभागी छन् ।
Comment Here!