सुमित्रा कोईराला
गाईघाट । चोरी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका ३ बगरटोलकी २५ वर्षीया दलित महिलाको केस मुण्डन गरिएको छ । स्थानीय एक घरको खाना पकाउने भाँडा चोरी गरेको आरोपमा स्थानीय महिलाहरू मिलेर केश मुण्डन गरेका हुन् । त्रियुगा नगरपालिकास्थित बगरटोल बस्दै आएकी महिलालाई तीनजना महिलाले मिलेर कपाल मुण्डन गरेका पीडितले बताईन् । स्थानीय ३२ वर्षीया लक्ष्मी भुजेल, ५० वर्षीया सीता राई र ४७ वर्षीया लक्ष्मी भुजेलले कपाल मुण्डन गरिदिएको प्रहरीले जनाएको छ ।
केस मुण्डन गर्ने तीनै जनालाईै प्रहरीले पक्राउ गरेको छ । दुई छोरा र दुई छोरीकी आमा उनलाई शनिबार विहान ७ बजे घरमै नियन्त्रणमा लिएर कपाल मुण्डन गरिदिएको पीडित महिलाले बताईन् । उनले भनिन् ‘विहान घरमै बसिरहेका बेला तीनजना छिमेकी महिला आई मेरो भाँडा चोरी गर्ने यही हो भन्दै समातेर कपाल काटे ।’ उनीहरूले मेरो हात बाँधेर हप्कीदप्की गर्दै बाटोमा निकाली अन्य गाउँलेलाई कैँची ल्याउन लगाई पशुलाई झैं व्यवहार गरेको पीडितले गहभरी आँशु पार्दै भनिन् ।
गाउँमा चोरी भएको उजुरी गर्दा नगरप्रहरीले उनलाई बारम्बार पक्राउ गरी कार्वाही गर्न नसक्ने भएकाले गाउँमै जस्तो सुकै कार्वाही गरेपनि हुन्छ भनेकाले आफूहरूले मुण्डन गरेको लक्ष्मी भुजेलले दावी गरिन् । उनले भनिन् ‘ बारम्बार चोरी गरेकाले गाउँले सबै आजित भएका र प्रहरीलाई खबर गरेका, तर प्रहरीले नै उसलाई जे गरेपनि हुन्छ भनेकाले केस मुण्डन गरेका हौं ।’
चोरी गरेकालाई कानुन अनुसार कार्वाहीको व्यवस्था हुँदाहुँदै एक दलित महिलार्को केश मुण्डन गर्नु मानवताविरुद्धको अपराध भएको दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने महिला मानवअधिकार रक्षक संजालकी सचिव सर्मिला निरौलाले माग गरेकी छिन् ।
Comment Here!