छाउगोठ भत्काएपछि ओडारमा


प्रकाशित मिति :2016-11-14 10:41:31

विभिन्न सङ्घसंस्थाले अभियानै चलाएर गाउँका छाउगोठ भत्काइदिएपछि महिनावारी र सुत्केरी हुँदा कतिपय महिला जङ्गलमा रहेको ओडारमा बस्न बाध्य छन् ।

वसन्तप्रताप सिंह
chhaupadhi-photo-1

बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुपर्‍यो ।

घटना मेलबिसौना गाविस– २ लोकण्ड गाउँमा भएको हो । गाविसका अन्य वडाबाट एक दिनको पैदल दूरीमा पुगिने यो गाउँ जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । गाउँमा महिनावारी हुँदा महिलालाई गरिने व्यवहार अत्यन्तै निर्मम छ । ‘छाउपडी महिलालाई अमानवीय व्यवहार गर्छन् । यतिसम्म कि छाउपडी हिँडेको बाटो पनि हिँड्दैनन्,’ अनमी अनिताले भनिन्, ‘लोकण्डको अवस्था यतिसम्म डरलाग्दो छ कि भनेर साध्य छैन ।’

जङ्गलको छाउपडी गोठमा बस्दा रातभर निद्रा नलागेको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, ‘मलाई एक रात काट्न त यति गाह्रो भयो, यहाँका महिलाले जिन्दगी कसरी काटेका होलान् ?’ यहाँ छाउपडी गाउँनजिक बसे देउता रिसाउने र अनिष्ठ हुने सामाजिक मान्यता छ । त्यसैले महिनावारी र सुत्केरी भएका महिला जङ्गलमा बनाइएका कटेरामा बस्नुपर्छ । सुत्केरी अवस्थामा छाउ कटेरामा बस्दा कति महिलाले आफ्ना नवजात शिशु नै गुमाएका छन् । सात दिनको नवजात छोरोलाई छाउगोठमा छोडेर नुहाउन गएकी जलादेवी रोकायाले नुहाएर छाउगोठमा फर्किंदा छोरो भेट्टाइनन् । जङ्गलभरि खोज्दा एउटा खोल्सामा सानो हाडको टुक्रा मात्र भेटियो । बच्चालाई जङ्गली जनावरले खाइसकेको रहेछ ।

Exif_JPEG_420

१२ दिनकी नवजात छोरीलाई छाउगोठमा छोडेर गहुँ काट्न गएकी पिउली रोकायाले पनि त्यसरी नै सन्तान गुमाउनुप¥यो । जङ्गली जनावरले लगेको बच्चाको उनले त हाड पनि फेला पार्न सकिनन् । सोही गाउँकी जमुना रोकायाले छाउपडीगोठ (छाउ खुल्ला) मा सुताएर गएको आठ दिनको बच्चा (छोरा) पनि उनी घाँस काटेर फर्किंदा गायब भइसकेको थियो । खोज्दै जाँदा नजिकैको ओडारमा स्यालले आधा खाइसकेको अवस्थामा फेलापर्‍यो ।

छाउगोठमा बसेका बेला जङ्गली जनावर र कीरा–फट्याङ्ग्राबाट मात्र नभई मान्छेबाट पनि यहाँका महिला उत्तिकै पीडित भएको लोकण्डकी महिला स्वास्थ्य स्वयम्सेविका पानकला रोकाया बताउँछिन् । ‘धेरै महिला बलात्कार भएका छन् । कतिपय लाजले भन्दैनन् । भनिहाले पनि सानोतिनो जरिवाना गरेर गाउँमै मिलाउँछन् । महिनावारी हुँदा गाउँमै बस्न नहुने भनेर जङ्गलमा कटेरामा सारिन्छ, तर त्यहीँ गएर बलात्कार गर्छन् ।’

सामाजिक कार्यकर्ता सानुकुमारी शाहीले भनिन्, ‘सबैतिर यस्तो चलन हटिसक्यो, हामीले पनि छाउपडी मान्नुहुँदैन भनेर कति सम्झायौँ । उल्टै हामीलाई पो गाली गर्छन् । देउताको विरोध गर्ने तिमीहरूलाई पनि राम्रो हुँदैन भनेर धम्क्याउँछन् ।’ यो सोच परिवर्तन नहुनुमा धामीझाँक्रीको मुख्य भूमिका रहेको बताउँदै सानु थप्छिन्, ‘धामीहरूले पहिले महिनावारी हुँदा घरनजिक आएको, देउताको वास्ता नगरेकाले देउता रिसाएर तिमीहरूका बच्चा जङ्गली जनावरले खाएको हो भनेर उल्टै हामीलाई तर्साउँछन् । यो चलन परिवर्तन गर्न निकै गाह्रो छ ।’

देउताले भनेको मान्ने कसैलाई केही नभएको बताउने धामी हर्के रोकायाले आफ्ना देउताले यस्तो नसहने र महिनावारी भएको बेला घरनजिक आउनेलाई कुनै न कुनै सजाय दिने बताए । जिल्लामा महिला अधिकार, सरसफाइ र चेतनाको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्रबाट अभियान चलाएको भए छाउपडी प्रथा झन्झन् क्रूर बन्दै गएको स्थानीयको गुनासो छ । बझाङ जिल्लाका विभिन्न गाविसलाई छाउगोठमुक्त गाविस भनेर सङ्घसंस्थाले घोषणा गर्ने क्रम जारी छ । यता छाउगोठमुक्त भनिएका गाविसमा पनि महिनावारी भएका महिलालाई गर्ने छुवाछुतको व्यवहार जस्ताको त्यस्तै छ । विभिन्न सङ्घसंस्थाले छाउगोठ भत्काइदिएपछि महिला जङ्गलमा रहेको ओडारमा बस्न बाध्य छन् जहाँ जङ्गली जनावरको त्रास हुने गर्छ ।

chhaupadhi-photo-3

१६ मङ्सिर ०७१ मा माझीगाउँ गाविसलाई विशेष तामझामसहितको समारोह आयोजना गरेर छाउगोठमुक्त घोषणा गरियो । जिल्लाका विभिन्न क्षेत्रका अतिथिहरूले महिनावारी भएका महिलालाई भेदभाव गर्नु अन्धविश्वास हो भनेर भाषण पनि गरे । स्थानीयले पनि आइन्दा महिनावारी भएका महिलाप्रति छुवाछुत र फरक व्यवहार नगर्ने शपथ खाए ।

घोषणा पूर्वधामीझाँक्रीलगायत छाउप्रथामा विश्वास गर्नेलाई चेतनामूलक तालिम सञ्चालन गरियो । घरघरमा भएका छाउगोठहरू भत्काउने काम गरिएको थियो । यो कामका लागि महिला विकास कार्यालय, जिल्ला विकास समिति र गाविसलगायत विभिन्न सङ्घसंस्थाले झन्डै १० लाखभन्दा बढी खर्च गरेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख लीला घलेको भनाइ छ ।

तर, एक वर्ष नपुग्दै गाउँमा भत्काइएका छाउगोठ फेरि बने । देउताले घरभित्र बस्न नदिएको भन्दै महिनावारी भएका बेला सबैजसो महिला फेरि छाउगोठमा नै बस्न थाले । माझीगाउँ गाविस सुनार टोलकी मनीषा सुनारले भनिन्, ‘छाउगोठमुक्त घोषणा त गरेकै हौँ । तर, देवताले सहेनन् । फेरि गोठ बनायौँ ।’

(संचारिका फिचर सेवा)
(वसन्तप्रताप, बझाङका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: